इन्डोनेसिया र जापानमा शक्तिशाली भूकम्प



 

बाली⁄टोक्यो, (एजेन्सी)
इन्डोनेसियाको पर्यटकीयस्थल बालीको तटीय क्षेत्रलाई ५ दशमलव ७ म्याग्निच्युडको भूकम्पले हल्लाएको छ । भूकम्पको केन्द्रबिन्दु उत्तरपूर्वी केमेडुरान भएको अमेरिकी भूगर्भ सर्वेक्षणले पुष्टि गरेको छ ।

भूकम्प सतहबाट ५ सय ८८ किलोमिटर मुनि केन्द्रविन्दु बनाइ गएको र शुरूमा सुनामीको त्रास पनि फैलिएको जनाइएको छ । एकजना अधिकारीले सुनामीको चेतावनी नदिएको जारी नगरिएको तर कारांगासेममा भूगर्भमा देखिएको सक्रियतालाई ध्यानमा राखी माउन्ट अगुङ ज्वालामुखी क्षेत्र नजिकका इलाकाबाट बासिन्दालाई नबस्न भनिएको जानकारी दिए ।

अधिकारीहरुले पर्यटकीय टापु बालीको उक्त ज्वालामुखी वरपरका दुई गुणाभन्दा बढी क्षेत्रफलको इलाकाबाट बासिन्दाहरु खालि गराइएको बताए । उक्त इलाकामा एक हप्ताभित्र सतर्कताको स्तर बढाइएको यो दोस्रोपटक भएको उनले बताए ।

बालीसँगै विगतका हप्तामा कयौं देशहरुमा शक्तिशाली भूकम्प महशुस गरिएका छन्। हालै मात्र मेक्सिकोमा आएको विनाशकारी ७ दशमलव १ म्याग्निच्युडको भूकम्प आउँदा कम्तिमा २ सय ५० को मृत्यु भइसकेको छ ।

न्युजिल्यान्डमा पनि बुधबार ५ दशमलव ८ र ५ दशमलव १ रिक्टर स्केलका दुई भुकम्पले हल्लाएको थियो । त्यसैगरी भानुआटुको इरोमान्गो टापुमा पनि ६ दशमलव ४ रिक्टर स्केलको भूकम्प आएको युएसजीएसले जनाएको छ ।

जापानमा पनि भूकम्प
त्यसै गरी मेक्सिको सिटीमा ७ दशमलव १ म्याग्निच्युडको भूकम्पको आएको २४ घण्टा नबित्दै जापानको पूर्वी तटीय क्षेत्रमा पनि शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ ।

बन्द गरिएको फुकुसीमा परमाणु उर्जा केन्द्रबाट १ सय ७५ माइल पूर्वमा स्थानीय समय बिहान साढे २ बजे ६ दशमलव १ म्याग्निच्युडको भूकम्प धक्का महशुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । उक्त भूकम्पको केन्द्रविन्दु पानीमुनि जमिनको सतहबाट ६ माइल गहिराइमा भएको जनाइएको छ ।

मेक्सिकोजस्तै जापान पनि भूकम्प सक्रिय क्षेत्रमा पर्छ । नर्थ अमेरिका प्लेट, प्यासिफिक प्लेट, फिलिपिन सी प्लेट र युरेसिया प्लेटलगायत पृथ्वीका कयौं टेक्टोनिक प्लेटहरुबीच हुने घर्षण तथा धस्सिने प्रक्रियामा ती देशहरु प्रभावित हुने गर्छ । जब यी टुक्राहरु एकअर्कासँग ठोक्किने वा घर्षण हुन्छ, भूकम्प आउने गर्छ ।

विगतको शताब्दीमा जापानमा ९ पटक ठूला भूकम्प आएका छन्, ती प्रत्येक भूकम्पमा १ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए ।
उच्च जनघनत्व भएको जापानमा भूकम्पले भयानक जनधनको क्षति निम्त्याउन सक्ने जोखिम सधैं रहेको हुन्छ । सन् १९९५ मा कोबे नजिकको जापान मेडियन टेक्टोनिक लाइनमा गएको भूकम्पमा ५ हजारभन्दा धेरैको मृत्यु भएको थियो । केही अगाडि सन् २०११ मा आएको ९ म्याग्निच्युडको टोहोकु भूकम्पमा २ हजारभन्दा धेरैको ज्यान गएको थियो। उक्त भूकम्पका कारण प्रलयकारी सुनामीका क्रममा १ सय ३३ फिट अग्लो छाल आएको थियो । उक्त भूकम्प मानव बस्ती भएको भूमिबाट ४३ माइलको दूरीमा सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु बनाइ गएको थियो ।

प्रतिक्रिया दिनुहोस्