पानामा पेपर्स चुहावट प्रकरण,सरिफको बैंक खाता तथा सम्पत्तिमाथि रोक



लाहौर, (एजेन्सी)
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ र उनका परिवार सदस्यका सम्पूर्ण बैंक खातालाई रोक्का गरिएको छ। सार्थ उनको सम्पत्ति पनि जफत गरिएको जनाइएको छ।

शुक्रबार दिएको भ्रष्टाचार निवारण निकाय नेसनल अकाउन्टेविलिटी ब्युरो (एनएबी)ले उक्त कारबाही अगाडि बढाएको हो। नवाज सरिफको लाहौर र गलबर्गस्थित आलिशान भवनबाहिर एनएबीले सूचना टाँस गरिएको थियो।

उक्त सूचनामा सरिफलाई ती सम्पत्तिहरू बेचविखन गर्न नसक्ने उल्लेख गरिएको छ। नवाज सरिफ अहिले पत्नीको शल्यक्रियाका क्रममा लन्डनमा छन्। केही महिनाअगाडि उनलाई भ्रष्टाचारको मुद्दामा अदालत दोषी ठहर्याएको थियो। नवाज सरिफ पानामा पेपर्स चुहावट मामिलामा फसेका थिए।

सर्वोच्च अदालतको उक्त फैसला आएपछि सरिफले जुलाइ २८ मा पदबाट राजीनामा दिएका थिए। पानामा पेपर्स चुनावटमा नवाज र उनको परिवार सदस्यको नाम विदेशमा अवैध सम्पत्ति जम्मा गर्नेहरूको सूचीमा परेका थिए। एनएबीले कयौंपटक सरिफ र उनको परिवारका सदस्यलाई सोधपुछका लागि पेश हुने सूचना जारी गरेको थियो।

सरिफका वकिलले पनि एनएबीको सोधपुछमा उपस्थित हुन सल्लाह दिएको थियो। तर सरिफ र उनको परिवारका कोही पनि सदस्य सोधपुछका लागि एनएबीसमक्ष उपस्थित भएनन्।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अब्बासीले पनि गत हप्ता प्रस्ट शब्दमा यदि ऊ एनएबीसमक्ष उपस्थित नभएमा उनलाई पक्राउ गर्नेबाहेक अर्को विकल्प नहुने बताएका थिए।

के हो पानामा पेपर्स लिक?

गत वर्ष बेलायतबाट चुहावट भएको कर दस्तावेजले विश्वभरिका १ सय ४० नेता र सयौं सेलिब्रिटीले कर छल्न विदेशमा नक्कली कम्पनी खडा गरी त्यस्ता देशहरूमा पैसा लगानी गरेका छन् भन्ने खुलासा गरेको थियो।

उक्त चुहावट भएको दस्तावेजमा पानामा देशमा दर्ता भएका कम्पनी र त्यसका मालिक तथा उनीहरूको खाताको विवरण थियो।

यो सूचीमा नवाज सरिफको नाम पनि थियो। ती नेता तथा सेलिब्रिटीहरूले छद्म कम्पनी, ट्रस्ट र कर्पोरेसन बनाएको र त्यसबाट आफ्नो देशमा कर छल्दै आइरहेका थिए। उक्त चुहावट भएको दस्तावेदमा विशेष गरी पानामा, ब्रिटिस भर्जिन आइल्यान्ड र बहामासमा भएका लगानीका बारेमा उल्लेख थियो।

पानामामा यस प्रकारको ३ लाख ५० हजारभन्दा धेरै गोप्य अन्तर्राष्ट्रिय व्यापारिक कम्पनी रहेको खुलासा भएको छ।

प्रतिक्रिया दिनुहोस्