साउदीमा वाट्सएप र स्काइपमाथिको प्रतिबन्ध हट्यो



 

रियाद, (एजेन्सी)
साउदी अरेबियाले आर्थिक वृद्धि र उत्पादकत्व उकास्ने उद्देश्यले भ्वाइस तथा भिडियो कलिंङ एप्सजस्तै वाट्सएप र स्काइपमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउने घोषणा बुधबार गरेको छ। सञ्चार मन्त्रालयले हिजैदेखि भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) प्रयोगकर्ताका लागि व्यापक रुपमा उपलब्ध गराउन थालेको छ।

नीतिनियम पालना गर्न नसकेको भन्दै विगतमा सरकारले भीओआईपलाई रोकेको थियो। रूढीवादी खाडी मुलुक साउदी अरेबियामा स्न्यापच्याट्सले अलजजिरालाई प्रतिबन्ध लगाएको केही दिनभित्रै साउदीले इन्टरनेटसम्बन्धी यो कदम चालेको हो।

साउदी अधिकारीहरुले कतारस्थित उक्त नेटवर्कलाई हानिकारक, अतिवादी र प्रोपोगान्डालाई प्रोत्साहन गर्ने च्यानलको संज्ञा दिएका छन्।

आफूमाथिका यी अभियोग अस्वीकार गर्दै अलजजिराले स्न्यापच्याट्सको यस कार्यले पत्रकारहरुको अधिकार र विश्वभरिबाट स्वतन्त्र ढंगले खबर र लेखहरु प्रसारण गर्न पाउने सञ्चार व्यवसायमा ठाडो आक्रमण भएको बताएको छ।

इरानसँग सम्बन्ध राखेर कतारले आतंकवादलाई बढावा दिएको आरोप लगाउँदै साउदीले कतारसँगको सम्पूर्ण सम्बन्ध तोड्नु केही समयअघि गत मे महिनाको उत्तरार्धमा रियादले अलजजिराको वेबसाइटको पहुँचमाथि प्रतिबन्ध लगाएको थियो।

उक्त कूटनीतिक विवादप्रति असहमति जनाउनेहरुलाई दबाउने उद्देश्यले यसै महिनाको शुरुमा साउदी सरकारले २० जनाभन्दा बढी प्रभावशाली धार्मिक व्यक्तित्व, लेखक, पत्रकार, प्राज्ञ तथा अभियन्तालाई हिरासतमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्