उपेक्षित सुदूरपश्चिमको पर्यटन



 

हेमन्त जोशी
र्यटकीय हिसाबले सुदूरपश्चिम जति सुन्दर र सम्भावना बोकेको छ त्योभन्दा बढी उपेक्षित र गुमनाम छ। नेपालको पर्यटनसम्बद्ध जे जति विषय र क्षेत्रहरू, बहस र प्रकाशमा आएका छन् तीभन्दा अझै महत्त्व राख्ने क्षेत्र र विषय ओझेलमा परेका छन्। पर्यटनको व्यापक सम्भावना भएको ७ नम्बर प्रदेशले आज पनि पर्यटकीय गन्तव्यका रुपमा पहिचान पाउन सकेको छैन।

नयाँ सम्भावना र गन्तव्य सहज रुपमा आइपुग्दैन। आध्यात्मिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक दृश्यावलोकन, पदमार्गलगायतका पर्यटनका लागि सम्भावनाको अध्ययन नै न्यून मात्रामा भएको छ। गत वर्ष २०७३ लाई नेपाल सरकारले आन्तरिक घुमफिर वर्षका रूपमा मनायो। तर नेपाल पर्यटन बोर्डको वर्षभरिको तथ्यांक हेर्दा सुदूरपश्चिममा नै सबैभन्दा कम मात्रामा आन्तरिक पर्यटक घुमफिरमा गएको भेट्न सकिन्छ। बाह्य पर्यटकको संख्या पनि १ वर्षमा झन्डै ५ सयको हाराहारीमा मात्रै छ।

नेपालका हरेक गाउँबस्ती, परम्परा र संस्कृतिसँग पर्यटकीय सामथ्र्य छ। विविध भौगोलिक बनावट, असमान उचाइ तथा अलग–अलग धरातलीय स्वरुप भएको सुदूरपश्चिमको हावापानीमा निकै विविधता पाइन्छ। कृषि उत्पादन, मानवनिर्मित विभिन्न संरचना र जैविक विविधताले पनि सुदूरपश्चिमको पर्यटनलाई थप अर्थपूर्ण बनाएको छ। हिन्दु धर्मका विभिन्न शक्तिपीठ, धाम र मन्दिरका धार्मिक पर्यटनको बृहत्तर गन्तव्य हुन्। बडीमालीका, वैधनाथ, शैलेश्वरी, सुर्मासरोवर, मालिकार्जुनजस्ता धर्मिक स्थलले न्यून प्रचार–प्रसार कै कारण पर्यटक पाउन सकेका छैनन्।

चैनपुर–ताक्लाकोट सडकखण्ड हाल निर्माणको चरणमा रहेको छ। उक्त सडकखण्डले पूर्णता पाउनसके तिब्बत र भारतसँगको व्यापारलाई जोड्ने अपेक्षा गरिएको छ। कैलाश मानसरोवर जान नेपालबाट सबैभन्दा छोटो मार्गका रुपमा पनि उक्त सडकखण्डलाई हेरिएको छ। चीनसँगको नाका उराई भन्ज्याङ र दक्षिणी छिमेकीमुलुक भारतसँगका बनावासा, गडचौकी, गौरिफन्टालगायतका नाका निर्वाध रुपमा सञ्चालन गर्न सके सुदूरको व्यापार प्रवद्र्धनमा पनि सकारात्मक वातावरण सिर्जना हुने व्यापारी बताउँछन्।

