गाँजा फँडानीलाई निरन्तरता दिँदै प्रहरी



 

नेपाल समाचारपत्र
गुल्मी
जिल्ला प्रहरी कार्यालय गुल्मीले शुरू गरेको गाँजा फँडानी गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ। सदरमुकामबाट शुरू भएको अभियान गाउँसम्म पुगेको छ। प्रहरीले केही दिनअघि सदरमुकामका बाख्रेछेडा, उदिनढुंगा र बसपार्क, वेदुखर्क गरेर ७ क्विन्टल गाँजा नष्ट गरेको थियो। सिमीचौरबाट ८ क्विन्टल गाँजा फँडानी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय गुलमीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाको नेतृत्वमा गएको प्रहरी र इलाका प्रहरी कार्यालय जोहाङको सक्रियतामा सत्यवती गाउँपालिका ७ जुनियाँमा पनि ८ क्विन्टल गाँजा फँडानी गरेका छन्। सोही स्थानको चोरकाटेमा २ क्विन्टल गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ। व्यक्तिकै बारीमा हुर्काइएका गाँजाका बोट काटिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

अहिलेसम्म केही सार्वजनिक स्थल र व्यक्तिले आफ्नो बारीको डिलमा हुर्काएका २५ क्विन्टल गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए। जिल्लामा लागूऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि प्रहरी अभियान सञ्चालन गरेको उपरीक्षक द्विवेदीको भनाइ छ।

प्रहरी टोलीले अनुगमन तथा सूचना संकलन गरिरहेको छ। मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाइरहेकाले विस्तारै सबै स्थानमा सबैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी प्रमुख द्विवेदीले बताए।

गाउँमा पशुचौपाय बिरामी हुँदा गाँजा खुवाउँदा ठीक हुने भएकाले गाँजाको बोट हुर्काएको स्थानीय बताउँछन्। तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले काट्नुपर्ने प्रहरीले जनाएको छ।

जिल्लामा व्यवसायिक रूपले गाँजा खेती नगरिएको भए पनि हरेक घरधुरीमा गाँजाका बोट रहेको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा स्थानीयले अचारको दाउन बनाउन, औषधि बनाउन, तथा शिवरात्रिमा प्रसाद बनाउन गाँजाको प्रयोग गर्ने गर्दछन्।

अहिले जिल्ला प्रहरी कार्यालय विभिन्न सृजनात्मक क्रियाकलापमा सक्रिय देखिएको छ। केही दिनअघि छत्रकोट गाउँपालिकामा पनि नागरिक सुनुवाइ गरेको थियो। ट्राफिक व्यावस्थापनमा पनि कडाइ गरिरहेको छ। प्रहरीले चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्थालाई पनि कडाइ पार्नुका साथै विशेष सुरक्षा योजना अपनाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्