मेक्सिकोमा अर्को शक्तिशाली भूकम्प, कयौं घर भत्किए, कम्तीमा २ सय ५० को मृत्यु



 

मेक्सिको सिटी, (एजेन्सी)
मेक्सिकोमा मंगलबार राति आएको शक्तिशाली भूकम्पमा मारिनेको संख्या २ सय ५० पुगेको छ। ७ दशमल १ म्याग्निच्युडको उक्त भूकम्पका कारण राजधानी मेक्सिको सिटीमा सयौं भवनहरु भत्केको वा क्षतिग्रस्त भएका छन्।

भूकम्पको धक्काले एउटा स्कुल भवन भत्कँदा २१ बच्चा पुरिएर उनीहरुको मृत्यु भएको अधिकारीहरुले बताए। ११ जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ। राजधानी मेक्सिको सिटीमा मात्रै ४४ स्थानमा भवनहरु भत्केको र आगलागी भएको त्यहाँका मेयर मिगुएल मेन्सेराले बताए। लाखौं नागरिक सडकमा आएका छन्। मेक्सिकोका राष्ट्रपति एनरिक पेना निटोले सबै अस्पताल घाइतेका लागि खुला राख्न आदेश दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उक्त विपत्तीमा दुःख व्यक्त गर्दै ट्विट गरेका छन्। ‘हामी तपाईंको साथमा छौं र सँधै तपाईंको साथमा रहनेछौं।’ यसअघि सेप्टेम्बरमा पनि मेक्सिकोको दक्षिणी तटीय इलाकामा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प आएको थियो तर उक्त भूकम्पमा ठुलो क्षति हुन पुगेको थिएन्।

अमेरिकी भू–गर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ७ दशमलव १ म्याग्निच्युड भएको जनाएको छ। तर मेक्सिकोको भूकम्प मापन केन्द्रले ६ दशमलव ८ म्याग्निच्युडको भएको बताएको छ। उक्त भूकम्पको केन्द्रबिन्दु प्युब्ला प्रान्तमा चियाउतला डी तापियाबाट ७ किलोमिटर पश्चिममा रहेको जनाइएको छ।

मेक्सिकोमा ३२ वर्ष अगाडि सन् १९८५ सेप्टेम्बर १९ सोही दिन ८ म्याग्निच्युडको भूकम्प आएको थियो। उक्त भूकम्पमा १० हजारभन्दा धेरैको मृत्यु भएको थियो। दुई हप्ताअगाडि आएको अर्को शक्तिशाली भूकम्पमा ९० जनाको मृत्यु भएको थियो।

राजधानीको कयौं इलामा फोन सेवा अवरुद्ध भएको छ र करिब ४० लाख नागरिक बिनाबिजुली बस्न बाध्य भएका छन्।

मंगलबार आएको भूकम्पले मोरलास स्टेट, मेक्सिको सिटी, प्युबला स्टेट, स्टेट अफ मेक्सिको र गरेरो स्टेटलाई धेरै प्रभावित पारेको जनाइएको छ। भूकम्पले कयौं घर तथा भवनहरु भत्केको र कमजोर भएको जनाइएको छ। ती घरहरु कुनै पनि बेला भत्किन सक्ने अधिकारीहरुले बताए।

अधिकारीहरुले नागरिकलाई घरको जाँच पछि मात्र बस्नका लागि आह्वान गरेको छ। ग्यासको पाइपहरुबाट चुहावट भएको हुनसक्नेमा जनतालाई सतर्क रहन सुझाव दिइएको छ। प्रभावित क्षेत्रहरुमा राहत कार्य शुरु गरिसकेको छ। राजधानीका सबै भवनलाई खालि गरिएको छ।

मेक्सिकोको अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ भने क्षतिको आँकलन गरिरहेको छ। मेक्सिकोका ५२ वर्षीय एक महिलाले बताइन्– ‘म अत्यन्त डराएकी छु। म आँसु रोक्न सकिरहेको छुइनँ। यो सन् १९८५ को भयानक रातजस्तै थियो।’

भूकम्पबाट मोरलोस स्टेटमा ५५ जना र राजधानी मक्सिको सिटीमा १ सय १७ जनाका मृत्यु भइसकेको सञ्चार माध्यमले जनाएको छ। प्युबला स्टेटमा ३२, स्टेट अफ मेक्सिकोमा १० र गुरेरो स्टेटमा ४ जनाको मृत्यु भएको अधिकारीरुले पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्