भारत र चीन नेपालका असल मित्र ः प्रम



नेपाल समाचारपत्र,काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवै नेपालका मित्र राष्ट्र भएकाले दुवै मुलुकसँग नेपालको मित्रवत सम्बन्ध रहेको बताउनुभएको छ। नेपालबारे दुवै मुलुकलाई राम्रो जानकारी रहेको उहाँको भनाइ छ।

संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले त्यहाँको कोलम्बिया विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गर्नुभएको हो।

नेपाल चीन र भारत कसैको पक्ष र अधीनमा नरहेको प्रष्ट्याउँदै उहाँले भन्नुभयो– ‘हामी असंलग्न परराष्ट्र नीति अँगालेर अघि बढेका छौं, कसैको पक्षमा लविङ गर्दैनौं कुनै पनि मुलुकको दबाबमा छैनांै।’

छिमेकी मुलुकहरूले गरिरहेको आर्थिक समृद्धि र विकास प्रकृयाबाट लाभ लिने नीतिका साथ सरकार अघि बढेको प्रधानमन्त्री देउवाको भनाइ थियो। घोषित प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने र राजनीतिक स्थायित्वका साथ नेपाल विकास प्रक्रियामा अघि बढ्ने उहाँले बताउनुभयो। सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आग्रह गर्दै उच्च शिक्षाका लागि विदेसिएका नेपाली मुलुकलाई खाँचो रहेको बताउनुभएको थियो।

जम्बो मन्त्रिपरिषद् किन बनाइयो भनेर कोलम्बिया विश्वविद्यालयका विद्यार्थीले सोधेको जिज्ञासामा उहाँले भन्नुभयो– ‘संसद्को कूल सदस्य संख्याको १० प्रतिशत सदस्यलाई मन्त्री बनाउन सकिने व्यवस्था रहेकाले मन्त्रीपरिषद्को आकार केही ठूलो भएको हो।’ संविधानले केन्द्रीय सांसद निर्वाचित भएपछिको मन्त्रिमण्डलको संख्या २५ भन्दा बढी राख्न नमिल्ने व्यवस्था तोकेको उहाँले प्रष्ट्याउनुभयो।

संविधान संशोधनमार्फत् तराईमा उठेको माग सम्बोधन गर्ने प्रयास तत्कालका लागि विफल भए पनि आगामी दिनमा पनि मधेसका माग सम्बोधन गरिने बताउनुभयो। सो अवसरमा प्रधानमन्त्री देउवासँग विद्यार्थीले नेपालको शिक्षा, स्वास्थ्य, भूकम्पपछिको पुर्निर्नर्माणलगायतका बारेमा जिज्ञासा राखेका थिए।

यही सिलसिलामा प्रधामन्त्री देउवाले सार्क मुलुकसहित अन्य मित्रराष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गर्नुभएको छ। सार्क सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखसँगको भेटवार्तामा उहाँले सार्कका गतिविधि प्रभावकारी बनाउन र स्थगित भएको सार्कको १९औं सम्मेलन छिट्टै आयोजना गर्ने बारेमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

देउवाले अफगानिस्तानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैथीपाला सिरिसेना, पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासी, बंगलादेशका प्रधानमन्त्री शेखर हसिनासँग छुटाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। श्रीलंकाका राष्ट्रपति सिरिसेनाले देउवासँगको भेटवार्तामा आनन्दकुटी विहार, मच्छिन्द्रनाथ मन्दिरलगायतका सम्पदा पुनर्निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

देउवाले आज शनिबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै हुनुहुन्छ। उहाँले इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडलगायत अन्य मुलुकका राष्ट्र र सरकार प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसै गरी प्रधानमन्त्री देउवा न्युयोर्कस्थित राष्ट्र संघीय नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्दै हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्