सम्भावना अनगिन्ती भए पनि सुदूरमा पर्यटकीय सेवा सुविधा थोरै मात्र उपलब्ध छन्। धेरैजसो पर्यटकीय स्थलमा उचित व्यवस्थापनको अभावमा रहेको र पर्यटनको विकास हुन नसक्नुमा उपर्युक्त पूर्वाधारको अभाव, जनचेतनाको कमी, पर्यटन सूचनाको अभाव, स्तरयुक्त आवास तथा खानपिन सुविधाको कमी र जनशक्तिको अभाव रहेको पर्यटन अभियन्ता किशोर खड्का बताउनुहुन्छ । पदमार्ग र प्राकृतिक दृश्यावलोकनका लागि अपी र सैपाल हिमाल क्षेत्र, खप्तड, सुर्मादेवी क्षेत्र र बडीमालीकामा टुर प्याकेज बनाउन सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अभियन्ता खड्काको बुझाइ छ।

खप्तड राष्ट्रिय निकुञ्जलाई सुदूरपश्चिमको पर्यटन क्षेत्रका मुटुका रुपमा हेरिने गरेको छ। तर पनि उक्त क्षेत्रमा जाने विदेशी पर्यटकको संख्या नगण्य छ। ठूला– ठूला घाँसे मैदान र पदयात्राका लागि पहिचान भएका विभिन्न रुट त्यो क्षेत्रमा पर्दछन्। धार्मिक पर्यटनका लागि पनि उत्तिकै प्रसिद्ध खप्तड क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक केही मात्रामा बढ्न थालेका छन्। पदमार्गका दृष्टिले समेत महत्त्वपूर्ण स्थलका रुपमा रहेको खप्तड क्षेत्र डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको संगमस्थल हो। समुद्री सतहबाट करिब ३ हजार २ सय मिटर उचाइमा रहेको निकुञ्जमा ४६ प्रजातिका जीवजन्तु, २ सय ८७ प्रजातिका चरा, र ५ सय ६७ प्रजातिका वनस्पति पाइन्छन्।

धर्तीको स्वर्गसमेत भनिने खप्तडमा २२ वटा समथर पाटन छन् भने वर्षायाममा ती पाटनमा रंगीबिरंगी फूलले पर्यटकलाई फरक अनुभूति गराउँछ। प्रसिद्ध अध्यात्मिक व्यक्तित्व खप्तडबाबाको आश्रम, नजिकै देखिने हिमाली दृश्यले खप्तडको यात्रालाई यादगार र रोमाञ्चक बनाउँछ। यस अर्थमा खप्तड राष्ट्रिय निकुञ्ज र सोक्षेत्र आध्यात्मिक, धार्मिक, जैविक र प्राकृतिक सम्पदाको बेजोड थलो हो।

अछाम जिल्लामा रहेको रामारोसन क्षेत्र पनि प्राकृतिक र जैविक हिसाबले अति नै रमणीय क्षेत्र हो। बाह्र बण्ड र अठार खण्ड अर्थात् बाह्र वटा ताल र अठार वटा समथर पाटन रहेको रामारोसन क्षेत्रमा तराई क्षेत्रमा पाइने मयूरदेखि हिमाली क्षेत्रमा पाइने डाँफेसम्म पाइन्छ। समथर भागभन्दा केही माथि उठेका पहाडी थुम्का र चैत–वैशाखमा फूल्ने लालीगुराँसले आफ्नो सौन्दर्यता पर्यटन बजारमा छर्न सकेका छैनन्। प्राकृतिक रुपमा भूस्वर्ग रहँदारहँदै पनि रामारोसनलाई राज्यका तर्फबाट पर्यटकीय क्षेत्रको रुपमा प्रवद्र्धन गरिएको १ दशक पनि भएको छैन।

खप्तड राष्ट्रिय निकुञ्जभित्र होटल स्थापनाका लागि निजी क्षेत्रले बारम्बार पहल गरे पनि निकुञ्जले बफर जोनमा मात्र होटल सञ्चालनका लागि अनुमति दिने भनिरहेको छ। जबकी खप्तडबाट नजिकको बफर जोन पुग्न कम्तिमा पनि एक दिन लाग्छ। पर्यटक १ दिन हिडेर बास बस्न फर्किनुपर्ने अवस्थाले पनि खप्तड क्षेत्रमा पर्यटकले दुःख पाउने गरेका छन्।

