ढिलो पुगेकाले पराजित



 

फिरोज राजोपाध्याय
अस्गाबाट, तुर्कमेनिस्तान

तुर्कमेनिस्तानको अस्गाबाटमा चलिरहेको पाँचौ एसियन इन्डोर एन्ड मार्सल आर्टस् गेम्समा बिहीबार चेसको टिमले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको छ।

एथ्लेट भिलेजमा भएको चेसअन्तर्गत पहिलो चरणको खेलमा नेपालका मदनकृष्ण श्रेष्ठ र मोनालिसा खम्बुले खेल्न ढिलाइ गरेका थिए। बिहान ९ बजे शुरू हुने खेलमा उनीहरू उपस्थित थिएनन्। टेबल नम्बर १३ मा प्रतिद्वन्द्वी पर्खिरहे पनि उनीहरू उपस्थित भएनन्। नेपालका दुबै खेलाडी उपस्थित नभएपछि वाकओभरको आधारमा दुबै जनाको हार भयो।
पुरुषको व्यक्तिगत स्पर्धामा मदनकृष्ण श्रेष्ठ आयोजक राष्ट्रका मेइलिस अनाबेर्डीएभसँग पराजित भए। त्यस्तै महिलाको व्यक्तिगत स्पर्धामा मोनालिसा खम्बु इरानकी मित्रा हेजाजीपुरसँग हारिन्।

यस विषयमा प्रतियोगितामा रेफ्रीको भूमिकामा अस्गाबाट पुगेका हेराकाजी महर्जनले ज्यादै लापर्वाही भएको प्रतिक्रिया दिए। उनले नेपाल समाचारपत्रलाई बताए– ‘खेलाडीले यो त एकदमैे लापर्वाही गरेको हो। अघिल्लो दिन पनि टेक्निकल मिटिङमा दुबै जना उपस्थित भएनन्। आज त हदै पार गरे उनीहरूले। यसअघि यस्तो गैरजिम्मेवारपूर्ण व्यवहार श्रीलंकामा पनि गरेका थिए।’

मदनले जिते
मदनकृष्णले दोस्रो चरणमा भने ठ्याक्कै समयमा आएर सहभागी जनाए र जित पनि हात पारे। उनले ताजिकिस्तानका नोदेजडा एन्टोनोभालाई १ अंकको अन्तरले पराजित गरेका हुन्। उनले आज अर्को खेल खेल्नेछन्। तर मोनालिसा भने शुरु हुनै लाग्दा खेल स्थलमा पुगिन्। उनी मकाउकी आईपी सेंग टउसँग दोस्रो चरणमा हारिन्।

३० सेकेन्ड पनि टिकेन
कुँरासकी खेलाडी जयन्ती श्रेष्ठ म्याटमा तीस सेकेन्ड पनि टिकिनन्। चाइनिज ताइपेईकी काओ चिया जिङसँग उनी सहजै पराजित भएकी थिइन्। महिला ७८ केजीतर्फको क्वाटरफाइनल खेलमा जयन्ती डाकीको आधारमा छिटै हारिन्। योसँगै कुँरासमा महिलाको चुनौती समाप्त भयो। आज दिपक छन्त्यालले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्