मोरङसँग आर्मी स्तब्ध



बिर्तामोड, (नेस)
पहिलो रोजाइका खेलाडीबिना मैदान उत्रेको त्रिभुवन आर्मी क्लब झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपमा मोरङ–११ सँग स्तब्ध हुँदै पहिलो चरणबाटै बाहिरिएको छ।

शुक्रबार दूधे खेल मैदानमा भएको खेलमा त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै मोरङले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयमा खेल गोलरहित बराबरमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा आर्मीका दीपक गुरुङ र योद्धा शाहीको प्रहार मोरङका गोलरक्षक सूर्य अधिकारीले विफल बनाएका थिए। आर्मीका कैलाश बस्नेत र पदम तामाङको प्रहार मात्र गोलमा परिणत भएको थियो। मोरङकका लागि दीपक राई, सुनिल खड्का, मिक्चेन तामाङ र विक्रम लिम्बूले गोललाई पोस्टको दिशा दिएका थिए। योसँगै मोरङले आइतबार हुने पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ।

आर्मीका मुख्य रोजाइका खेलाडीहरू नवयुग श्रेष्ठ, भरत खवास, विकेश कुथु, जितेन्द्र कार्की, जर्ज प्रिन्स कार्की लगायत ताजकिस्तानसँग हुने खेलको तयारीका लागि बन्द प्रशिक्षणमा रहनुले मोरङका लागि जीत निकाल्न थप सहज बन्यो। त्यस्तै, सुमन अर्याल र एरिक विष्ट पनि यु–१९ को टोलीमा समावेश भएका छन्।

प्रतिक्रिया दिनुहोस्