‘वडा भेलाबाट आएका योजनालाई प्राथमिकता नदिएपछि परिषद भएन’



दुर्गाप्रसाद शर्मा, पर्वत ।
वडा भेलाबाट आएका योजनाहरुलाई लत्याएर नगरप्रमुखले एकलौटी रुपमा योजना छनौट गर्ने प्रस्ताब राखेका कारण कुस्मा नगरपालिकामा नगरपरिषद हुन नसकेको कार्यपालिकाका बहुमत सदस्यहरुले स्पष्ट पारेका छन ।

परिषद हुन नसकेको बिषयमा कार्यपालिकाका बहुमत सदस्यहरुले शनिबार बिज्ञप्ती प्रकाशित गर्दै नगरप्रमुखले वडा तहबाट आएका योजनाहरुलाई लत्याएर एकलौटी रुपमा आफुँले बजेट बाड्न पाउनुपर्ने अडान राखेका कारण परिषन हुन नसकेको स्पष्ट पारेका हुन ।

बहुमत सदस्यले ठुला योजनामा बजेट राख्न नदिई टुक्रे योजनाको माग गरेर परिषद हुन अबरोध गरेको भन्दै नगरप्रमुख रामचन्द्र जोशीले बिज्ञप्ती प्रकाशित गरेपछि कार्यपालिकाका बहुमत सदस्यहरुले त्यसको खण्डन गर्दैै आफ्नो धारणा स्पष्ट पारेका हुन । कुस्मा नगरपालिकामा प्रमुख र उपप्रमुख बाहेक एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुको बाहुल्यता छ ।

२० वर्षदेखि कुश्मा नगरपालीकामा एक ईञ्च बाटो समेत कालोपत्रे हुन नसकेको अवस्थामा वडाहरुबाट आएका ठुला सडकका योजनाहरुलाई आफ्नो प्राथमिकतामा पेश गरेपनि नगरप्रमुखले आफ्ना योजना भनेर झुटको खेती गर्न खोजेको आरोप वडा अध्यक्षहरुले लगाएका छन । उनीहरुले साइकलचोक– ठुलीपोखरी, ठुलीपोखरी–खौला–आर्थर पञ्चासे, दोबिल्ला–पकुवा–आर्थर, नुवार मावि–आँगाखेत–अर्चले–खरिबोट–धैरेनी, छमर्के–छिपछिपे–कोटगाँउ–हलहले, कुश्मा – दुर्लङ, पुरानो पैह्रो–बांगेचौतारी–तमादी–पुवा ठुलीपोखरी, खरेहा–गोदाम, पकुवा–रानीस्वाँरा–छापा, चुवा स्वास्थ्यचौकी– मराङसीङ, रत्नचोक– ऐसेलु थर– आर्थर, कुश्मा– झाप्रेबगर–ज्ञादी डिल, बान्द्रबीडी खुला मञ्च पर्खाल–पार्क तथा शौचालय, नगर गुरुयोजना, ल्याण्डफिल्ड साइड निर्माण, सडक बत्ती लगायतका ठूला पूर्वाधारका योजनाहरु वडाभेलाबाटै आएको र आफुँहरुको प्राथमिकता भएको बिज्ञप्ती मार्फत स्पष्ट पारेका छन ।

‘हामीले वडा भेलाबाट पारित गरेर प्रस्ताब गरिएका योजनाहरुमा हामीबाटै अवरोध भयो भन्ने कुराले हामीलाई थप अचम्मित र आक्रोशित तुल्याएको छ ।’ बिज्ञप्तीमा भनिएको छ ‘कृषि, पशु, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, आदिबासी जनजाती, दलित, मुस्लीम, अपाङ्ग तथा अल्पसंख्यकका अपेक्षाहरु पर्याप्त सम्बोधन हुनपर्छ भनेर हामीले नै बैठकमा प्रस्ताव गरेको हो बरु प्रमुखले नै यी विषयमा धेरै रकम छुट्याउनु पर्दैन भनेर ढिपी गरेको कुरालाई हामीले असहमती गरेकै हौं , के यसो गर्नु हाम्रो अवरोध हो ?’

चालुगत बजेट शीर्षक अन्तर्गत विनियोजन गरिने रकम कार्यविधी विना एकमुष्ठ राखेर पाइप, जाली, बल नेट तथा आफ्ना आसेपासे तथा कार्यकर्ता पाल्ने उदेश्यले करोडौँ रकम प्रमुखले आफ्नो स्वेच्छाले बाँडन पाउनुपर्छ भनेर बैठकमा ढिपी गरेको र उल्टै टुक्रे योजना ल्याएको भनी निर्वाचित जनप्रतिनिधीलाई दोष लगाउनु सरासर छलकपट र फट्याई भएको बिज्ञप्तीमा उल्लेख छ । ‘ ठेकेदारी, नाफा र कमिसन खोरी शैलीमा कार्यपालीकाको अधिकार आफु एक्लैले प्रयोग गर्न पाउनुपर्छ भनि अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्न खोज्ने नगर प्रमुखको शैली ठिक हो की होईन ?’ वडा भेलावाट पारित भई आएका योजना भन्दा टेबुलमा आएका योजनाहरुमा बजेट बिनियोजन गर्न खोज्नु, असोज २ को बैठक स्थगन पश्चात ३ गते पुनः बैठक बोलाई ४ गते नै नगर शभा गर्ने भन्ने कुरालाई प्रमुखले स्थगित गरि बिज्ञप्ती तर्फ लागेकाले नगर प्रमुखले नगर भेला गर्न नखोजेको कुरा प्रष्ट भएको वडा अध्यक्षहरुले आरोप लगाएका छन ।

यसैगरी लामो समय देखि कर्मचारीको म्याद थप गर्ने बिषयमा कर्मचारीको नियमावली बनाएर खुल्ला प्रतिस्पर्धाका आधारमा कर्मचारी व्यवस्थापन गर्न माग गर्दा नगर प्रमुखले अस्विकार गरेपछि परिषद हुन नसकेको उनीहरुले बिज्ञप्तीमा जनाएका छन । नगरपालिकालाई कुनै पार्टी बिशेषको भर्तीकेन्द्र बनाउन खोजेको आरोप पनि वडा अध्यक्षहरुले लगाएका छन । बहुमतको पुरै उपेक्षा गरी स्वेच्छाचारी, निरंकुश, अकर्मण्यता, हठ र दादागिरी शैलीमा प्रस्तुत हुने र प्रमुख आफै समाधानको पक्षमा नलागी आरोप प्रत्यारोपमा लाग्नुले प्रमुखको नेतृत्व र सक्षमताप्रति नै प्रश्न उठेको उनीहरुको भनाई छ । नगरका कर्मचारी तथा शिक्षकको तलब, सामाजिक सुरक्षा भत्ता, सुत्केरी बाटो खर्च आदीको विनियोजनको पक्षमा हामी सधैँ हुँदा हुँदै पनि केही सदस्यले वितरण गर्न नदिएको भनी गैरजिम्मेवार तरिकाले हामीप्रति विज्ञप्तीमार्फत प्रमुखले फैल्याएको भ्रमप्रति घोर भत्सना समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्