देशभरिका सबै राष्ट्रिय निकुञ्जलाई एउटै दर्जामा राखेर निर्माण गरिएको नीति निर्देशिकाले पूर्वाधार निर्माणमा पनि समस्या देखिएको व्यवसायीको गुनासो छ। हरेक निकुञ्जको भौगालिक बनावट फरक भएका कारण समानखालको नीतिले सबैलाई समेट्न नसक्ने र छुट्टै नीति आवश्यक रहने उनीहरूको भनाइ छ।

सांस्कृतिक दृष्टिले पनि सुदूरको संस्कृतिको आफ्नै पहिचान छ। अधिकांश भागमा बोलिने सिंजाली खस भाषाको प्राज्ञिक र वैज्ञानिक ढंगले अध्ययन अनुसन्धान हुन सकेको छैन। सुदूरपश्चिम क्षेत्रको देउडा संस्कृतिले राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गरिसकेको छ भने यस अर्थमा पनि सांस्कृतिक पर्यटनको सम्भावना रहन्छ। माघी, गौरा, बिशु र चैतेदशैंजस्ता चाडले त्यो क्षेत्रमा पृथक पहिचान दिएका छन् भने देउडा, भुवो, छलिया र थारू नाच, ठाडीभाका, मागल, फागुजस्ता गीतसंगीत एवं मौलिक भेषभूषा र जीवनशैलीले पनि कम मात्रामा मात्र पहिचान पाएका छन्।

बैतडी जिल्लामै रहेको त्रिपुरासुन्दरी मन्दिर सुदूरपश्चिमको प्रसिद्ध देवीपीठ हो। बूढी घटालाको नामलेसमेत पुकारिने त्रिपुरासुन्दरीलाई स्वउत्पत्ती भएकी देवीको रूपमा आराधना गर्ने गरिन्छ। दार्चुला जिल्लामा रहेको मालिकार्जुन मन्दिर छिमेकी मुलुक भारत तथा नेपालका तीर्थयात्रीका लगि विशेष महत्त्वको क्षेत्र रहँदै आएको छ। १६औं शताब्दीमा स्थापना भएको मालिकार्जुन जनविश्वासअनुसार भारतको कत्युरबाट हाल मन्दिर भएको स्थलमा आएका हुन्।

बाजुरा जिल्लामा अवस्थित बडीमालिका मन्दिरमा जनैपूर्णिमाका दिन लाग्ने मेला नेपालका प्रसिद्ध मेलामध्ये एक हो। सामुन्द्रिक सतहबाट ४ हजार २ सय १९ मिटरको उचाइमा अवस्थित बडीमालिका मन्दिर क्षेत्र प्राकृतिक दृश्यावलोकनका दृष्टिले समेत रमणीय छ। २२ वटा पाटन, विभिन्न फूल र हिमाली दृश्यका कारण बडीमालिका मन्दिरक्षेत्र धार्मिक आस्था र प्राकृतिक दृश्यावलोकनका संगमका रुपमा रहेको छ।

अछाम जिल्लामा रहेको वैधनाथ धाम नेपालका ४ धाममध्येको एक हो। बूढीगंगा नदी किनारमा अवस्थित वैधनाथधाम मन्दिरमा हिन्दु सनातन धर्म संस्कृति सम्बद्ध अध्ययन—अनुसन्धानको केन्द्र पनि रहेको छ। डोटीको शैलेश्वरी मन्दिर समग्र नेपालकै प्रसिद्ध मातृपीठ हो। जनश्रुतिअनुसार भगवान् शिव र पार्वती आफ्नो विवाहपश्चात् हाल मन्दिर रहेको चन्द्रागिरि पर्वतमा बसेको र अन्य देवी देवता शिव पार्वतीलाई खोजी गर्दै आउँदा देवतालाई देखेर पार्वती लज्जास्वरूप शिला बनेको हुनाले यस मन्दिरलाई शिलादेवी अर्थात् शैलेश्वरी भन्न थालिएको हो। विभिन्न धार्मिक अनुष्ठानमा मेला लाग्ने यस मन्दिरमा आन्तरिक पर्यटक जाने गरे पनि बाह्य पर्यटक निकै कम जाने गरेका छन्।

