तिब्र रुपमा गाँजा फडानी गर्दै गुल्मी प्रहरी



अनिल खत्री,गुल्मी ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले सुरु गरेको गाँजा फडानी गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । सदरमुकामबाट शुरु भएको अभियान गाउँ सम्म पुगेको छ ।

प्रहरीले केहि दिनअघि सदरमुकामका बाख्रेछेडा, उदिनढुङ्गा र बसपार्क, बेदुखर्क गरेर सम्म सात क्विन्टल गाँजा नष्ट गरेको थियो । सिमीचौरबाट ८ क्विन्टल गाँजा फडानी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुलमीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाको नेतृत्वमा गएको प्रहरी र इलाका प्रहरी कार्यालय जोहाङको सक्रियतामा सत्यवति गाउँपालिका ७ जुनियाँमा पनि ८ क्विइन्टल गाँजा फडानी गरेका छन् । सोहि स्थानको चोरकाटेमा २ क्विन्टल गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ । व्यक्तिकै बारीमा हुर्काइएका गाँजाका बोट काटिएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

अहिलेसम्म केहि सार्वजनिक स्थल र व्यक्तिले आफ्नो बारीको डिलमा हुर्काएका २५ क्विन्टल गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुराग द्धिबेदीले जानकारी दिए । जिल्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि प्रहरी अभियान संचालन गरेको उपरिक्षक द्धिबेदीको भनाई छ ।
प्रहरी टोलीले अनुगमन तथा सुचना संकलन गरिरहेको छ । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी प्रमुख द्धिबेदीले बताए ।

गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काएको स्थानीय बताउँछन् । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका वोट राख्नु र हुर्काउनु अवैध भएकाले काट्नुपर्ने प्रहरीले जनाएको छ ।
जिल्लामा व्यवसायीक रुपले गाँजा खेती नगरिएको भएपनि हरेक घरधुरीमा गाँजाका बोटहरु रहेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रमा स्थानीयले अचारको दाउन बनाउन, औषधी बनाउन, तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् ।

अहिले जिल्ला प्रहरी कार्यालय विभिन्न सृजनात्मक क्रियाकलापमा सक्रिय देखिएको छ । केहि दिन अघि जिल्लाको छत्रकोट गाउँपालिका गाउँपालिकामा पनि नागरिक सुनुवाई गरेको थियो । ट्राफिक व्यावस्थापनमा पनि कडाई गरिरहेको छ ।

प्रहरीले चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्थालाई पनि कढाई पार्नुका साथै बिशेष सुरक्षा योजना अपनाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्