चीनद्वारा उत्तर कोरियामाथि नाकाबन्दी शुरू, अर्को आणविक विस्फोटको आशंका



 

बेइजिङ, (एजेन्सी)
आफ्नो विवादास्पद आणविक तथा क्षेप्यास्त्र कार्यक्रमको कारण अन्तर्राष्ट्रिय जगत्मा राजनीतिक रूपमा एक्लिन पुगेको उत्तर कोरियालाई चीनले तेल आपूर्ति सीमित पार्दै उत्तरबाट लत्ता कपडा किन्ने कार्य शनिबारदेखि बन्द गरेको चिनियाँ आधिकारिक सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा भरपर्दो व्यापारिक साझेदार रहँदै आएको छ । साथै चीन प्योङयाङको विदेशी मुद्रा आर्जन गर्ने एक मात्र स्रोत रहेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को पछिल्लो नाकाबन्दी अनुरूप कपडा निर्यात प्रतिबन्धको कारण उत्तर कोरियाको आय आर्जन नराम्ररी प्रभावित हुने भएको छ ।

साथै चीनको तेल आपूर्ति उत्तरकोरियाका लागि पेट्रोलियम पदार्थको प्रमुख स्रोत रहँदै आएको थियो । यसै महिना उत्तर कोरियाले गरेको हालसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छैठौं आणविक परीक्षणपछि सुरक्षा परिषद्ले थप कडा नाकाबन्दी लगाएको थियो ।

चीनको वाणिज्य मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा प्रशोधित पेट्रोलियम उत्पादनलाई आगामी १ अक्टोबरदेखि निर्यातमा रोक लगाइने तर तरल पारिएको प्राकृतिक ग्यास आपूर्ति भने तत्काल नरोकिने बताइएको छ । तर राष्ट्र संघको प्रस्तावनामा व्याख्या गरिएबमोजिम चीनले सीमित मात्रामा अझै पनि उत्तर कोरियालाई तेल उपलब्ध गराउने भएको छ ।

त्यसैगरी बेइजिङ र प्योङयाङबीच हुँदै आएको व्यापारको परिमाण र नयाँ नीतिअनुसार कति परिमाणमा व्यापार कटौती हुने भन्ने स्पष्ट हुन सकेको छैन। तर कपडा प्रतिबन्धको कारण उत्तरले वार्षिक ७० करोड अमेरिकी डलर बराबरको मूल्य चुकाउनुपर्ने अनुमान गरिएको छ ।

चीन र रसिया दुवैले शुरूमै उत्तरमाथि पूर्णतः तेल आपूर्ति रोकिनुपर्ने अमेरिकी प्रस्तावकको विरोध गरेका थिए । यसैबीच चीनको भूकम्प विभागले हिजो उत्तर कोरियामा ३ दशमलव ४ रिक्टर स्केलको भूकम्प मापन भएको जनाउँदै उत्तरले अर्को आणविक बम विस्फोट गरेको हुनसक्ने आशंका गरेको छ ।
केही दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिका र अमेरिकी गठबन्धन मुलुकका लागि कुनै खतरा महसुस भएको खण्डमा उत्तर कोरियालाई ध्वस्त पारिने भनी संयुक्त राष्ट्र संघको वार्षिक महासभामा भाषण दिएका थिए । उत्तरका विदेशमन्त्री रिले ट्रम्पको सो भाषणलाई कुकुरको भुकाइसँग तुलना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्