नेपालमा रहेका प्रमुख बली दिइने मन्दिरमध्ये निङलाशैनी, डडेल्धुरा जिल्लामा रहेको उग्रतारा, बझाङको सूर्मादेवी मन्दिर र खप्तड राष्ट्रिय निकुञ्जमा रहेको खापरदेव मन्दिर धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण स्थान हुन्।

प्राचीन तथा पौराणिक मन्दिर वा देवालयले मात्र होइन पछिल्लो समय निर्माण गरिएका विभिन्न धार्मिक धरोहरले पनि सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका छन्। कैलाली जिल्लाको धनगढीमा निर्माण गरिएको शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिंगधाम पछिल्लो समय धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको छ। यहाँ निर्माण गरिएको १ सय ८ मिटर अग्लो शिवलिंग नेपालकै सबैभन्दा अग्लो शिवलिंग हो।

धार्मिक रूपले मात्र होइन प्राकृतिक वस्तुस्थितिका आधारमा पनि सुदूरपश्चिम दर्शनीय छ। बैतडी जिल्लामा रहेको पाताल भूमेश्वर गुफा ८ सय मिटरभन्दा लामो छ। रोमाञ्चक पाताल भूमेश्वर गुफासँग विभिन्न पौराणिक कथा जोडिएका छन्। द्वापरयुगमा स्वर्ग जान हिँडेका पाण्डव यही गुफामा आएर बास बसेको किंवदन्ती छ।

नेपालको ऐतिहासिक कालखण्डसँग सम्बन्ध राख्ने विभिन्न ऐतिहासिक, गढी र किल्ला पनि गुमनाम जस्तै छन्। डडेलधुरा जिल्लामा रहेको अमरगढी किल्ला नेपालराज्य एकीकरणसँग महत्त्व राख्ने ऐतिहासिक सम्पदा हो। तत्कालीन बडाकाजी अमरसिंह थापाले विक्रम संवत् १८४७ मा स्थापना गराएको अमरगढी किल्ला विक्रम संवत् १८७३ मा भएको नेपाल–अंग्रेज युद्धमा पनि सक्षम सामरिक महत्त्वको किल्ला थियो। पछिल्लो समय सर्वसाधारणका लागि पनि किल्ला अवलोकन गर्ने व्यवस्था मिलाएपछि यो किल्ला पर्यटकीय आकर्षणको केन्द्र बनिरहेको छ।

सुदूरपश्चिमाञ्चलमा रहेका ताल, तलैया र नदीले पर्यटन प्रबद्र्धनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका छन्। कैलाली जिल्लामा रहेको घोडाघोडी ताल सुदूरपश्चिमकै आकर्षक धरोहर हो। विश्वमै लोपोन्मुख १० प्रकारका पंक्षी पाइने घोडाघोडी ताल क्षेत्रमा २ सय २६ प्रजातिका चरा र ५६ प्रकारका जलपंक्षी बसोबास गर्ने विभिन्न अध्यनले देखाएका छन्। कैलालीमा रहेको घोडाघोडी तालसँगै बझाङ जिल्लामा रहेको सुर्मासरोवर तथा अछाम जिल्लास्थित रामारोसन क्षेत्रमा रहेका १२ वटा तालले सुदूरपश्चिम तालतलैयाका दृष्टिले समेत समृद्ध रहेको स्पष्ट पार्छ। त्यसै गरी कर्णाली नदीस्थित नेपालको एक ठाउँमा मात्र पाइने डल्फिनको बासस्थान पनि सुदूरपश्चिममै पर्दछ।

