प्रहरीको मनोबल गिर्न नदिने गृहमन्त्रीको उद्घोष



काठमाडौं, (नेस)
गृहमन्त्री जनार्दन शर्माले अब जनता र प्रहरी मिलेर सूचना आदानप्रदान गर्दै, गुण्डागर्दी, मानव तस्करी, चोरी, डकैती र भ्रष्टाचार अन्त्य गर्ने बताउनुभएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ‘प्रहरी हाम्रो टोलमा’ अभियानको घोषणा गर्दैै मन्त्री शर्माले उक्त कुरा बताउनुभएको हो।

जनतालाई कुनै पनि समस्या पर्दा उनीहरूले एक नम्बरमा सम्झिने नै प्रहरी भएको बताउँदै, टोलटोलमा प्रहरीहरूले जनताका समस्या समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो।

उहाँले गृहप्रशासनमा सरुवा बढुवाका लागि छुट्टै ऐन बन्दै गरेको स्मरण गराउँदै, प्रहरीलाई चिन्ता मुक्त गराई उच्च मनोबल स्थापना गर्नेे सोच रहेको उल्लेख गर्नुभयो।

गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले सो कार्यक्रम कार्यान्वयनमा जाँदा एकरुपता हुनुपर्नेमा जोड दिँदै, सुशासनसहितको प्रहरी प्रशासन अहिलेको आवश्यकता भएको बताउनुभयो।

गृहसचिव लोकदर्शन रेग्मीले सम्पूर्ण स्रोत र साधनको प्रयोग गर्दै, ‘प्रहरी हाम्रो टोलमा’ कार्यक्रमलाई मन मस्तिष्कमा राखेर सफल पार्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले समुदायको सुरक्षाको आधार जनता आफैं भएको बताउँदै परिवर्तित परिवेशको गतिसँगै नेपाल प्रहरी पनि विकसित हुने बताउनुभयो।

नागरिक प्रहरीको संयुक्त संयन्त्र ‘नागरिक सुरक्षा समन्वय समिति’ निर्माण गर्ने र महिनामा एकपटक अनिवार्य ‘प्रहरी हाम्रो टोलमा’ विषयक अनिवार्य अन्तरकृया सचालन गर्ने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्