अपर तामाकोसीको दोस्रो ठाडो सुरुङ निर्माण सम्पन्न,मुख्य सुरुङ २ महिनाभित्रै पूरा हुने



चिरञ्जीवी मास्के, दोलखा ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको दोस्रो ठाडो सुरुङ (पेनस्टक साफ्ट)को काम पूरा भएको छ। आयोजनाको दोस्रो ३ सय २२ मिटर ठाडो सुरुङ पूरा भएपछि आयोजनाका लागि सबै ठाडो सुरुङ खन्ने काम सकिएको हो।
यसअघि आयोजनाको तल्लो खण्डको ३ सय ७२ मिटर ठाडो सुरुङको काम एक वर्ष अघि नै पूरा भएको थियो। १ वर्षअघि पूरा भएको ठाडो सुरुङमा लाइनिङ गरेर पेनस्टक जडानको काम भइरहेको आयोजनाले जनाएको छ।

अपर तामाकोसीका जल विद्युत् आयोजनाका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको ३ सय २२ मिटर ठाडो सुरुङको ब्रेक थ्रु आयोजनाको लागि महत्वपूृर्ण कोसेढुंगाा बनेको बताउनु भयो। ठाडो सुरुङ पूरा भएपछि लाइनिङको काम गरेर पेनस्टक स्टिल पाइप राख्ने काम सुरु हुने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘आयोजनाका लागि ठाडो सुरुङ निर्माणको काम चुनौतीको रूपमा रहेको थियो। दुवै ठाडो सुरुङ निर्माणमा चीन र जर्मनीबाट ल्याइएका रेजबोरिङ लगायतका उपकरण ल्याएर काम गर्दा समेत असफल भएको थियो।’ कमजोर चट्टानका कारण कहिले छड्के जाने लगायतका समस्याले ४ वर्षदेखि पटक पटक स्थगित हुँदै आएको काम सम्पन्न भएको उहाँले बताउनुभयो। आयोजनाको मुख्य सुरुङ २ महिनाभित्र पूरा हुने श्रेष्ठको दावी छ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार अहिले मुख्य सुरुङको भैसे खण्ड र गोंगरडाँडा खण्डबाट निर्माणको काम भइरहेको छ। उहाले मुख्य सुरुङ सक्न अब २ सय ७० मिटर जति मात्र बाँकी रहेको जानकारी दिनुभयो। कुल ८ किलोमिटर लामो मुख्य सुरुङको काम भुकम्पका कारण २ वर्ष अवरोध भएका ढिलो भएको डा. न्यौपानेले बताउनु भयो।

आयोजनाले मुख्य सुरुङ निर्माणका लागि प्रवेश मार्गमा २ वटा रोड टनेल समेत निर्माण गरेको छ। आगामी कात्तिक अन्त्य वा मंसिर पहिलो हप्ताभित्रै मुख्य सुरुङ ब्रेक थु्र गर्ने गरी काम भै रहेको डा न्यौपानेको भनाई छ।

पावर हाउस चलिरहेको बेला एक्कासी बन्द गर्नु पर्दा मुख्य सुरुङबाट आएको पानी जाने ठाउँ तयारीको लागि निर्माण गर्न लागिएको आयोजनाको सिभिल संरचना सर्ज साफ्टको लागि अर्को १ किलोमिटर लामो छड्के सुरुङको पनि डिजाइन भएको छ। त्यो सुरुङ मुख्य सुरुङ पूरा भएपछि निर्माण सुरु हुने न्यौपानेले बताउनुभयो।

आयोजनाले आउँदो असारसम्म पहिलो युनिट सञ्चालनमा ल्याई विद्युत् उत्पादन गर्ने गरी कामलाई तिव्रता दिएको र खिम्ती सब–स्टेसन निर्माण गर्न ढिलाइ भए पनि आयोजनाबाट उत्पादित विद्युत् खेर जान नदिने डा. न्यौपानेको दाबी छ।

प्रतिक्रिया दिनुहोस्