सुरक्षामा विशेष चासो देऊ



 

नेपालीहरुको महान् चाड दशैँ–तिहार नजिकिएसँगै विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । स्वदेशमा रहेकाहरु पनि आ–आफ्नो घरमा जाने तयारीमा छन् । अध्ययन, रोजगारीलगायत विविध कामले राजधानीसहित प्रमुख शहरहरुमा रहेका लाखौं नेपालीहरु दशैँ मान्न घर फर्कने तयारी गरेसँगै दशैँ मनाउनको लागि आर्थिक जोहो पनि गरिरहेका छन् । महान् चाड भएकाले गरिबले ऋण लिएर भए पनि दशैँ राम्रोसँग मान्ने गरेको पाइन्छ । सरकारले समेत दशैँको लागि कर्मचारीहरुलाई दशैँ भत्ता दिने गरेको छ । साथै अन्य धेरै निजी तथा गैरसरकारी संघसंस्थाले पनि आफ्ना कर्मचारीलाई दशैँ मान्नका लागि भनेर छुट्टै भत्ताको व्यवस्था गरेको पाइन्छ । यसले पनि दशैँमा आर्थिक कारोबार धेरै हुने अनुमान लगाउन सकिन्छ ।

अहिले दशैँका लागि खाद्यान्न, लत्ता कपडालगायत आवश्यक सामान किन्नेहरुको बजारमा भीड बढ्न थालिसकेको छ । नेपालीहरुको विशेष चाड भएकाले हरेका दशैँ–तिहारमा स्वास्थ्य, सुरक्षालगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु प्रायः बन्द हुने गरेको छ । जति नै सुरक्षा व्यवस्था कडा गरिएको भनिए पनि बजारमा चहलपहल बढेसँगै लुटपाटका घटनाहरु पनि बढ्न थालेका छन् । दशैँ मनाउन स्वदेश फर्किएका नेपालीहरु भारतीय सीमा नाकामा लुटिएका घटना सार्वजनिक भैरहेका छन् । साथै सार्वजनिक यातायात तथा व्यस्त बजारहरुमा लुटपाट तथा चोरीका घटनासमेत बढिरहेका छन् । खाद्यान्नलगायत लत्ताकपडा गुणस्तरहीन र महँगो हुनुका साथै यसको बिक्रीमा महँगो शुल्क असुलिरहेको गुनासोसमेत आइरहेको छ । दशैँका लागि किनमेल गर्नेहरुले नै गुणस्तरहीन तथा कम तौलका सामान खरिद–बिक्री भैरहेको बताइरहेका छन् । साथै, दशैँ लक्षित गरी ठाउँ–ठाउँमा जुवातास खेलाउने कार्यहरु भैरहेका समाचार पनि आइरहेका छन् ।

चाडबाडको शुरुवातसँगै बढेको चोरी, लुटपाट, ठगी, असुरक्षालगायतका विषयमा सम्बन्धित निकाय विशेष रणनीतिका साथ नियन्त्रणका लागि परिचालित हुनुपर्ने देखिन्छ । राजधानीका व्यस्त बजारहरुमा मात्र हैन, देशका प्रायः सबै नगर हुँदै गाउँघरसम्म नै यस्ता घटनाको न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ । सार्वजनिक यातायातभित्र हुने चोरी नियन्त्रण र सीमा नाकामा हुने लुटपाट रोक्न विशेष निगरानी बढाउनुपर्छ । यसै गरी गुणस्तरहीन सामान बिक्री वितरणमा पूर्णरुपले रोक लगाउनुपर्छ । साथै महान् चाड दशैँ नजिकिएसँगै निर्धक्कसँग किनमेल गर्न तथा हिँडडुल गर्नका लागि शान्ति सुरक्षाको अनुभूति गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्