क्यान्सरपीडितका लागि सहयोग संकलन



 

दीपेन्द्र शर्मा, जाजरकोट
प्राण घातक रोगबाट पीडित बालिकाको उपचारका लागि जाजरकोटमा सहयोग संकलन शुरू भएको छ। जिल्लाको कुशे गाउँपालिका–७ नारे जाजरकोटकी १४ वर्षीया एलिना हमालको उपचारका लागि विभिन्न व्यक्तिले सहयोग संकलन गर्न थालेका छन्।

घरमा भएको सम्पतीले नपुग्दा उपचारमा समस्या भएपछि विभिन्न व्यक्तिले पीडित बालिकाको उपचारका लागि सहयोग संकलन शुरू गरेका हुन्। घरको आर्थिक अवस्था निकै कमजोर भएकी हमाललाई उपचारमा समस्या भएको छ। बालिकाको बाबुको गाउँमा सामान्य कृषि खेतीकिसानबाहेक अन्य कुनै स्रोत नै छैन।

घरमा भएको सबै सम्पती एलिनाको उपचारमा सकिँदा परिवारलाई दैनिक छाक टार्न पनि कठिन भएको बालिकाका बाबु दीपक हमालले बताए। ‘छोरीको उपचारमा घरको सबै सम्पती सकियो, मसँग अहिले १ रुपियाँ पनि छैन, आर्थिक अभावमा छोरीको औषधि उपचार गर्ने कुरा निकै कठिन भएको छ, छोरीको उपचार कसरी गरौं’ –उनले भने। छोरीको उपचारमा संलग्न डाक्टरका अनुसार रोग पूर्ण रूपमा निको पार्न २ वर्ष लाग्छ, निको नहुन्जेल २ वर्षसम्म नियमित उपचार गराइरहनुपर्ने उनले बताए। छोरीको उपचारमा १२ देखि १६ लाखसम्म खर्च लाग्न सक्ने उपचारमा संलग्न डाक्टरले बताएका छन्।

बालिकाका बाबु दीपक हमालले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेपछि जाजरकोटमा सहयोग गर्न थालेका छन्। पीडित बालिकालाई सहयोग गर्न अभियान सञ्चालन गरेका समाजसेवी प्रविन नेपाली तथा खम्बबहादुर सिंहको विशेष पहलमा जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले १० हजार, कुशे गाउँपालिका–८ निवासी पहल कार्यक्रम जाजरकोटका कार्यक्रम संयोजक महेन्द्र शाही ५ हजार, छेडागाड नगरपालिका–११ जाजरकोटका राजेन्द्रबहादुर सिंह २ हजार, वीरेन्द्रनगर–११ सुर्खेतका सरु केसी १ हजार ५०, भेरी नगरपालिका–३ जाजरकोटका राजकुमार शाहले १ हजार सहयोग गरेको बालिकाका बाबु दीपक हमालले जानकारी दिएका छन्। एलिनाको उपचारमा सहयोग गर्न थुप्रैले इच्छा देखाएको र सहयोगी हातहरू बढिरहेको दीपक हमालले बताए।

एलिनालाई उपचारमा सहयोग गर्न उनको नाममा सिटिजन्स बैंक इन्टरनेसलमा रहेको बचत खाता नं. ०२१००००१८६ एमयूमा पनि जम्मा गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्