अवरुद्ध ग्रामीण सडक सुचारु



 

विनोदसिंह विष्ट, बैतडी
वर्षात्को समयमा अवरुद्ध भएका बैतडीका करिब एक दर्जन कच्ची सडकहरू सुचारु भएका छन्। वर्षात् रोकिएसँगै जिल्लाभरिका कच्ची सडक सञ्चालनमा आएका प्रहरीले जनाएको छ। जिल्लाको पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, विफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट सडक सञ्चालनमा आएका महाकाली जिप काउन्टर सतबाँझका इन्चार्ज कर्णबहादुर पाण्डेले जानकारी दिनुभयो। यस्तै सतबाँझ–श्रीभावर, देहीमाडौं–गिरगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाल सडक सञ्चालनमा आएको उहाँले बताउनुभयो।

दशैं नजिक आएसँगै कच्ची सडक सञ्चालनमा आएपछि नागरिक पनि खुसी भएका छन्। कामले घरबाहिर रहेकाले गाडी चढेर घर जान पाउने भन्दै खुसी भएका हुन्। ढोल्यामोड–हाट सडकखण्डमा बससमेत सञ्चालनमा आएको स्थानीय लालबहादुर भण्डारीले बताउनुभयो। एक साताअघिदेखि महेन्द्रनगरबाट कोटिला र कोटिलाबाट महेन्द्रनगर बससेवा शुरू भएको उहाँले बताउनुभयो। यता पाटन–पञ्चेश्वर सडकको मेलौलीसम्म पनि बससेवा सुचारु भएको जनाइएको छ। अन्य कच्ची सडकमा भने जीप सेवा सञ्चालन भइरहेको यातायात व्यवसायीले बताएका छन्। कच्ची सडकमा गाडी सञ्चालनमा आएसँगै दशैंका लागि भारतबाट फर्किने नागरिकलाई पनि सजिलो भएको छ।

भारतमा मजदुरी गरिरहेका नेपालीहरू सीमानाका झुलाघाट भएर दशैंका लागि घर फर्किनेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो।

सवारी जाँचमा कडाइ
दशैं–तिहार नजिकिएसँगै बैतडीमा ट्राफिक प्रहरीले सचेतना र जाँचलाई तीव्र पारेको छ। चाडबाडका बेला बढी हुने दुर्घटना न्यूनीकरण गर्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न अनुरोध गर्दै आएको जिल्ला ट्राफिक कार्यालय बैतडीका इन्चार्ज आकाश रावलले जानकारी दिनुभयो। ट्राफिक नियमको उल्लंघन गर्ने सवारी चालकलाई सचेत तथा कारबाही गर्ने गरिएको छ। उहाँले भन्नुभयो– ‘विशेष गरेर भारतसँग सीमा जोडिएको सडकमा कडाइ गरेका छौं।’

भारतबाट मजदुरी गरी घर फर्किने नेपालीलाई सहजताका लागि सीमाक्षेत्रमा ट्राफिक सचेतनामा जोड दिएको बताइएको छ। यसका साथै चाडबाडका बेला हुने आपराधिक घटना न्यूनीकरण गर्न चेकजाँचमा समेत कडाइ गरिएको छ। ‘हामीले नियमित रूपमा सधैं जाँच गरिरहेका छौं’, जिल्ला ट्राफिक कार्यालय बैतडीका इन्चार्ज रावलले भन्नुभयो– ‘यहाँ सवारी चालक अनुमतिपत्र र बिलबुक नलिई सवारी चलाउने चालकलाई सचेत गराइरहेका छौं।’

चाडवाडका बेला बढी मात्रामा मादक पदार्थ सेवन गरी सवारी चलाउने भएकाले दुर्घटना बढी हुने गरेका छन्। मोटरसाइकलमा हेलमेट नलगाई चलाउने, तीन जना चढाउने, लाइसेन्स नलिई चलाउने, बिलबुक पनि नबोकी सवारी चलाउने प्रवृति रहेको छ। बढी भाडा असुल्ने सवारी, क्षमताभन्दा बढी यात्रु चढाउने सवारीलाई निगरानीमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ। चाडपर्वलाई लक्षित गरेर यात्रुको सहजताका लागि सदरमुकाम गोठलापानीमा गत भदौ २५ गतेदेखि यात्रु सहायता कक्ष सञ्चालन पनि सञ्चालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्