सिरहाको लहानमा एमालेको जित



 

फिरोज सिद्दिकी, सिरहा
तेस्रो चरण निर्वाचनअन्तर्गत स्थानीय तह निर्वाचनको जारी मतपरिणामअनुसार सिरहाको लहान नगरपालिका नेकपा एमाले विजयी भएको छ। लहान नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका मुनी साह र उपमेयरमा एमालेकै सरियार चौधरी विजयी भएका छन्।निर्वाचित नगर प्रमुख साहले दोस्रोपटक लहानका जनताले अत्यधिक मत दिएर मलाई जिताउनुभएकोमा धन्यवाद ज्ञापन गर्दै चुनावी प्रचारप्रसारका क्रममा जनतासँग गरेका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। समृद्ध सम्पन्न र सुन्दर लहान बनाउने प्रतिबद्धतामा लहानवासी विश्वास गरेर मतदान गरेकोमा त्यो विश्वासलाई सधैं कदर गर्नेछु भन्दै नगरपालिकामा अहिले २४ वटा वाडा विस्तार भएकाले चुनौतीसमेत रहेको छ। आईपर्ने चुनौतीको सामना गर्न अरु दलहरुसँग सहमतीय र सहकार्यका लागि सधैं तयार रहने बताउनुभयो। मधेस आन्दोलनको उद्गमस्थल मानिएको लहानमा मधेसवादी दल संघीय समाजवादी फोरम नेपाल तेस्रो, राजपा नेपाल छैठौं र फोरम लोकतान्त्रिक सातौं स्थानमा सीमित भएका छन्।

एमालेले सिरहाको सुखिपुर नपा, नरहा गाउँपालिका र सखुवा ननकारकट्टी गाउँपालिकामा जित हासिल गरिसकेको छ। सिरहाका १७ स्थानीय तहमध्ये १६ तहको परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले मिर्चैया नपा, कर्जन्हा नपा, धनगढीमाई नपा, गोलबजार नपा, औरही गापा र अर्नमा गाउँपालिकामा जित हासिल गरिसकेका छन्। संघीय समाजवादी फोरम भने बरियारपट्टी, लक्ष्मीपुर पतारी, भगवानपुर र विष्णुपुर गाउँपालिका जितेको छ। यस्तै कांग्रेसले दुई स्थानीय तह नवराजपुर गाउँपालिका र कल्याणपुर नगरपालिका जित्न सफल भएको छ भने राजपाले हालसम्म खाता खोल्न पनि सकेको छैन। अब सिरहा नगरपालिकाको मात्र मतपरिणाम सार्वजनिक हुन बाँकी छ। सिरहा नपामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस्