सन्नी लियोन अभिनित कन्डमको बिलबोर्ड हटाइए



 

नयाँ दिल्ली, (एजेन्सी)
केही भारतीयहरुको व्यापक विरोधको कारण पश्चिमी भारतीय राज्यमा हिन्दूहरूको महान् चाड नवरात्रिको दौरान एउटा कन्डम उत्पादन कम्पनीले आफ्नो चर्चित म्यानफोर्से ब्रान्डको कन्डमको विज्ञापन प्रवद्र्धन कार्यक्रम रोक्न बाध्य भएको नयाँ दिल्लीस्थित बीबीसीका पत्रकार गीता पाण्डेले बताएकी छिन् ।

नवरात्रि शुरू हुनु केही दिनअघि मात्र बिहीबार भारतीय मूलकी क्यानडाली अभिनेत्री सन्नी लियोन रहेको उक्त कन्डमको ठूला ठूला बिलबोर्डहरु थुप्रै शहरमा राखिएका थिए । त्यसमा सन्नीले मानिसहरुलाई सन्देश दिइरहेकी थिइन्– ‘नवरात्रि मनाउनु तर प्रेमपूर्वक।’ पूर्व पोर्न स्टार सन्नीले बलिउडमा धेरै हिट फिल्म दिइसकेकी छिन् ।

भारतमा असंख्य प्रशंसक बनाउन सफल सन्नीलाई भारतकै सबैभन्दा ठूलो कन्डम उत्पादन कम्पनी म्यानफोर्सले ब्रान्ड एम्बेसडर बनाएको हो । यस विज्ञापनलाई अहिलेसम्मकै निकै घटिया र अश्लील भन्दै केही भारतीय रूढीवादीहरुले आक्रोस पोखेका थिए ।

थुप्रै सामाजिक सञ्जालमार्फत यसको विरोध भएको थियो । अखिल भारत व्यापार महासंघ र सरकारसमक्ष पनि यस विज्ञापनलाई तत्काल हटाउने माग गर्दै उजुरी परेको थियो । उपभोक्ता मामिला मन्त्री राम विलास पासवानलाई दिइएको याचिकापत्रमा एक हिन्दूवादी संस्थाले उल्लेख गरेको छ– ‘हाम्रो सम्पूर्ण संस्कृतिलाई नै खतरामा पारेर विक्री प्रवद्र्धन प्रयास गर्नु अपरिपक्व र अनुत्तरदायी काम हो ।’

यसैगरी व्यापार महासंघका महासचिव प्रवीण खण्डेवालले महिलाहरुको शक्तिको प्रतीकलाई झल्काउने नवरात्रि पर्वलाई कन्डमसँग जोडिन खोज्नु अत्यन्तै आपत्तिजनक रहेको बताएका छन् । दिल्लीमा बस्ने खण्डेवालले हालै सुरत शहरको भ्रमणको क्रममा यो बिलबोर्ड देखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्