नेकपाद्वारा भूमिगत शैलीमा प्रशिक्षण



 

विष्णुप्रसाद भण्डारी, अछाम
पछिल्लो केही समय यता अछामलगायत सुदूरपश्चिमका विभिन्न स्थानमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भूमिगत शैलीमा प्रशिक्षण सञ्चालन गरिरहेको पाइएको छ। सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई निगरानीमा राखिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले अछामलगायत विभिन्न स्थानमा भूमिगत शैलीमा कार्यकर्तालाई प्रशिक्षण गराइरहेको छ।

यस क्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अछामको मंगलसेन नगरपालिका वडा नं. १ कुन्तिवण्डालीमा एकीकृत सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाकै विकट मंगलसेन नगरपालिका वडा नं. १ कुन्तिवण्डालीस्थित भट्टेको लेकमा रहेको जंगल क्षेत्रमा आफूहरूले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला इन्चार्ज शेरबहादुर विकले जानकारी दिनुभएको छ। तपाईंले सदरमुकामभन्दा बाहिर, विकट ठाउँमा, त्यो पनि जंगल क्षेत्रमा किन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुभयो, के सुरक्षाका खतरका कारणले हो ? भन्ने प्रश्नमा उहाँले जनतासँग नजिक हुनका लागि मात्र आफूहरूले त्यहाँ प्रशिक्षण सञ्चालन गरेको बताउनुभयो।

नेपाल कम्युनिस्ट पार्टीद्वारा देशव्यापी रूपमा सञ्चालित राजनैतिक, बैचारिक कार्यक्रमअन्तर्गत असोज १ गतेदेखि मंगलसेन नगरपालिका–१ कुन्तिवण्डालीमा सञ्चालित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला सेक्रेटरी केबी बडुवालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्वसभासद् डबलबहादुर शाह रहनुभएको थियो। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला इन्चार्ज शेरबहादुर विकसहित जिल्ला कमिटी सदस्यहरू, जिल्ला सल्लाहकार सदस्यहरू, जनवर्गीय संगठन मोर्चाका प्रमुखलगायतको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीलाई विषयगत विज्ञहरूद्वारा प्रशिक्षण दिइएको थियो।

नेपाल कम्युनिस्ट पार्टीको एकीकृत सैद्धान्तिक प्रशिक्षण कार्यक्रमअन्तर्गत नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोको आयोजनामा प्रशिक्षण सञ्चालन गरिएको नेपाल कम्युनिस्ट पार्टी अछामका जिल्ला कमिटी सदस्य निरक शाहीले जानकारी दिनुभयो।

साथै सोही क्रममा मंगलसेन नगरपालिका–१ को कुन्तिवण्डाली निवासी स्थानीय दिलु थापाको निर्माणाधीन घर निर्माण कार्यमा सहयोगार्थ एकदिने जनश्रम पनि गरिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्