पेप्सीकोलामा गोली चल्यो, एक घाइते



काठमाडौं, (नेस)
राजधानीका विभिन्न स्थानमा चन्दा असुली तथा गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके चक्रे मिलनको समूह र प्रहरीबीच गोली हानाहान भएको छ।

शुक्रबार बेलुकी काठमाडौंको पेप्सीकोलास्थित मनहरा खोलानजिक डन चक्रे मिलनका कार्यकर्ता तथा प्रहरीबीच भएको गोली हानाहानमा प्रहरीले चलाएको गोली लागी चक्रे मिलनका ‘राइट ह्यान्ड’ मानिएका रामेश्वर गौतम घाइते भएको बताइएको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीका अनुसार पेप्सीकोलामा रहेको एक पुलमा भेला भएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी त्यहाँ पुग्दा उक्त समूहले प्रहरीमाथि २ राउन्ड गोली चलाएको थियो।

प्रहरीले जवाफी फायरिङ गर्दा गौतमको दाहिने घुँडामुनि गोली लागेको थियो। घाइते गौतमको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

उपरीक्षक लोहनीका अनुसार ३ जनाको समूहमा रहेका मध्ये २ जना फरार भएको र उनीहरूको तीव्ररूपमा खोजी भइरहेको छ।
प्रहरीस्रोतका अनुसार गौतम चर्चित डन मिलन चक्रेको प्रमुख सहयोगी रहेको र पछिल्लो समय चक्रपथ वरपर सीमित रही विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेका छन्।

प्रतिक्रिया दिनुहोस्