पर्सामा एमालेको किल्ला भत्कियो



कृष्णउदास खनाल, वीरगन्ज

पर्सामा नेकपा एमालेको गढ भत्काउँदै कतिपय स्थानमा नेपाली कांग्रेस र कतिपय स्थानमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

नेकपा एमालेको गढ मानिएको पर्साको पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसले कब्जा गरेको छ। नेकपा एमालेका सांसद राजकुमार गुप्ताको निर्वाचन क्षेत्र मानिएको पर्सागढीमा झिनो मतले नेपाली कांग्रेसका लोकनारायण यादवले मेयरमा कब्जा जमाएका हुन्। स्थानीय एक गैरसरकारी संस्थाका अध्यक्षसमेत रहेका यादवले जम्मा ६७ मतले एमालेका गोकर्ण पाठकलाई पराजित गर्दै कांग्रेसको झण्डा गाड्न सफल भएका हुन्।

त्यसरी नै एमालेको गढ मानिइएको पर्साको ठोरी गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रले झण्डा गाडेको छ। एमाले सांसद जयप्रकाश थारुको निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका पूर्वजनसरकार प्रमुखसमेत रहेका पीएल श्रेष्ठ विजयी भएका हुन्। उनले एमालेका उम्मेदवार लालबहादुर श्रेष्ठलाई हराएका थिए। एमालेको गढ नै मानिएको पर्साको बिन्दवासिनी गाउँपालिकामा पनि फोरमका श्रीलाल साह कानुले जित हासिल गरे। वीरगन्ज महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बसरुद्दिन अन्सारी पाँचौं नम्बरमा रहेका छन् ।

पर्साको १४ स्थानीय तहमध्ये शुक्रबारसम्ममा ६ वटा स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एक नगरपालिकासहित नेपाली कांग्रेसले पटेर्वासुगौलीको उपाध्यक्षमा जित हासिल गरेको छ भने नेकपा एमालेले पटेर्वासुगौलीमा केवल गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेर चित्त बुझाएको छ। नेकपा माओवादी केन्द्रले ठोरी र छिपहरमाई गाउँपालिकामा जित हासिल गरेको छ। माओवादीले पर्सामा यसअघि कुनै जित हासिल नगरे पनि यसपटक भने दुई गाउँपालिकासहित अरू जिल्लाको जगरनाथपुर गाउँपालिका जित्ने निश्चित भइसकेको छ।

संघीय समाजवादी फोरमले बिन्दवासिनीसहित कालिकामाईको उपाध्यक्षमा जितेको छ भने जनता दलको चुनाव चिह्न लिई चुनावमा उठेका नेपाल संघीय पार्टीका नथुनी साहले कालिकामाई गाउँपालिका जितेका छन्। वीरगन्ज महानगरपालिकामा भने महाभिडन्त देखिएको छ। नेपाली कांग्रेस अग्रस्थानमा नै छ भने दोस्रो स्थानमा फोरम उक्लिएको छ। यसअघि राजपा दोस्रो स्थानमा रहेकोमा अब फोरमले दुई नम्बरमा आफूलाई पु¥याएको छ। यद्यपि वीरगन्जको बहुसंख्यक वडा भने अझै गन्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्