संसारको सबैभन्दा धनी महिलाको निधन



पेरिस, (एजेन्सी)
विश्वको चर्चित सौन्दर्य प्रसाधन अर्थात् कस्मेटिक्स कम्पनी ला ओरियलका मालिक्नी तथा संसारकै सबैभन्दा धनी महिला लिलियन बेटेन्कोर्टको ९४ वर्षको उमेरमा निधन भएको शुक्रबार उनको पारिवारिक स्रोतले जनाएको छ।

एक विज्ञप्तिमा उनको बिहीबार राति आफ्नै निवासमा निधन भएको बताइएको छ। सन् २०१७ मा उनको कुल सम्पत्ति ४० अर्ब अमेरिकी डलर रहेको बताइएको छ। सन् २०१२ मा उमेरकै कारण कम्पनी बार्डबाट स्वेच्छाले हटेकी उनलाई बिरलै मात्र सार्वजनिक स्थानमा देखिने गरेको थियो।

तर स्मरणशक्ति गुमाउने रोग डाइमेन्सियाबाट सेलेब्रिटीको रूपमा पनि उनी बारम्बार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भने छाउँदै आएकी छिन्। सो कम्पनीका कार्यकारिणी अधिकृत जिन पाउल एगोनले एक विज्ञप्तिमार्फत बताएका छन्– ‘सदैव ला ओरियल कम्पनी र त्यसका कर्मचारीहरूका बारे राम्रो ख्याल राख्दै आएकी र यसको विकास र सफलताको सधैं नजिक रहेकी उनकोे प्रशंसा गर्दै गहिरो समवेदना व्यक्त गर्दछु।’

वर्षौंदेखि कम्पनीको सफलताका लागि व्यक्तिगत योगदान दिँदै आएकी अनुपम सौन्दर्यकी धनी उनलाई हामीले कहिल्यै बिर्सन सक्दैनौं। सन् २००७ मा आफ्नी परित्यक्त पुत्री फ्रान्स्वाँ बेटेन्कोर्ट मायर्ससँग कानुनी मतभेद शुरू भएपछि उनको स्वास्थ्य झने बिग्रिन थालेको थियो।

तर सन् २०१० मा आमाछोरीको पुन मेलमिलाप भएको थियो। उनले सन् २००७ मा फ्रान्सको राष्ट्रपतीय चुनावको दौरान निकोलस सार्कोजीलाई पनि आर्थिक मदत गरेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्