पहिलो मतपरिणाम राजपाको पक्षमा, मधेसवादीसँग प्रतिस्पर्धा गर्दै प्रमुख दल



 

सुनील महर्जन, काठमाडौं
प्रदेश नम्बर २ का अधिकांश स्थानीय तहमा प्रमुख राजनीतिक दलको प्रतिस्पर्धा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग भइरहेको छ।

बुधबार रातिसम्मको मतगणनाअनुसार कांग्रेस, एमाले र माओवादीको राजपा र फोरमबीच कडा प्रतिस्पर्धा भइरहेको छ। प्रमुख राजनीतिक दललाई पछि पार्दै राजपाले अग्रता लिएसँगै पहिलो मतपरिणाम पनि सो पार्टीको पक्षमा आएको थियो।

धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा राजपाका उम्मेदवार विजयी भएका हुन्। मेयरमा रामज्ञान मण्डल र उपमेयरमा रेणु झा विजयी हुनुभएको छ। मेयर मण्डलले ३ हजार ३ सय २० र उपमेयर झाले ३ हजार २ सय ७६ मत पाएको निर्वाचन अधिकृत जीवनाथ पोखरेलले जानकारी दिनुभयो।

मण्डलका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवारले ३ हजार २ सय १९ मत पाउनुभएको थियो। २१ हजार मतदाता रहेको यो नगरपालिकामा १५ हजार ८ सय ४९ मत खसेको थियो।

त्यसैगरी सिरहाको कल्याणपुरमा कांग्रेसलाई पछि पार्दै राजपाले अग्रता लिएको छ। प्राप्त मतपरिणामअनुसार कल्याणपुरको ४ वटा वडाको मतगणना सकिँदा तीनवटा वडामा राजपाले प्यानलसहित विजय हात पारेको छ। एउटामा भने नेपाली कांग्रेस विजयी भएको छ।

राजपाका मेयर उम्मेदवार रामबाबु यादवले २ हजार ७ सय ४६ मत प्राप्त गर्नुभएको छ। कांग्रेसका उम्मेदवार सूर्यनाथ मण्डलले २ हजार ५ सय ९० मत पाउनुभएको छ। यसअघि प्रारम्भिक गणनामा सूर्यनाथ मण्डलले अग्रता लिनुभएको थियो।

एमाले भने कल्याणपुरमा कमजोर देखिएको छ। एमालेका उम्मेदवार रामपुकार साह तेलीले ८ सय ३१ मत ल्याउनुभएको छ। मतगणना शुक्रबारसम्म लम्बिने सम्भावना रहेको निर्वाचन अधिकृत दीर्घराज उपाध्यायले बताउनुभयो।
त्यसैगरी जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले झन्डै ३ हजारको अग्रता लिएको छ। दोस्रो स्थानमा रहेको कांग्रेस निकै पछि परेको छ। प्राप्त पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ४ हजार ७ सय ७९ मत पाउनुभएको छ। उनलाई पछइइरहेका कांग्रेसका मनोज साहले १ हजार ८ सय ५६ मत पाउनुभएको छ।

उपमेयरमा पनि राजपाका रीता झाको अग्रता यथावत् छ। उहाँलाई कांग्रेस उम्मेदवारले पछइइरहेका छन्। जनकपुर ३ को वडाध्यक्षमा राजपाका जितेन्द्र साह विजयी हुनुभएको छ।

प्रदेश नम्बर २ का तीनमध्ये एक उपमहानगर बाराको कलैयामा संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिएका छन्। मतगणनाको शुरुआती चरणमा अग्रता लिएको फोरमका उम्मेदवार प्रमोदप्रसाद गुप्ताबीचमा एमालेका उम्मेदवार विनोद साहसँग पछि पर्नुभएको छ। प्राप्त जानकारीअनुसार गुप्ताले करिब २ सय मतको अग्रता लिनुभएको छ।

 

उहाँले अहिलेसम्म १ हजार ६ सय ६४ मत पाउनुभएको छ भने साहले १ हजार ४९३ मत पाउनुभएको छ। त्यस्तै नेपाली कांग्रेसका राजेश राय यादव १ हजार १० मतका साथ तेस्रो स्थानमा रहनुभएको छ।
त्यस्तै उपमेयरमा पनि फोरमकी उम्मेदवार लक्ष्मीदेवी पटेल १ हजार ३ सय ५२ मतसहित अग्रस्थानमा हुनुहुन्छ। १ हजार २ सय ४६ मतसहित एमालेका प्रतिमा यादव दोस्रो र ९ सय ३५ मतसहित कांग्रेसकी रहिमा खातुन तेस्रो स्थानमा हुनुहुन्छ।

