भिसा कार्डमार्फत कारोबारमा १० प्रतिशत छुट पाइने



 

नेपाल समाचारपत्र
काठमाडौं
भिसा कार्ड बोक्नेहरूले लाई बैंकहरूले स्किम ल्याएका छन्। चाडपर्वलाई लक्षित गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका अन्य ९ बैंकले भिसा कार्ड प्रयोग गरी सामान खरीद गर्नेलाई १० प्रतिशत छुटको व्यवस्था गरेका हुन्।

बैंकहरूले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनीसँग सहकार्य गरी संयुक्तरूपमा नगद फिर्ता योजना लागू गरेका हुन्। नेपाल इन्भेष्टमेन्ट बैंकका अलवा सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, कुमारी, महालक्ष्मी विकास, मेगा, एनसीसी, राष्ट्रिय वाणिज्य, सानिमा र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताले भिसा कार्ड प्रयोग गरी सामान किने भुक्तानी गर्दा भोलिपल्ट १० प्रतिशत रकम खातामा फिर्ता पाउने भएका हुन्।

पत्रकार सम्मेलनमा इन्भेष्टमेन्ट बैंककी कार्ड सेन्टर प्रमुख रिना चन्दले नगद कारोबार कम गरेर पेमेन्टलाई डिजिटलाइज्ड बनाउने उद्देश्यसहित यस्तो योजना ल्याएको जानकारी दिनुभयो। उहाँका अनुसार यो स्किम तत्काललाई पाँच महिनासम्म चल्ने छ। उहाँले ग्राहकको प्रतिक्रियाका आधारमा अवधि बढ्न पनि सक्ने बताउनुभयो।

यो लाभ योजनामा स्वदेशभित्र नेपाली नागरिकको हकमा मात्र प्रयोजन हुने छ। नगद छुट पाउनका लागि कम्तिमा ५ सय रुपियाँको खरीद तथा भुक्तानी गरेको हुनपर्छ। त्यस्तै अधिकतम सिमा दैनिक १ हजार रुपियाँसम्म मात्रै ग्राहकले फिर्ता पाउने छन्। अर्थात दैनिक १० हजार रुपियाँ वा सोभन्दा बढी रकमको सामान तथा सेवा खरिद गरे पनि १ हजार रूपैयाँ मात्रै नगद फिर्ता हुने आवद्ध बैंकहरूले जनाएका छन्।
फिर्ता भएको नगद भोलिपल्टै ग्राहकको खातामै जम्मा हुने मेगा बैंक ‘कार्डस एण्ड अल्टरनेटिभ च्यानल’ प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो। ‘भोलिपल्टै रकम ग्राहकको खातामा फिर्ता आउँछ, यदी आएन भने उहाँहरूले सम्वन्धित बैंकबाट यसको समाधान पाउनुहुनेछ’ उहाँले भन्नुभयो।

रकम फिर्ताका लागि पस मेसिन जुनसुकै नेटवर्कको भए पनि नगद छुट पाउनका लागि यी १० बैंकले जारी गरेको भिसा कार्ड नै आवश्यक पर्छ। हाल काठमाडौं उपत्यकामा यी दस बैंकबाट १५ लाख संख्याको हाराहारीमा भिसा डेविट कार्ड जारी भएको बैंकहरूले जनाएका छन्। यीमध्ये जम्मा २० प्रतिशतले मात्रै आफ्नो कार्डलाई ‘पोस’ मेसिनमा स्वाप गरी भुक्तानी गर्ने गरेको सम्वद्ध बैंकहरूको भनाइ छ। हाल उपत्यकाका विभिन्न बस्तु तथा सेवा प्रदायक संस्थाहरूसँग १६ सय र पुरै बैंकिङ प्रणालीमा ४५ सय पोस मेसिन सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्