सप्तरीमा मतपेटिकाबाटै ३१ भोट गायब, कर्मचारीले लुकाएको उम्मेदवारको आरोप



नेपाल समाचारपत्र, सप्तरी
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गत वडा नम्बर ८ को भोट गन्दै जाँदा खसेको भन्दा ३१ भोट कम भेटिएको छ । उक्त वडाका २ वटा मतदान केन्द्रमा गरी कुल १४ सय ४१ भोट खसेकोमा गणना गर्दा १४ सय १० मतको मात्र भएको छ ।

सो वडामा संघीय समाजवादी फोरम नेपालका वडाध्यषका उम्मेदवार सत्यनारायण यादवले मतगणनामा संलग्न कर्मचारीले ३१ मत लुकाएको आरोप लगाएका छन् ।

वडामा राजपाका लक्ष्मीप्रसाद मण्डललाई विजयी घोषणा गरिएको छ । मण्डल १९ मत अन्तरले विजयी घोषणा भएका हुन् । ‘१९ मतको फरक छ, ३१ मतपत्र हराएको छ, यादवले भने, ुकर्मचारीले जानाजान मतपत्र लुकाएका छन् ।’ फोरम उम्मेदवारले भने ।

यादवका अनुसार मतगणना कार्यमा संलग्न कर्मचारी राम सिंह राजपा नेपालका तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका सतिषकुमार सिंहको नजिकको व्यक्ति भएका कारण कर्मचारी रामसिंहले नै मतपत्र लुकाएको यादवले आरोप लगाएका छन् । । उनले सो कुरा पटकपटक आग्रह गर्दा पनि निर्वाचन अधिकृतले नसुनेको बताए ।

तिलाठी कोईलाडी गाउँपालिकाका निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले मतपेटिकामा भेटिएको मत गनेको बताए । उनले ३१ मत कहाँ गयो भन्ने कुरा आफूले बताउन नसक्ने बताएएका छन्। उनले ८ नम्बर वडाको गणनापछि विवादमा तानिएका कर्मचारी राम सिंहलाई गणना प्रक्रियाबाट निकालिएको बताए । सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले सिंहलाई गणनाबाट निकालेको पुष्टि गरे ।

तिलाठी कोईलाडी वडा नम्बर ८ का फोरम नेपालका उम्मेदवार सत्यनारायण यादवले वडामा पुनर्मतदानको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्