यु–१६ ले अंक जोड्यो



काठमाडौं, (नेस)
एएफसी यु–१६ च्याम्पियनसिपअन्तर्गत छनोट चरणको रोमाञ्चक खेलमा २–२ को बराबरी खेल्दै नेपाली टोलीले अंक जोडेका छन्।

करिब एक महिनाअघि साफ च्याम्पियनसिपमा दुईपटक पराजित नेपाली टोलीले भारतलाई यसपटक बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो। पहिलो हाफमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू गुमाएका थिए। नेपालले ७६औं मिनेटमा बिर्जेशको गोलमार्फत खेलमा अग्रता लिएको थियो।

तर स्थापन्न खेलाडी हरप्रितले तीन मिनेटभित्र दुई गोल गर्दै भारतलाई खेलमा अग्रता दिलाए। खेलको ८२औं मिनेटमा ३५ यार्डबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका हरप्रितले ८५औं मिनेटमा दोस्रो गोल गरेका थिए। यता बिर्जेशले खेलको ८८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई खेलमा फर्काए।

बराबरीसँगै भारत दुई खेलमा ४ अंकसहित समूहको दोस्रो स्थानमा छ भने पहिलो अंक बटुलेको नेपाल तेस्रो स्थानमा छ। यसअघिको खेलमा प्यालेस्टाइनलाई ४–० ले हराएको इराक समूहको शिर्षस्थानमा छ।

प्रतिक्रिया दिनुहोस्