एमाले बदनाम, माओवादीमा मतदान



 

बीपी साह, काठमाडौं
असोज २ गते साँझ ५ बजे मतदान सम्पन्न भएपछि नेकपा माओवादी (केन्द्र) का २ नम्बर प्रदेश संयोजक मातृकाप्रसाद यादव धनुषाको सबैलास्थित आफ्नो निवासमा निकै खुसी मुद्रामा थिए।

चुनावी रिपोर्टिङका क्रममा त्यहाँ पुगेका पत्रकारको टोलीसँग आफ्नो विश्लेषण सुनाउँदै यादवले भने– ‘मधेस कम्युनिस्टको केन्द्र हो। यसअघि एमालेले वर्चस्व देखाउँदै थियो। यसपटक माओवादीले पुनः अग्रता लिनेछ।’
यादवको भनाइको निचोड थियो– ‘एमालेले मधेसीको भावनालाई समेट्न नसक्नु र मधेसीको पक्षमा वकालत गर्न असक्षम भएकै कारण मधेसमा आफै बदनाम भए जसकारण माओवादीप्रति मधेसी कम्युनिस्टको आकषर्ण बढ्यो। र, माओवादीको अवस्था राम्रो हुन पुग्यो।’

समग्रमा हेर्ने हो भने २ नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचन माओवादी केन्द्रको अवस्था निकै सुधार भएको छ।

एमाले र मधेसी जनताबीच बढेको दूरीको फाइदा माओवादी केन्द्रलाई भएको छ।

दोस्रो संविधानसभाको निर्वाचनमा २ नम्बर प्रदेशमा माओवादीको निकै कमजोर परिणाम आएको थियो। स्थानीय निकायको निर्वाचनमा २ नम्बर प्रदेशमा माओवादीको अवस्था झनै कमजोर हुने आकलन गरिएको थियो। तर त्यस्तो भएन। एमालेका अधिकांश शुभचिन्तक माओवादीप्रति नरम देखिए। जसको कारण माओवादीको अवस्था सुधारिएको हो।

एमालेको अवस्था मधेसमा किन कमजोर भयो त? नेकपा एमालेले मधेसलाई चिढाएरै अन्य प्रदेशमा अग्रता स्थान पाएको हो कि भन्ने आशंका गरिएको छ। एमालेको लागि ‘मधेस कार्ड’ फलदायी सावित भएन। विगत तीनवटा मधेस आन्दोलनबाट पीडित बनेका गैरमधेसीले मधेस आन्दोलनको विरुद्धमा मतदान गरे। मधेस आन्दोलनको विरुद्धमा देखिएका एमालेले उक्त मत पाए। सायद एमालेले ‘मधेस कार्ड’ नखेलेको भए र मधेस आन्दोलनको प्रतिवाद नगरेको भए पहाडको यति धेरै मत पाउन सक्ने थिएन।

स्थानीय निकायको अहिलेसम्मको मत परिणामअनुसार देशको सबभन्दा ठूलो पार्टी बनेको छ। एमाले २ नम्बर प्रदेशमा कमजोर हुँदैमा उसको साख घट्ने छैन।

२ नम्बर प्रदेशमा एमालेको संगठन अहिलेसम्म पनि कमजोर छैन। तर निर्वाचनमा जहिले पनि संगठनबाहिरको मतले जितिन्छ। एमालेको सांगठनिक मत खसेको छ। तर उत्साहको मत खसेको छैन। जसले एमालेलाई मधेसमा कमजोर बनाएको छ।

संविधान संशोधनमा एमालेको असहमतिले पनि उसलाई मधेसमा कमजोर पारेको हो। तर यसै असहमतिले केन्द्र र प्रदेशको निर्वाचनमा २ नम्बरबाहेकको प्रदेशमा एमालेले राम्रो मत पाउनेछ। उसले पुनः मधेस आन्दोलनविरुद्धको ‘मधेस कार्ड’ फाल्नेछ।

यता माओवादीको अवस्था मधेसमा सुध्रिएको देखिन्छ। पछिल्लो समय राजपासहितको पार्टीमा देखिएको टिकट विवादको फाइदा माओवादीलाई भएको छ। राजपामा भएको टिकट विवादपछि अधिकांश नेता माओवादीमा प्रवेश गरे। कारण थियो, माओवादीबाट टिकट ‘कन्र्फम’ हुनु।
एमालेको छवि मधेस विरोधी देखिएकाले एमालेमा मधेसीहरू जान चाहेनन्। कांग्रेस आफ्नै गुट–उपगुट मिलाउनमा व्यस्त थियो। एउटा माओवादी केन्द्रमात्र उम्मेदवारविहीन देखिएको थियो। जसकारण अधिकांश मधेसवादी दलका विद्रोही माओवादीमा प्रवेश गरे।

अन्तमा एमालेले ‘मधेस कार्ड’ फालेर आफूलाई मधेसमा बदनाम बनाएकै हो जसकारण एमालेले मधेस आन्दोलनविरुद्धको गैरमधेसी भोटलाई आफ्नो खातामा जम्मा गरेको छ।

एमालेको ‘मधेस कार्ड’को फाइदा माओवादी केन्द्रलाई पनि भएको छ, जसकारण माओवादी मधेसमा सम्मानजनक अवस्थामा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्