बलिउड अभिनेत्री शकिलाको निधन



पचास र साठीको दशककी बलिउड अभिनेत्री शकिलाको बुधबार राति भारतको मुम्बईमा हृदयाघातबाट निधन भएको छ। ८२ वर्षकी उनको निधनको जानकारी उनको भान्जा तथा अभिनेता नासिर खानले सामाजिक सञ्जालमार्फत दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

शकिलाले बलिउड हस्ती देव आनन्दको फिल्म सीआईडी तथा गुरुदत्तको आरपारजस्ता फिल्ममा अभिनय गरेकी छिन्। बलिउडको सुपरहिट गीत बाबुजी धिरे चलनाके कारण उनी निकै चर्चित भएकी थिइन्। फिल्म आरपारको यो गीत उनकै लागि बनेको थियो। यो गीतको अलावा निद ना मुझको आयाजस्ता गीतमा पनि उनले अभिनय गरेकी थिइन्।

शकिलले एक गैरआवासीय भारतीयसँंग विवाह गरेकी थिइन्। मुम्बई बस्ने गरेकी उनी आफ्नी छोरी मिनाजले आत्महत्या गरेपछि भने बान्द्रामा सरेकी थिइन्।

समाचारमा जनाइएअनुसार भारतको बान्द्रास्थित घरमा बसिरहेको अवस्थामा उनलाई हृदयाघात भएको थियो। उनलाई पहिले घरनजिकैको अस्पताल पुर्याइएको थियो, त्यहाँ भर्ना गर्न अस्वीकार गरेपछि जुहुस्थित एक निजी अस्पतालमा लगिएको थियो। उक्त अस्पतालमा नै उनले अन्तिम श्वास फेरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्