महोत्तरीमा मिश्रित परिणाम, राजपालाई हालसम्म पाँच स्थान



 

बर्दिबास, ७ असोज  महोत्तरीका १५ स्थानीय तहमध्ये १३ को निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

सोमबार भएको चुनावको जारी मतगणनामा १३ स्थानीय तहको अन्तिम परिणाम आज मध्यान्हसम्म सार्वजनिक भएको हो । मनरा शिशवा नगरपालिका र पिपरा गाउँपालिकाको परिणाम आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिनुभयो ।

आज घोषित दुई ठाउँमध्ये बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का विदुरकुमार कार्की र कृष्णकुमारी गौतम क्रमशः प्रमुख र उपप्रमुख पदमा निर्वाचित हुनु भएको छ । कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रह्लाद क्षत्रीभन्दा एक हजार १७ मत बढी अर्थात नौ हजार १८७ र गौतमले नेकाकै तारादेवी महतोभन्दा एक हजार ८१२ मत बढी अर्थात आठ हजार ८३५ मत प्राप्त गर्नु भएको थियो ।

यसैगरी, जलेश्वर नगरपालिकामा राजपा नेपालका रामशंकर मिश्र आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारलाई एक हजार ८१३ मतले पछि पार्दै पाँच हजार १८० मत प्राप्त गरी प्रमुखमा निर्वाचित हुनु भएको हो ।

त्यसैगरी, राजपा नेपालकी मुनचुन देवी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकाकी अनिता शर्मालाई एक हजार ८५० मतले पछि पार्दै चार हजार ५६६ मत प्राप्त गरेर उपप्रमुख निर्वाचित हुनु भएको घोषणा भएको छ । यसबाहेक ११ स्थानीय तहको परिणाम घोषणा शुक्रबार साँझसम्म मै भइसकेको थियो ।

जिल्लाका घोषित परिणाममध्ये सबैभन्दा बढी राजपा नेपालले पाँच स्थान जितेको छ, जसमा जलेश्वर, भंगाहा र मटिहानी नगरपालिका एवं एकडारा र महोत्तरी गाउँपालिका रहेका छन् । यसबाहेक बलवा र औरही नपाका उपप्रमुख पनि राजपाकै पोल्टामा परेको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा जित हात पारेको छ जसमा बर्दिबास, रामगोपालपुर र गौशाला नगरपालिका र सम्सी गाउँपालिका छन् । नेपाली काँग्रेसले लोहारपट्टी नपामा प्रमुख÷उपप्रमुख दुवै र औरही र बलवा नपामा प्रमुख पद जितेको छ । घोषित परिणाममध्ये संघीय समाजवादी फोरमले सोनमा गाउँपालिकामा जित हात पारेको छ ।

जिल्लामा मतगणना जारी रहेका दुवै ठाउँको मतगणना आज अबेर रातिसम्म सकिने मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्