बझाङ जिल्लाको सदरमुकाम चैनपुरबाट छिमेकीमुलुक चीनसँग सीमाना जोडिएको उराई पाससम्मको पदमार्ग तथा खप्तड र रामारोसन पदमार्गले सुदूरपश्चिमको पर्यटनलाई थप सशक्त बनाएका छन्। कैलालीस्थित धनगढीमा रहेको एयरक्राफ्ट म्युजियम पर्यटकका लागि आकर्षणको केन्द्र बनिरहेको छ भने कैलाली टीकापुरमा रहेको टीकापुर पार्क झन्डै ४ दशकदेखि नै पर्यटकीय चहलपलको क्षेत्रमा परिचित छ। कञ्चनपुरमा रहेको राष्ट्रिय शुक्लाफाँटा वन्यजन्तु आरक्ष भर्खरै निकुञ्जमा परिणत भएपछि यसले थप पर्यटन प्रवद्र्धन गर्ने विश्वास गर्न सकिन्छ।

धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय एअरपोर्टका रूपमा तयार पारिनुपर्ने, भारतसँग जोड्न पक्की पुल र नाका तत्काल सुचारू गरिनुपर्ने साथै पर्यटन सम्बद्ध लगानीमा राज्यले सहुलियत दिनुपर्ने माग स्थानीय पर्यटन व्यवसायी तथा अभियान्ताको भनाइ रहेको छ।

व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्छौं

 

 

 

 

दीपकराज जोशी
प्रमुख कार्यकारी अधिकृत,
नेपाल पर्यटन बोर्ड

कुनै पनि पर्यटकीय गन्तव्य आजको भोलि बन्दैनन्। हामीकहाँ स्थापित गन्तव्य पनि एकै पटक स्थापित भएको होइनन्। ५०⁄६० वर्षको इतिहास छ यहाँसम्म आइपुग्नलाई। हिजो भएको थिएन तर अहिले विस्तारै सुधार भइरहेको छ। पर्यटन क्षेत्र राज्यले मात्र गरिदिएर वा सरकारी निकायले गरिदिएनभन्दा पनि निजी क्षेत्रका व्यवसायीले नेतृत्त्व लिएर काम गर्दा बढी सम्भावना भएको क्षेत्र हो। नेपालको पर्यटन क्षेत्र नै निजी क्षेत्रले नेतृत्त्व गरेको छ। सरकारी निकायले गर्ने भनेको त्यस्ता क्षेत्रमा प्रवद्र्धनका कार्यक्रम गर्ने हो।

पछिल्लो समय पर्यटनको परिभाषा पनि बद्लिएको छ। हामीले विदेशीलाई मात्र पर्यटक मान्दै आएकोमा पछिल्लो समय जो घुम्न निस्कन्छ र जसले खर्च गर्छ त्यही पर्यटक हो भन्ने परिभाषा बनेको छ।

सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना छ र हामीले विगत डेढ वर्षदेखि त्यो क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई र स्थानीय व्यवसायीलाई समन्वयकारी भूमिका खेलिरहेका छौं। सम्पदाको सम्भाव्यता पनि त्यत्तिकै छ। त्यो क्षेत्रबाट नजिकको बजार भनेको भारत पनि हो। त्यो बजारसँग जोड्ने काम पनि हामी गर्दैछौं। भारतका विभिन्न शहरसँग जोड्न अघिल्लो वर्ष मात्र हामीले त्यो क्षेत्रका व्यवसायी र भारतीय व्यवसायीसँग छलफल गरेका थियौं।

