फेरिँदै छ मुहार मुसिकोटको : ‘दरवार बनाएर राजाले राज्य संचालन गरेको ठाउँ’



धनवीर दाहाल, रुकुम । मुसिकोट नगरपालिका ४ का ६८ बर्षका तिलकबहादुर मल्ल ७ बर्षको हुँदा उनले पनि आफ्ना हजुरबुवाबाट कथा सुन्ने गर्दथे । आफ्नै घर नजिकैको डाँडोको बारेमा लामै कहानी हजुरबुवाले सुनाउने गर्दथे । निकै उत्सुकताका साथ कथा सुनिररहेका मल्लले आफ्ना हजुरबुवालाई सोधे “यो डाँडामा राजा कहाँबाट आएका हुन बाज्यै ? उनका हजुरवुवाले नातीलाई लामो कुरा सुनाए । “चौखाबांगको कुक्रेकोटको डाँडामा राजा बस्ने गर्दथे ।

राजाले पालेको बँदेल कहिले काँही सो ठाँउबाट भाग्ने गर्दथ्यो र यहाँ रहेको एउटा गुफामा आएर बस्दथ्यो । राजाको घरमा काम गर्ने मुसि नामकी एक चेली आएर सँधै यस ठाँउबाट बँदेल लिने गर्दर्थिन । त्यही समयमा तेस्रो पटक बँदेल लिन यहाँको गुफामा आएको बेला मुसिले वरपरको ठाँउको अवलोकन गरिन र यो डाँडा निकै मनमोहक भएको, चारैतिर फाँट र माथी अग्लो डाँडो रहेको तथा डाँडाको छेउमै गुफा रहेको थाहा पाइन । मुसि गएर राजालाई यो ठाँउ भन्दा राजा बस्ने ठाँउ त अर्काे डाँडामा रहेछ ।

साह्रै राम्रो छ त्यही ठाँउमा जाउँ राजा भनेपछि मुसिको भनाई अनुसार राजाले बासस्थान यही डाँडामा सारेका हुन् । अनि राजालाई पनि यो ठाँउ मन परेपछि मुसिको नामबाटै मुसिकोट डाँडा बनाइएको हो । त्यसपछि राजा यही बसेर दरवार बनाएर राज्य संचालन गरेका हुन् ।” हजुर बुवाको यो लामो कुरा कुनै काल्पनीक नभएर बास्तविक भएको कुरा तिलकले पछि थाहा पाए । उनको त्यो कुरा हाल ऐतिहासिक भएको छ । यो ठाँउमा धेरै बर्षको बाइसे चौविसे राजाको राज्य संचालन पछि अहिले पर्यटकिय गन्तव्यको रुपमा विकास हुन थालेको छ ।

रुकुमको मुसिकोट नगरपालिका वडा नं. ४ मा रहेको ऐतिहासिक मुसिकोट दरबारको नामले परिचित मुसिकोट डाँडाको संंरक्षणमा जिल्लाका विभिन्न निकायहरु अघि सरेका छन् । मुसिको नामले परिचित उक्त डाँडालाई पर्यटन क्षत्रका रुपमा विकास गर्ने भन्दै केही महिना अघि मात्र वृक्षारोपण तथा तारजालीले व्यवस्थित गराईएको छ । पर्यटनको राम्रो संभावना बोकेको मुसिकोट डाँडाको संरक्षणमा जिल्लाका विभिन्न निकायहरु एकैसाथ जुटेपछि मुसि डाँडाको मुहारै फेरिएको छ । स्थानीय जन श्रमदान तथा विभिन्न निकायको आर्थिक सहयोगमा मुसिकोट दरवार उद्यान निर्माणलाई व्यवस्थित गरी जिल्लाकै एक पर्यटकिय क्षत्रको रुपमा विकास गर्न लागिएकोे हो ।

करिब ४ रोपनी क्षत्रफल ओगटेको मुसिकोट दरवार उद्यान निर्माणलाई व्यवस्थित र सुन्दर बनाउनका लागि १२ लाख बढी रकम खर्च गरिएको छ । कुनै समय जिर्ण बनेको मुसिकोट डाँडाको उद्यान निर्माण पछि अब भने यो स्थानबाट विभिन्न ठाउँहरुको अवलोकन गर्न सकिने भएको छ । कुनैबेला नेपाली सेनाको क्याम्प रहेको यो डाँडामा सर्वसाधारणका लागि समेत प्रवेशमा रोक लगाईएको थियो । करिब पाँच वर्ष जति नेपाली सेनाले भाडामा प्रयोग गरेको उक्त मुसिकोट डाँडाबाट नेपाली सेनाको अस्थायी क्याम्प हटाईएपछि यो ठाउँ केवल बस्तुभाउ चरिचरण गर्ने क्षेत्रमा परिणत भएको थियो ।

तर, पर्यटनका हिसाबले जिल्लाकै एक महत्वपुर्ण स्थानको रुपमा चिनिएको यो डाँडालाई थप व्यवस्थापन गर्नका लागि विभिन्न निकायहरु संरक्षणमा जुटेका हुन् । तर, यो सहयोग पनि अप्रयाप्त हुने भएकाले यस स्थानको चिनारीका लागि राज्यले अझै केही गर्र्नुपर्ने स्थानीय लोकेन्द्र शाहले बताए ।

नगरपालिका भित्रका थुप्रै पर्यटकिय क्षत्रको व्यवस्थापनका लागिअब मुसिकोट नगरपालिकाले पनि ऐतिहासिक पर्यटकिय स्थलको खोजीगर्ने कामलाई अघि बढाउने बताएको छ । मुसिकोट डाँडाबाटै मुसिकोट नगरपालिकाको नाम रहन गएकाले पनि मुसि डाँडालाई ऐतिहासिक पर्यटकिय क्षत्रको रुपमा विकास गर्ने नगरपालिकाको आगामी योजना रहेको मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले जनाए ।

वि.सं.१७६० साल तिर मुसि मार्फत पत्ता लगाईएको यस डाँडालाई मुसिकोट दरवारका रुपमा चिन्ने गरिन्थ्यो । बाईसे तथा चौबिसे राज्यको समयमा नेपाल एकिकरण भए लगत्तै त्यसपछि यो डाँडाओझेलमा परेको थियो । तर, पछिल्लो समय उक्तडाँडाको उचित संरक्षणमा सरकोकारवाला निकायको ध्यान गएसंगै अबभने आन्तरिक पर्यटकहरुको भिड लाग्ने अनुमान गरिएको छ । मुसिकोटबाट रुकुमको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिर, सिस्ने हिमाल तथा सानीभेरीको समेत दृश्यावलोकन गर्न सकिन्छ । यो ऐतिहासिक पर्यटकिय क्षेत्र भएकोले राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयको जोड छ ।

प्रतिक्रिया दिनुहोस्