राप्रपा अध्यक्ष थापा मकवानपुर–१ बाट लड्दै !



हेटौंडा,(नेस) । राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाले आफू मकवानपुर क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्ने सम्भावना रहेको दोहो¥याएका छन् ।
राप्रपा मकवानपुरले बुधबार हेटौंडामा गरेको विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले केन्द्रीय कमिटीले आवश्यक ठाने आफू मकवानपुरको क्षेत्र नम्बर–१ बाट प्रत्यक्षमा निर्वाचन लड्ने बताएका हुन् । उनले भने– यस विषयमा पार्टीबाट निर्णय हुन बाँकी छ ।

अध्यक्ष थापाले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार हालसम्मको सबभन्दा भ्रष्ट सरकार भएको दबी गरे । देउवाले दिनदिनै मन्त्री थपेर लज्जास्पद काम गरेको भन्दै थापाले सरकार औचित्यहीन रहेको बताए ।

अध्यक्ष थापाले निर्वाचनको समयमा मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिता विपरीत रहेको बताए । निर्वाचन आयोगले समेत मन्त्रिपरिषद् विस्तार नगर्न गरेको आग्रहलाई प्रधानमन्त्रीले उलंघन गरेको थापाले बताए । मन्त्रिपरिषद् विस्तार गर्नु वर्तमान समयमा गैरजिम्मेवार काम भएको उनको भनाइ छ ।
नेपालको न्याय प्रणालीमाथि प्रश्न गर्दै थापाले आफूहरुले दायर गरेको रिटको हालसम्म सुनुवाइ नहुनु शंकास्पद भएको भन्दै रोष व्यक्त गरे । राप्रपा फुटका विषयमा अदालतले गरेको निर्णय राम्रो नभएको उनले बताए । राप्रपा विभाजन कानुनसम्मत् नभएको अध्यक्ष थापाको दाबी छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य विरोध खतिवडा, माओबादी केन्द्र मकवानपुर इञ्चार्ज कुमारी मोक्तान, राप्रपा केन्द्रीय सदस्यहरु दीपकबहादुर सिंह र मधु अधिकारी, विभिन्न राजनीतिक दल, संघसंस्था प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । राप्रपा मकवानपुर अध्यक्ष तथा सांसद् गणेश थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

दुई पटकको चुनाबमा समानुपातिक कोटाबाट संसद्मा सहभागिता जनाएका थापाले मंसिरमा हुने संसदीय निर्वाचनमा मकवानपुर–१ बाट चुनाब लड्ने मानसकिता बनाएका छन् । केही समयअघि विर्तामोडमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मकवानपुर–१ बाट प्रत्यक्ष चुनाब लड्ने घोषणा गरेपछि मकवानपुरको राजनीतिमा तरंग आएको छ ।
मकवानपुरे राजनीतिमा थापा क्षेत्र नम्बर–१ बाट दुई पटक पराजित भए तर, एक पटक विजयी बने । २०५१ सालको संसदीय चुनाबमा मकवानपुर–१ बाट थापा विजयी भएका थिए । २०६२÷०६३ को जनआन्दोलनमा निकै नकारात्मक छवि निर्माण गरेका थापालाई राजनीतिमा ‘कमब्याक’ गर्न १० वर्ष लागेन । २०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमार्फत् उनको पार्टी चौथो शक्तिका रुपमा उदाएको थियो । थापा तिनै पात्र थिए, जसले २०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनमा आफ्नो उम्मेदवारीको प्रचारसमेत गर्न पाएका थिएनन् ।
राजनीतिक परिवर्तन संस्थागत गर्न मूलधारका राजनीतिक दलहरु एकपछि अर्को प्रकरणमा चुक्दै गएको अवस्थामा धर्म राजनीतिको वैकल्पिक एजेण्डा थापाले उठाए । दोस्रो संविधानसभामा धर्मलाई मूल आधार बनाएर चुनाबमा होमिएका उनलाई सफलता हात लाग्यो ।
राजनीतिक व्यवस्था बदलिए पनि पुरानो व्यवस्थाका पक्षधर नेताको पुनरोदयलाई राजनीतिको विशिष्ट अवस्थाका रुपमा हेरिएको छ । २०३६ सालमा सशक्त भएको विद्यार्थी आन्दोलनलाई दबाउन तत्कालीन राजाको इच्छाअनुसार पञ्चायतले गठन गरेको स्वतन्त्र राष्ट्रिय विद्यार्थी मण्डलका अध्यक्ष भएर विद्यार्थी आन्दोलन दबाउने नेतृत्व गरेका थापा प्रायः शक्तिमा छन् ।

विद्यार्थी मण्डलका नेता थापा २०४२ सालसम्म विद्यार्थी आन्दोलन दबाउन काम गरे पनि २०५१ सालमा आइपुग्दा बहुदलीय सरकारका मन्त्री बने । २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा गठन गरेको सरकारका गृहमन्त्री थापा २०६२÷०६३ को आन्दोलनका समय गृहमन्त्री थिए । काठमाडौं र मकवानपुर दुई स्थानबाट चुनाब लडेका उनले चुनाव प्रचारसमेत गर्नसक्ने अवस्था बनेको थिएन ।

प्रतिक्रिया दिनुहोस्