पर्यटन प्रवद्र्धन र त्यसलाई व्यवसायका रूपमा बुझाइ उदयमान गन्तव्यका रुपमा स्थापना गर्न स्थानीय सक्रियताको खाँचो छ। सुदूरपश्चिममा त्यो बुझाइ अझ कम छ। अर्को भनेको लगानी गर्न प्रचूर सम्भावना भए पनि व्यवसायी आकर्षित हुन सकेका छैनन्। स्थानीय निजी क्षेत्रलाई पर्यटकीय क्षेत्रको उजागर गर्ने, बाहिरको निजी क्षेत्रले लगानी गर्ने र राज्यले त्यसको प्रवद्र्धन एवं नीति निर्माणका क्षेत्रमा सहयोग गर्ने हो। हिजो के भएन र कसले गरेन भन्नुभन्दा अब कसरी गर्न सकिन्छ र कसले गर्न सक्छ भनेर हामीले बहस गर्यौ भने नतिजा सकारात्मक निस्किन्छ। अहिले हामीले गर्न सकिने भनेको व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्ने हो। सुदूरका गन्तव्यको प्रवद्र्धनका लागि भनेर हामीले त्यहाँ जान चाहाने पर्यटकका लागि केही शुल्क कम लिने गरेका छौं।

पछिल्लो समयमा केही सुधार पनि भएको छ। पर्यटकीय क्षेत्रलाई नजिकको बजारसँग जोड्ने र लगानीको वातावरण सिर्जना गर्न हामीले नै पहल गरिरहेका छौं। खप्तड राष्ट्रिय निकुञ्जको हकमा खप्तड पर्यटन विकास समिति छ। समितिले नै नीतिगत रूपमा पर्यटन प्रवद्र्धन र विकास हेर्ने गर्छ। सामान्यतया राष्ट्रिय निकुञ्जभित्र आवास, यातायातलगायत निर्माणलाई त्यति धेरै प्रोत्साहन गरिदैंन। त्यस्तो समस्या प्रायजसो सबै राष्ट्रिय निकुञ्जमा रहेको छ।

हामी आ–आफ्नो क्षेत्रबाट के कति योगदान गर्न सक्छौं भन्ने कुरा बढी महत्त्वपूर्ण हो। राज्यले गरिदिएन र हामी पिछडियौं भन्नुभन्दा आफ्नो तर्फबाट के गर्न सकिन्छ र अरूबाट हामीले के खोज्ने भन्नेकुरा प्रस्ट भएर हिँड्यौ भने त्यसले चाँडो नतिजा दिन्छ।

नाका खुलाउन सरकारले पहल गर्नुपर्छ

किशोर खड्का
पर्यटन अभियन्ता

स्थानीय र त्यहाँका निर्वाचित जनप्रतिनिधिले पनि पर्यटन एउटा व्यवसाय हो र यसबाट आयआर्जन गर्न सकिन्छ भनेर बुझेका छैनन्। व्यवसायको रुपमा स्थापित हुन नसक्दा सुदूरको पर्यटन उपेक्षामा परेको हो। स्थानीय स्तरमा पनि समुदायलाई पर्यटनमैत्री बनाउन आवश्यक छ।

पर्यटन व्यवसाय हो र पर्यटनमार्फत् पनि जनजीविका चलाउन सकिन्छ भनेर पनि मानिसलाई बुझाउनु पर्ने अवस्था छ। पछिल्लो समय केही बुझेका र व्यवसायी यस क्षेत्रमा लागिरहेका छन्। तर त्यो निकै कम हो।