त्यस्तै धनुषाका १८ वटै स्थानीय तहको मतगणनामध्ये १३ मध्ये ४ स्थानमा संघीय समाजवादी अग्रता लिइरहेको छ। अहिलेसम्म प्रारम्भिक नतिजा सार्वजनिक कमला, क्षिरेश्वरनाथ नगरपालिका, हंसपुर नगरपालिकाको मेयर र जनकनन्दीनी गाउँपालिकाको अध्यक्षमामा फोरमले अग्रता लिइरहेको हो। माओवादी केन्द्र र नेपाली कांग्रेसले तीन नगरपालिकामा अग्रता लिइरहेको छ। गणेशमान चारनाथ, विदेह र सबैला नगरपालिकामा माओवादी केन्द्रका मेयर उम्मेदवारले अग्रता लिएका हुन्।
कांग्रेसले धनुषाधाम, बटेश्वर र मिथिला बिहारी नगरपालिकामा अग्रता लिइरहेको छ। राजपाले जनकपुर उपमहानगरपालिका र धनौजी गाउँपालिकामा अग्रता लिइरहेको छ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा राजपा उम्मेदवारले १ सय ४५ मतसहित अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार ७२ मतसहित दोस्रो स्थानमा छन्। एमालेले मिथिला नगरपालिकामा अग्रता लिइरहेको छ।

सप्तरीको खड्ग नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। तीन वडाको २ हजार ३ सय २९ मत गणना हुँदा मेयरमा कांग्रेस उम्मेदवारले ५ सय ७६ मत पाउनुभएको छ। मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलका अनुसार राजपा उम्मेदवार ३ सय ७२ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने ३ सय २९ मतका साथ एमाले उम्मेदवार तेस्रो स्थानमा छन्।

त्यसैगरी पर्साको सखुवा प्रसौनी गाउँपालिका अध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका निरराज गिरीले ४ सय ३० मतका साथ अग्रता लिनुभएको हो। उहाँलाई पछ्याउँदै संघीय समाजवादी नेपालका प्रदिपकुमार जैशवालले ४ सय १९ मत ल्याउनुभएको छ।

उपाध्यक्षमा भने एमालेकै केदारकुमारी विश्वकर्माले ४ सय ९९ मत ल्याएर अग्रता लिनुभएको छ। उहाँलाई पछ्याउँदै फुलमती कुमारी थरुइनले ३ सय ९५ मत ल्याउनुभएको छ। बाराको जीतपुर सीमरामा कडा प्रतिस्पर्धा देखिएको छ। सार्वजनिक भएको पछिल्लो पहिलो ३ सय मत गन्दा ३ पार्टीको मात्रै मत आएको छ।

उहाँका अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान १⁄१ सय मत प्राप्त गरेका छन्। यही मत उपप्रमुखमा पनि आएको छ। त्यस्तै, तेस्रो हुने पार्टी माओवादीले ९६ मत प्राप्त गरेको छ। योसँगै पहिलो ३ सय मत गन्दा अन्य सबै पार्टीको मत शून्य आएको छ।

त्यसै गरी रौतहटको गरूडा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका शेख कल्ला मुल्ली २ सय १७ मतका साथ अगाडि रहनुभएको छ। उहाँलाई कांग्रेसका सुनीलकुमार यादवले पछ्याइरहनुभएको छ। यादवको १ सय ७ मत छ। माओवादी केन्द्रका सुरेन्द्रकुमार जैसवालले ६३ मत पाउनुभएको छ।

निर्वाचन अधिकृत नविनकुमार जोशीले उपमेयरमा भने संघीय फोरमकी उम्मेदवार अगाडि रहेको जानकारी दिनुभयो। फोरमकी बिन्दुकुमारी यादव ७१ मतका साथ अगाडि रहनुभएको छ। जोशीले आजै चार ठाउँमा मतगणना गरेर छिटोभन्दा छिटो मतगणना सक्ने तयारी भइरहेको बताउनुभयो। गरुडामा १९ हजार ६ सयभन्दा धेरै मत खसेको छ।

मतगणना जारी रहेका १ सय ३४ स्थानीय तहमा शान्तिपूर्णरूपमा मतगणना कार्य सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा बुधबार ९ बजेसम्म प्राप्त विवरणअनुसार, हालसम्म २ सय ४९ वडाको मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार, सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ।

मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्नका लागि विभिन्न मतगणनास्थलमा निर्वाचन अधिकृतले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको छ। एकाध ठाउँमा मतगणना अवरुद्ध भएकोमा मतगणना कार्य सुचारु गर्नका लागि सर्वदलीय सहमतिको प्रयास भइरहेको जानकारीसमेत आयोगलाई प्राप्त भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्