सुदूरपश्चिममा विप्लव समूहको भुमिगत प्रशिक्षण, के हुँदै छ त्यहाँ ? (प्रशिक्षणको फोटो सहित)



बिष्णुप्रसाद भण्डारी, अछाम
पछिल्लो केही समय यता अछाम लगायत सुदूरपश्चिमका बिभिन्न स्थानमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भुमिगत शैलीमा प्रशिक्षण सञ्चालन गरिरहेको पाईएको छ । सरकारले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निगरानीमा राखिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीले अछाम लगायत बिभिन्न स्थानमा भुमिगत शैलीमा कार्यकर्तालाई प्रशिक्षण गराईरहेको छ ।
यस क्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अछामको मंगलसेन नगरपालिका वडा नं. १ कुन्तिबण्डालीमा एकिकृत सैद्धान्तिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाकै बिकट मंगलसेन नगरपालिका वडा नं. १ कुन्तिबण्डाली स्थित भट्टेको लेकमा रहेको जंगल क्षेत्रमा आफुहरुले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेपाल कम्युनिष्ट पार्टी अछामका जिल्ला ईन्चार्ज शेरबहादुर बिकले जानकारी दिनुभएको छ ।

तपाईले सदरमुकाम भन्दा बाहिर, बिकट ठाउँमा, त्यो पनि जंगल क्षेत्रमा किन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुभयो, के सुरक्षाका खतरका कारणले हो ? भन्ने हाम्रो प्रश्नमा उहाँले जनतासंग नजिक हुनका लागि मात्र आफुहरुले त्यहाँ प्रशिक्षण सञ्चालन गरेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीद्धारा देशव्यापि रुपमा सञ्चालित राजनैतिक, बैचारिक कार्यक्रम अन्तरगत असोज १ गतेदेखि मंगलसेन नगरपालिका वडा नं. १ कुन्तिबण्डालीमा सञ्चालित प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी अछामका जिल्ला सेक्रेटरी केबी बडुवालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी पूर्व सभासद डबलबहादर शाह रहनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी अछामका जिल्ला ईन्चार्ज शेरबहादुर बिक सहित जिल्ला कमिटी सदस्यहरु, जिल्ला सल्लाहकार सदस्यहरु, जनबर्गिय संगठन मोर्चाका प्रमुखहरु लगायतको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीलाई बिषयगत बिज्ञहरुद्धारा प्रशिक्षण दिईएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको एकिकृत सैद्धान्तिक प्रशिक्षण कार्यक्रम अन्तरग नेपाल कम्युनिष्ट पार्टी सेति व्युरोको आयोजनामा प्रशिक्षण सञ्चालन गरिएको नेपाल कम्युनिष्ट पार्टी अछामका जिल्ला कमिटी सदस्य निरक शाहीले जानकारी दिनुभयो । साथै सोही क्रममा मंगलसेन नगरपालिका वडा नं. १ को कुन्ति बण्डाली निवासी स्थानीय दिलु थापाको निर्माणधिन घर निर्माण कार्यमा सहयोगार्थ एक दिने जनश्रम पनि गरिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्