मूर्ति बनाउन व्यस्त छन् बराल



 

ईश्वरराज ढकाल, काठमाडौं
धातुको मूर्ति बनाउन थालेको २४ वर्ष भयो। अहिले पनि उहाँ नवदुर्गाको मूर्ति बनाउन व्यस्त हुनुहुन्छ। आजबाट शुरु हुने यो वर्षको दशैंको अघिल्लो दिन उहाँलाई भ्याइनभ्याई छ।

धेरै अर्डर आएको छ, मूर्ति बनाउन भ्याएकै छैन, कहिले पूरा गर्ने थाहै छैन। दशैंको मुखैमा मूर्ति बनाउने भीडले गर्दा मूर्तिकार विष्णु बराललाई तनाव भएको छ। ‘अर्डर आएअनुसार मूर्ति तयार गरिरहेको छु
ललितपुरको प्रयागपोखरीस्थित कारखानामा मूर्ति बनारहनुभएका उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यो दशैंमा करिब २ सयको हाराहारीमा दुर्गाको मूर्ति तयार गरियो होला।’

विशेष गरी नेपालका प्रख्यात नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिह, गिरिजाप्रसाद कोइराला, लखन थापालगायत दर्जनौं नेताको पूर्ण र अर्ध कदको सालिक बनाएर चर्चा कमाइसक्नुभएका बराल अहिले देवीदेवताका मूर्ति बनाउन
व्यस्त हुनुहुन्छ।

पुराना ग्राहकले मूर्ति बनाउन आग्रह गर्छन् नबनाउँ कसरी ? आफूले तयार गरेको दुर्गाको मूर्ति देखाउँदै भन्नुहुन्छ दशैंपछि केही हलुका होला।

उहाँले बनाएको दुर्गाको मूर्ति मनकामनामा राख्ने तयारी भएको छ। आज बिहीबार सतुंगलमा रहेको विध्यवासिनी मन्दिरमा उहाँले निर्माण गरेको साढे ४ फिटको मूर्तिको प्राण प्रतिष्ठासहित पूजा गरिँदै छ। उहाँले नै बनाएको दुर्गाको सिंहवाहिनी मूर्ति सुनसरीको चतराधाममा राखिएको छ।

गत वर्ष बेलायतमा रहेका नेपालीले उहाँले नै निमार्ण गर्नुभएको मूर्ति त्यहाँको एक मन्दिरमा स्थापना गरेका थिए। मनकामनामा नवदुर्गाको नौवटा मूर्ति स्थापना गर्ने तयारी गरी मूर्ति लगिएको छ। उहाँले साढे ४ फिटदेखि एक फिटसम्मको मूर्तिलाई साढे ४ लाखदेखि ३ हजारसम्म लिने गर्नुभएको छ। ‘मैले धेरै रकम लिएर मूर्ति निर्माण गर्ने भन्दा पनि नामका लागि काम गरिरहेको छु –समाजसेवा र धार्मिक कार्यक्रमप्रति बढी चाख लिने बरालले भन्नुभयो।

उहाँले हालसम्म करिब १ हजारवटा दुर्गाको मूर्ति तयार गरिसक्नुभएको छ। नेपालबाट मात्रै नभइ विदेशमा रहेका नेपालीले समेत देवीको मूर्ति बनाउन अर्डर दिने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘नेदरल्याण्ड, भारत, क्यानडा, अमेरिकालगायतका मुलुकका नेपालीले देवी, पाञ्चायनलगायतका मूर्ति लैजाने गरेका छन्।

मूर्ति मात्रै होइन सालिक बनाउनेहरूको पनि भीड लाग्ने गरेको बताउँदै उहाँले यसअघि गोरखा दरबारमा पृथ्वीनारायण, बिपीको ९ वटा, लखन थापा, सोलुखुम्बुमा शहीदको, मुस्ताङ, इलाम, झापालगायतका स्थानमा स्थापना गरेको शालिक निर्माण गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्