अस्गाबातमा नेपाली खेलाडीको लापरबाही



फिरोज राजोपाध्याय,अस्गाबात, तुर्कमेनिस्तान ।
तुर्कमेनिस्तानको अस्गाबात शहरमा जारी पाँचौं एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्समा नेपाली खेलाडीहरूले राष्ट्रको इज्जत फालिरहेका छन्।

शुक्रबार कुराँसतर्फ पुरुष ९० केजीको खेलमा सहभागी जनाउने नेपाली खेलाडी दीपक छन्त्यालले खेल्न अगाडि नै शौचालय गएर खेल नै गुमाए। लेबनानकी पीइरे बोउ अबाउड रिंगमा दीपकसँग प्रतिस्पर्धा गर्न प्रतिक्षा गरिरहेका थिए। तर दीपकको अत्तोपत्तो थिएन। उनी शौचालय गएर फर्कन्जेल खेलको विजेता पिइरे बनिसकेका थिए। योसँगै पीईरेले सेमिफाइनलमा स्थान बनाए। यसै विषयमा कुरा गर्न दीपकलाई सम्पर्क गर्न खोज्दा उनी त्यहाँबाट हिँडिसकेका थिए।

त्यसो त दीपकलाई फेरि खेलाउन नेपाल कुराँस संघकी उपाध्यक्ष प्रतिक्षा खरेलले आयोजकसँग आग्रह गरिन्। तर आयोजकले विजेता घोषणा गरिसकेको भनेर उनको आग्रहलाई खारेज गरिदियो। प्रतिक्षाले यसपछि भनिन्– ‘खेल्नु अगाडि नै शौचालय गइदियो। आउँदासम्म यहाँ नतिजा पनि आइसकेको थियो। खेलाडीले जिम्मेवारीपन देखाएन। हामीले आग्रह पनि गरे आयोजकलाई तर उनीहरू मानेनन्।

टिम व्यवस्थापकसमेत रहेकी प्रतिक्षाले आफ्नो दोष नभएको भनेर पन्छिन खोजिन्। उनले भनिन्– ‘म व्यवस्थापक हुँ यो मानँे। तर रिंगमा म जान सक्दिन नि, खेलाडी पो जिम्मेवार हुनुपर्छ। मैले उनलाई कसरी लाने। म आफैं छक्क परेको छु। कि त पहिलै नखेल्ने भन्नुपर्छ।’

नेपालको बेइज्जत भएको यो पहिलो घटना भने होइन। यसअघि मुआ थाईका खेलाडी नवराज गुरुङले पनि खेलेनन्। उनले समय नै थाहा नभएको प्रतिक्रिया दिएका थिए। चार बजे खेल्नुपर्ने भनेर राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उनलाई सूचित गरेका थिए। तर नवराज समयमा नै रिंगमा नउत्रेपछि नेपालको बेइज्जत भएको थियो।

यस्तै चेसका दुई खेलाडीले पनि लापरवाही गरेर नेपालको बेइज्जत गरे। बिहीबार आफ्नो पहिलो खेल खेल्नुपर्ने थियो।

खेल समय बिहान ९ बजेको थियो। तर मदनकृष्ण कायस्थ र मोनालिसा खम्बू दुबै जना एथ्लिट भिलेजको चेस एरेनामा ९ बजेर ४० मिनेटमा पुगेका थिए। निर्धारित समयभन्दा ४० मिनेट ढिलो आएपछि उनीहरूले हार मात्र बेहोरेनन् , राष्ट्रको समेत बेइज्जत भएको थियो।

उनीहरूसँगै चेसका व्यवस्थापक धर्म लामा पनि सोही समयमा चेस एरेना आइपुगेका थिए।

प्रतिक्रिया दिनुहोस्