राजधानीमै भेटियो स्क्रब टाइफस रोगको जीवाणु



 

प्रशान्त वली, काठमाडौं
राजधानीमै स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। काठमाडौं उपत्यकाभित्र बस्दै आएका १० जना बिरामीमा भदौ महिनामा मात्रै उपचारको क्रममा स्क्रब टाइफस रोगको संक्रमण फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले बताएको छ।

अस्पतालका अनुसार उपत्यकाबाहिर नगएका राजधानीमै बसिरहेका १० जनालाई स्क्रब टाइफस रोग देखापरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। स्क्रब टाइफस रोग फैलने क्रम बढ्दै गएको भन्दै जोखिम न्यूनीकरणका लागि जनचेतनाका कार्यक्रमहरू फैलाउन आवश्यक रहेको अस्पतालले बताएको छ।

ती बिरामीहरूमा ज्वरो आउने, पसिना आउने लक्षण देखिएको अस्पतालले बताएको छ। मुख्यतः मुसाजस्ता स्तनधारी प्राणीले टोकेपछि सो रोगले आक्रमण गर्ने गर्छ। मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ। सो किरा मुसाको कानमा बस्ने गर्छ। एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको छ।

यो रोग लागिसकेपछि अत्याधिक ज्वरो आउने, शरीरबाट पसिना आउने, आँखा रातो हुने, जिउ चिलाउने, टाउको दुख्ने, ग्रन्थीहरू सुनिने र श्वास फेर्न समस्या हुने, शरीरमा किर्नाले टोकेको घाउसमेत देखिने लक्षणहरू देखापर्ने चिकित्सकहरूले बताएका छन्।

यसबाट बच्नका लागि वन क्षेत्रमा जाँदा शरीरका अंग नदेखिने गरी कपडा लगाउने र लक्षण देखिनासाथ डाक्टरको सल्लाहअनुसार डक्सी साइक्लिन नामक औषधी सेवन गरेमा रोग निको हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो। नेपालमा २०७२ सालमा पहिलोपटक यो रोग देखापरेको थियो।

स्क्रब टाइफसको संक्रमण हुनसक्ने भन्दै किर्ना, मुसाजस्ता प्राणीहरूको टोकाइबाट रिकेटसिया नामक किटाणु मानिसको शरीरमा प्रवेश गरी उक्त रोग सर्ने भएकाले झाडी, पाखो तथा खुला ठाँउमा सुत्न वा नबस्न डा. पुनले आग्रह गर्नुभयो।

ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने प्रवृत्तिले जटिलता उत्पन्न हुने गरेको भन्दै सामान्य ज्वरो आउनेबित्तिकै स्वास्थ्य संस्था जान चिकित्सकहरूले आग्रह गरेका छन्। बिरामीहरू समयमै अस्पताल पुग्न सके मृत्युबाट बच्न सकिने बताइएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भीम आचार्यले स्क्रब टाइफस रोगको जीवाणु भेटिए पनि आत्तिहाल्नुपर्ने अवस्था नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामी निकै सजग छौं। धेरै ठूलो रुप लिएको छैन। रोग फाट्टफुट्ट देखिएको भने हो।’

प्रतिक्रिया दिनुहोस्