निजगढ नपामा ३० वर्षपछि कांगे्रसको जित



गोकुल घोरसाइने, बारा
नेकपा एमालेको बलियो किल्लाका रूपमा रहेको निजगढ नगरपालिका नेपाली कांगे्रसले ३० वर्षपछि जित हात पारेको छ। एमाले उम्मेदवार यमबहादुर खडकालाई ८ सय ३० मतले पछि पार्दै माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस सुरेशकुमार खनाल मेयर पदमा विजयी बनेका हुन। हारसँगै निजगढमा एमालेको ३० वर्ष अघिदेखिको पकड तोडिएको छ।

खनालले ७ हजार ६ सय ४८ मत प्राप्त गरेका थिए। उपमेयर पदमा भने माओवादी केन्द्रका बेनीबहादुर मोक्तानलाई हराउँदै एमालेकी लिलादेवी खनाल विजयी बनेकी छिन्। मेयर गुमाएको एमालेले उपमेयरसहित १३ मध्ये ८ वडामा प्यानलसहित अध्यक्ष पद जितेको छ।

‘ऐतिहासिक जित भएको छ, मेयरमा विजयी बनेपछि खनालले भने, ३० वर्ष अघिदेखिको एमालेको किल्ला भत्काइयो।’ ०४३ सालको पञ्चायती चुनावमा हाल बारा क्षेत्र नं. ६ बाट व्यवस्थापिका संसद् सदस्यसमेत रहेका पुरुषोत्तम पौडेलले जनपक्षीय प्रधानपञ्चको रूपमा जितेपछि निजगढ एमालेको कब्जामा पुगेको थियो। प्रजातन्त्रको पुर्नवहालीपछि भएका दुबै स्थानीय निर्वाचनमा पनि प्रमुख उपप्रमुख र ९ मध्ये ८ वडामा एमालेले उम्मेदवारले नै अत्याधिक मतान्तरले जित्दै आएका थिए। यसअघिको संसद् र संविधान सभा दुबै चुनावमा निजगढमा एमालेले नै अग्रता बनाउदै आएको हो।

‘प्रमुख पदमा पराजित बने पनि एमालेको जनाधार कमजोर नबनेको एमाले नगर अध्यक्ष दिलबहादुर लामा बताउँछन्। ‘अहिले पनि उपमेयरसहित बहुमत वडा अध्यक्ष जितेका छौं, लामाले भने– ‘प्राविधिक रूपमा पराजित बने पनि राजनीतिक रूपमा जितेका छौं।’ अध्यक्ष लामाले गठबन्धन बाहिरका दलसमेत एमाले हराउने अभियानमा लागेको सुनाए। राप्रपा लोकतान्त्रिकले आफ्नो दलको उम्मेदवार खडा गरेर पनि अन्तिम अवस्थामा मेयर पदमा खनाललाई मतदान गरेको थियो भने राप्रपाको केही मत पनि उतै गएको लामाले सुनाए।

त्यसै गरी एमालेको अर्को पकड क्षेत्र मानिएको करैयामाई र परवानीपुर गाउपालिका पनि एमालेको हातबाट गुमेको छ। यसअघिका चुनावमा प्रभाव देखाउँदै आएको करैयामाईमा यसपटक एमालेले तेस्रो स्थानमा खुम्चिन पुगेको छ। प्रमुख पदमा कांग्रेसबाट भुनेश्वर धामी र उपप्रमखमा चित्रलेखा चौधरी तथा परवानीपुरबाट राजपा उम्मेदवार हरिनारायण साह र सावित्री पटेल क्रमश प्रमुख उपप्रमुख पदमा विजयी बनेका छन्। करैयामाई एमाले केन्द्रीय सदस्य एंव हाल व्यवस्थापिका संसद् सदस्य बलवीर चौधरी र परवानीपुर एमाले संसद् नेजमा खातुनको निर्वाचन क्षेत्रमा पर्छ। यसअघि नेकपा एमालेले राम्रो प्रदर्शन गर्दै आएको यी दुवै तहमा यसपटक पनि एमालेले जित्ने सूचीमा राखेको थियो।
कांग्रेसको पनि भत्कियो

संघीय समाजवादी फोरम र राजपाले पनि नेपाली कांग्रेसको पकड क्षेत्रमा बलियो उपस्थिति देखाएका छन्। नेपाली कांग्रेसको परम्परागत गढ मानिएको भारतीय सीमा क्षेत्रमा पर्ने पचौरता नगरपालिका र फेटा गाउँपालिकाको प्रमुख पदमा रमेश यादव र अमिरीलालप्रसाद संघीय समाजवादी फोरमबाट विजयी बनेका छन्। अर्को सीमावर्ती देवताल गाउँपालिका प्रमुखमा राजपाका चन्दनकुमार सिंह विजयी बनेका छन् भने विश्रामपुरमा नेपाल लोकतान्त्रिक फोरमबाट अमिरीलाल राउत विजयी बनेका छन्।

हाल गणना हुँदै गरेको सिम्रौनगढमा पनि राजपाका किशोरी कुशवाहले अग्रता बनेका छन्। त्यसै गरी कलैया, जितपुर सिमरा उपमानगरपालिका र कोल्हवी नगरपालिकामा नेकपा एमाले र महागढीमाई नपामा कांगसको अग्रता छ। आदर्शकोतवाल, बारागढी र सुवर्ण गाउँपालिकामा बुधबारबाट रोकिएको मतगणना अहिलेसम्म पनि शुरू हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्