मुलुकको प्रतिष्ठा जोगाउन प्रधानसेनापतिको आग्रह



 

नेपाल समाचारपत्र
काठमाडौं
धानसेनापति राजेन्द्र
प्रक्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा तैनाथ हुन जाने बरख गण र सिरियामा तैनाथ हुन जाने फोर्स हेडक्वाटर सपोर्ट युनिटद्वारा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत तालिमको अन्तिम निरीक्षण, तथा उक्त मिसनमा भाग लिन जाने शान्ति सैनिकलाई सम्बोधन गर्दै तालिमको समापन गर्नुभएको छ।

उक्त अवसरमा प्रधानसेनापति क्षत्रीले शान्ति सेनामा खटिई जाने सैनिकलाई नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो। उक्त शुभकामना सन्देशमा राष्ट्रपतिले नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि जाने सकल दर्जालाई बधाई दिनुहुँदै नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशका द्वन्द्वरत स्थानहरूमा शान्ति सु–व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहँदै आएको उल्लेख गर्नुहुँदै शान्ति स्थापनार्थ खटिने नेपाली सैनिकले विगतमा नेपाली वीर सैनिकले आर्जेको नेपाल र नेपालीको छवी उच्च राख्दै शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारीका साथ समर्पित रहने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो।

उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति क्षत्रीले संयुक्त राष्ट्रसंघीय विभिन्न मिसनमा नेपाली सेनाले विगत ५९ वर्षदेखि प्रदर्शन गरेको उच्चस्तरको अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धतालाई कदर गर्दै संयुक्त राष्ट्रसंघले नेपाललाई हाल एक अति विश्वसनीय देशको रूपमा लिएको बताउनुहुँदै तालिम समाप्त गरेका सकल दर्जालाई अनुशासन कायम राख्न निर्देशन दिनुभयो।

निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति क्षत्रीलाई दुईवटै मिसनमा खटिनुभएका युनिटपतिहरूले आ–आफ्नो मिसनको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने प्रधानसेनापति क्षत्रीले मिसनमा तैनाथ हुन जाने गणले प्रदर्शन गरेको मिसन इलाकामा आइपर्ने चुनौती र गर्नुपर्ने कार्यसम्बन्धी विभिन्न अभ्यास तथा प्रदर्शनीहरूको समेत अवलोकन गर्नुभएको थियो। नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको छ। हालसम्म १ लाख १७ हजार २ सय २९ जना नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न ४२ वटा मिसनमा सहभागी भएका छन्। हालसम्म ६३ जना शान्ति सैनिकले विश्व शान्तिका लागि ज्यान गुमाएका छन् भने ६३ जना शान्ति सैनिक शान्ति मिसनमा खटिँदा घाइते भएका छन्।

नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ फौज खटाउने राष्ट्रहरूमध्ये छैठौं ठूलो मुलुकको रूपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्