भारतलाई जाली नोटको चिन्ता,आपसी सहयोगको प्रतिबद्धता



कुमार श्रेष्ठ, बाँके

नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूको बैठकमा भारतीय पक्षले जाली नोटको चिन्ता गरेका छन्।

भारतीय अधिकारीले बहराइचमा आह्वान गरेको बैठकमा पुगेका बाँके, बर्दिया र दाङका सुरक्षा अधिकारीसमक्ष भारतीयले जाली नोटको चिन्ता गरेका हुन्। नेपालको बाटो हुँदै जाली नोट भारतमा पुग्ने गरेको अधिकारीहरूको भनाइ छ। ‘भारतीय अधिकारीहरूले जाली नोट नियन्त्रण गरिदिन अनुरोध गर्नुभएको छ।’ –बैठकमा सहभागी बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले भन्नुभयो।

नेपालका राजधानीलगायत पूर्वी तराईका नाकाहरूमा भारतीय जाली नोटका चर्चा भए पनि नेपालगन्जलगायत पश्चिम नाका शान्त रहेको छ। एसपी तामाङले बाँकेका जाली नोटको मुद्दा नरहेको बताउनुभयो।

जाली नोटकै कारण भारतले हजार र ५ सय नोटमा प्रतिबद्ध लगाएर नयाँ दुई हजारको नोट निकालेको छ। विशेष गरेर पाकिस्तानीले जाली नोट निकालेर नेपालको बाटो प्रयोग गर्ने भारतीय अधिकारीको चिन्ता रहेको छ।

भारतको बहराइच, श्रावस्ती र गोण्डका सुरक्षा अधिकारी सहभागी रहेको बैठकले सीमामा हुने अपराध नियन्त्रणमा जोड गरेको छ। सीमामा हुने अपराध नियन्त्रण गर्नका लागि सूचना आदान प्रदान गर्ने कुरामा दुवै देशका अधिकारी सहमत भएका छन्। सीमामा हुने लागूऔषध, जंगली जनावर र वन पैदावर चोरी नियन्त्रण र धार्मिक सद्भाव कायम राख्नुपर्नेमा अधिकारीहरूले जोड गरेका छन्। नेपालबाट गाजा, चरेश र भारतबाट ब्राउनसुगर नेपालतर्फ भित्रिने गरेको छ। दुवै देशका अधिकारीहरूले लागूऔषध नियन्त्रणलाई पनि प्राथमिकतामा राखेका छन्। नाकामा संयुक्त गस्तीसँगै सूचना आदानप्रदानमा जोड दिइएको छ।

भारतीय समाचार च्यानलहरूले बाबा रामरहिमको नजिकको मान्छे हनिप्रित नेपालमा रहेको बारेमा व्यापकता गराइरहेका बेलामा सीमा अधिकारीहरूको बैठकमा भारतीय पक्षले यो कुरा भने नउठाएको नेपालका अधिकारीहरूले बताए। ‘हनिप्रितको कुरा उठाएनन्।’ –बाँकेका एसपी तामाङले भन्नुभयो।

बैठकमा चुनावका बेलामा दुवै देशका अधिकारीहरूले एक अर्कालाई गरेको सहयोगको प्रशंसा गरिएको थियो। त्यसक्रममा नेपालमा अपराध गरेर भारतमा र भारतमा अपराध गरेर नेपालमा लुकेका केही अभियुक्तको नाम साटासाट भएको छ। ‘अति नै जोड गरेर नाम उच्चारण कसैको भएन।’ –एसपी तामाङले भन्नुभयो।

नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूको नियमितजसो बैठक हुने गर्छ। चुनाव र विशेष अवसर भएमा जुन देशमा भयो उही देशका अधिकारीहरूले जतिबेला पनि बैठक बोलाएर छलफल चलाउने गर्दछन्। यसपालिको बैठक ठूलो घटनाभन्दा पनि नियमित रहेको अधिकारीहरूले बताएका छन्। बाँके, बर्दिया र दाङमा नै नयाँ सुरक्षा अधिकारीहरू आएकाले सीमावर्ती समकक्षीसँग समसामयिक मुद्दामा छलफल गरेका थिए। यसैबीच, बाँकेमा ‘शान्ति, सुरक्षा र सुशासन मैत्री प्रहरी–प्रशासन’अन्तर्गत घरघरमा प्रहरी अभियान शुरुआत भएको छ।

अपराध नियन्त्रणमा नागरिकसँगको हातेमालो गर्त प्रहरीले यस्तो अभियान थालेको हो। एसपी टेकबहादुर तामाङका अनुसार अभियानअन्तर्गत नागरिक सुरक्षा समिति गठन गरिने छ। जिल्लामा प्रमुख जिल्ला अधिकारी र वडा तथा गाउँपालिकामा अध्यक्षको संयोजकत्वमा समिति गठन गरिनेछ।

प्रहरी, प्रशासन र नागरिक रहने समितिले समाजमा हुने अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने बताइएको छ। प्रहरीले यसअघि मुस्कानसहितको सेवा, प्रहरी मेरो साथीलगायतका अभियान चलाएको थियो। अहिलेको घरघरमा प्रहरी अभियानलाई पनि त्यही रुपमा हेरिएको छ। नागरिकसँग घुलमिल नहुँदासम्म मसिना अपराधबाहिर नआउने सुरक्षा अधिकारीहरूको बुझाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्