नाकामा लुटपाट नियन्त्रण, प्रहरीको सक्रियता र भारत–नेपाल बस सेवाले सहज !



भारतबाट सिधैं नेपालका दाङ, रोल्पा र प्यूठान पुग्ने बस । 

नेपाल  समाचारपत्र, बाँके । नेपालगञ्ज नाकामा यसपाली दशैं मान्न आएका कोही पनि नेपाली लुटिएका छैनन् । दशैंको मुखमा दैनिकजसो एक वा दुई जना लुटिने विगत बोकेको यो नाकामा यसपाली कोही लुटिएका छैनन् ।

किन यस्तो राम्रो भयो त ? सम्बद्ध जानकारहरु भन्छन्, सीमा क्षेत्रमा नेपाल र भारतीय प्रहरीले राम्रो काम गरेका छन् । इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्का र रुपैडिहा प्रहरी थानाका इन्चार्ज आलोक रायले बिहान आफै सडकमा बसेर रेखदेख गर्नुका साथै नेपाल प्रहरीका जवानहरु रुपैडिहा बसपार्कमा पुगेर गस्ती गर्ने गरेका छन् ।

‘रुपैडिहा थानाका इन्चार्ज राय नै बिहान सडकमा बसेर नेपाली बोकेर आएको रिक्सावालालाई भाडाका विषयमा सोधपुछ गर्ने गरेका छन्, नेपालतर्फ आएपछि जमुनाहा प्रहरीले फेरि केरकार गर्छ, जमुनाहा इन्चार्ज खड्काले भन्नुभयो, रुपैडिहामा बिहान बस आइपुग्दा नेपाल प्रहरी त्यहाँ पुगेर सुरक्षा दिने गरेको छ ।’

नेपाल र भारतका प्रहरीको सहकार्यका साथै चण्डीगढबाट नेपालीले सञ्चालन गरेको यात्रुवाहक सवारी साधन प्यूठान, दाङ र रोल्पासम्म सिधैं जाने भएपछि कमाई गरेर फर्किएका नेपालीहरु सुरक्षित भएका छन् । चण्डीगढबाट स्वर्गद्वारी यातायात व्यवसायी समिति र सुपा देउराली टुर एण्ड ट्राभल्सका यात्रुवाहक सवारी साधन सिधैं नेपालसम्म आउने गरेका छन् । स्वर्गद्वारीका अध्यक्ष सुनिल बस्नेतका अनुसार, हाम्रा गाडी नेपालसम्म नै जान्छ भन्ने थाहा पाएकाजति यही गाडीमा आउने गरेका छन् । थाहा नपाएकाहरु भारतीय बसमा नाकासम्म आउँछन् ।

भारतीय बसमा नाकासम्म आउनेहरु लुटिने संभावना हुने व्यवसायीहरु बताउँछन् । बसमा लुटेराले विश्वासमा पारेर नसालु पदार्थ मिसिएको खानेकुरा खान दिन सक्छन् । विगतमा यस्तै भएका थिए । बसमा कुरा गर्दै आउने र पायक पर्ने ठाउँमा आएपछि नसालु पदार्थ मिसिएको खानेकुरा खुवाएर पैसा लुटेर बीचमा झर्ने अनि लुटिएका नेपालीहरु रुपैडिहा बसपार्कमा बेहोस अवस्थामा अलपत्र पर्ने गरेका थिए । धेरैजसो चाहि रुपैडिहामै आएपछि लुटिन्थे ।

दुवै देशको प्रहरीको राम्रो सहकार्य, भारतदेखि नै प्यूठान, दाङ र रोल्पासम्म सिधैं गाडी जाने गरेपछि लुटपाटमा कमी आएको छ । सिधैं नेपालमा आउने गाडीमा बसेकाहरु लुटिने संभावना नै हुँदैन । व्यवसायीहरु भन्छन्, सबै नेपालीमात्रै बसेका हुन्छन् । हामीले बीचमा कतै रोक्दैनौ ।

सीमामा रहेका नेपाल र प्रहरीको सहकार्यको राम्रो नमूना देखिरहेका बेलामा केही दिनअघि आएका नेपालगञ्ज आएका भारतीय राजदुत मन्जीव सिंह पुरीले रुपैडिहामै पुगेर दशैं मान्न आउने नेपालीको सुरक्षामा ध्यान दिन भनेपछि सम्बन्ध अझ बलियो भएको छ । खासमा रुपैडिहामा कष्टमका अधिकारीले नै नेपालीलाई लाइनमा लगाएर पैसा असुल्ने गरेकोमा यसपाली त्यो पनि नभएको बुझिएको छ ।

कमाउन भारत गएका नेपालीहरु पैसा बोकेर अर्थात दशैं लिएर घर फर्किरहेका छन् । यो नाकाबाट दैनिक दुई हजार हाराहारीमा नेपालीहरु फर्किरहेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाका हजारौं मानिसहरु भारतका विभिन्न ठाउँमा काम गर्न जाने गर्दछन् । नेपालीको ठूलो पर्व दशैं भएकाले सबैजसो नै फर्किने गर्दछन् । नाकामात्रै नभएर नेपालगञ्ज बसपार्कसम्म आउदा नै ठग्ने, लुट्ने गरेका घटना यसपाली बाहिर आएको छैन ।

बाँके प्रहरीले बसपार्कसम्म नै सुरक्षा व्यवस्था मिलाएको दावी गरेको छ । आफ्नो बस बसाउनका लागि तानातान गर्ने खलासीलाई कारबाही गर्ने प्रहरीले नीति बनाएपछि सोझा नेपालीले केही राहत पाएका छन् । खलासीको प्रतिस्पर्धाले गर्दा झोला र मान्छे एकातिर हुने गतिविधि रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्