सरकारले नै पर्यटन प्रवद्र्धनका लागि सकारात्मक व्यवहार गर्न सकेको छैन। उदाहरणका लागि खप्तडमा अहिले आन्तरिक र धार्मिक पर्यटन जान चाहन्छन्। तर त्यहाँ गएर फर्किसकेका मान्छेले अरुलाई पनि जाऊँ भनेर भन्न सक्दैनन्। किनभने त्यहाँ होटल, आवासलगायतका पूर्वाधार स्थापना हुन सकेको छैन। र पर्यटनमैत्री वातावरण बन्न सकेको छैन। राम्रो गाइड, पोर्टरलगायत खान बस्नका लागि पनि उचित वातावरण बन्न नसक्दा पर्यटक निराश बन्नुपर्ने अवस्था छ। राष्ट्रिय निकुञ्जले बफर जोनमा मात्र होटल सञ्चालनका लागि अनुमति दिन्छ। जबकि खप्तडमा पर्यटकीय गन्तव्यबाट नजिकको बफर जोन पुग्न कम्तिमा पनि एक दिन लाग्छ। पर्यटक एक दिन हिडेर बास बस्न त पक्कै पनि आउँदैनन्। सबै राष्ट्रिय निकुञ्जलाई एउटै दर्जामा राखेर नीति निर्माण भएको छ। जबकि हरेक निकुञ्जको भौगालिक बनावट फरक छ। यो पाटोमा सरकारी नीति बाधकजस्तै बनेको छ।

काठमाडौंलाई केन्द्र मानेर हामीले सुदूरपश्चिमको पर्यटनलाई हेर्दा भौगोलिक रुपमा पक्कै पनि टाढा छ। त्यसकारण बाह्य पर्यटक भित्त्याउनका लागि धनगढी विमानस्थल अन्तर्राष्ट्रियस्तरको विमानस्थल हुन जरुरी छ। अर्को भनेको सुदूरपश्चिममा उत्तर–दक्षिण दुवैतर्फका नाका सुचारू गर्न सकिएको छैन। यी नाका खुलाउन सरकारले पहल गर्नैपर्छ र नाका खुलेपछि स्थानीयस्तरको मात्र होइन केन्द्रको लगानी पनि त्यहाँ जान्छ।

हाम्रो पहल के पनि हो भने भारतीय तथा युरोपियन मुलुकका पर्यटक दिल्लीबाट धनगढी विमानस्थलमार्फत् सुदूरपश्चिमका पर्यटकीय क्षेत्रमा जान सक्ने वातावरण सिर्जना गर्नु जरुरी छ। धनगढीदेखि दिल्लीसम्म जम्मा ४ सय ४० किलोमिटर छ भने काठमाडौंबाट धनगढीसम्मको दूरी झन्डै ७ सय किलोमिटर छ। हामीलाई त्यो रुटमा अप्ठेरोको रुपमा के रहेको छ भने गडाचौकी नाकामा स्थायी प्रकृतिको आवागमन छैन। उक्त नाकामा पुल पनि आवश्यक छ। पुल र विमानस्थल दुवै बनिसक्दा धनगढीमार्फत् अन्य जिल्लाको गन्तव्य तय गर्न सकिन्छ। साँफेबगर र बैतडीको विमानस्थल पनि पिच हुने क्रममा छ। स्थलमार्गले सबै जिल्ला सदरमुकामसम्म जोडिसकेको छ। हवाइमार्गबाट पनि जोड्दा गन्तव्यसम्म पुग्न थप सजिलो हुन्छ।

सुदूरको पर्यटन उपेक्षित कसरी पनि भएको हो भने ट्राभल एजेन्सीले पर्यटनको क्षेत्रमा नाम कमाइसकेका र स्थापित भइसकेका ठाँउमा मात्र पर्यटकलाई पठाउँछन्। जबकि खप्तड राष्ट्रिय निकुञ्ज, रामारोसन, अपि साइपाल बेस क्याम्प, बडीमालीकालगायत दूरदराजका स्थानमा वास्तविक पर्यटकीय सम्भाव्यताको अध्ययन पनि कम भएको छ। हामीले बेलाबेलामा सो क्षेत्रका पर्यटकीय स्थलको वृत्तचित्र, फोटो प्रदर्शनीलगायतका प्रवद्र्धनात्मक काम गरिरहेका छौं र त्यो गर्न आवश्यक पनि छ।

प्रतिक्रिया दिनुहोस्