वीरगञ्ज–३० को मतपरिणाम शंकास्पद भएको ४ दलको आरोप, पुनः मतगणनाको माग



नेपाल समाचारपत्र,वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका–३० मा नेपाली कांग्रेस लगायत ४ वटा दलले पुनः मतगणनाको माग राखेका छन्। नेपाली कांग्रेस, राजपा, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले उक्त वडामा पुनः मतगणनाको माग राखेका हुन्।

चारवटै दलका तर्फबाट वडाध्यक्षका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पुनः मतगणनाका लागि निवेदन दर्ता गरेका छन्।

बुधवार बेलुकी ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० नम्बर वडामा एमाले उम्मेदवार अमानत अन्सारी निर्वाचित भएको घोषणा गरेको थियो। अन्सारीले कांग्रेस उम्मेदवार अलि हुसेन देवानलाई ११ मतको अन्तरले पराजित गरेका थिए।

नेपाली कांग्रेसका तर्फबाट वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार अजय द्विवेदीले पत्रकार सम्मेलन गरेर ३० नम्बर वडामा पुनः मतगणना गर्नुपर्ने बताए। उनले बुधवार राती निर्वाचन कार्यालयका कर्मचारीहरुले नै वडाध्यक्षमा कांग्रेस उम्मेदवार ४ मतले विजयी भएको जानकारी गराएको तर मतपरिणाम घोषणा गर्दाभने एमाले उम्मेदवार विजयी भएकाले पुनः मतगणना गरिनुपर्ने बताए।

मतपरिणाम घोषणा शंकास्पद भएको भन्दै उनले एमाले सांसद र नेताहरुको दबाबमा मतपरिणाम उल्ट्याइएको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन्।

‘निर्वाचन कार्यालयकै कर्मचारीहरुले कांग्रेसका उम्मेदवार विजयी भएको सुचना दिनुभएको थियो, एमालेकै साथीहरुले पनि हाम्रा उम्मेदवारलाई बधाई दिनुभएको थियो तर आधाघण्टाको अवधिमा एमालेका सांसद र नेताहरुले निर्वाचन अधिकृतहरुलाई भेट्नुभएको रहेछ, त्यसले हामीमा शंका उत्पन्न भएको छ’, उनले भने।

द्विवेदीले आफ्नो निवेदन उपर मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने सुनुवाइलाई हेरेर थप कदम चाल्ने बताए।

प्रतिक्रिया दिनुहोस्