“जति नाकाबन्दी थपिन्छ उति नै आणविक कार्यक्रम चर्किन्छ”



 

सोल, (एजेन्सी)
उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षण गरेको भन्दै आफूमाथि जति नयाँ नाकाबन्दी थपिन्छ त्यसले झनै आफ्नो आणविक कार्यक्रमलाई तीव्र पार्ने मंगलबार जनाएको छ। कडा शब्दमा लेखिएको एक विज्ञप्तिमा प्योङयाङले हालै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले आफूमाथि लगाएका नाकाबन्दीलाई अत्यन्तै निर्मम, अनैतिक, अमानवीय कार्य र शत्रुतापूर्ण रहेको भन्दै आलोचना गरेको छ।

यसैबीच संयुक्त राज्य अमेरिका र चीनका राष्ट्रपतिले संयुक्त राष्ट्र संघको प्रस्तावनाअनुसार अधिकतम दबाब दिने जनाएका छन्। यसअघि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास गरेका थिए। शुक्रबार उत्तर कोरियाले जापानको भूभागमाथिबाट पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको थियो।
यस क्षेप्यास्त्रले ३ हजार ७ सय किमि दूरी तय गर्न सफल भएको थियो। यसले उत्तरको अमेरिकाको प्रशान्त क्षेत्रमा रहेको गुआममाथि आक्रमण गर्ने धम्कीलाई साकार पार्न सक्ने संकेत दिएको छ।

सुरक्षा परिषद्को पछिल्लो नाकाबन्दीको उद्देश्य उत्तर कोरियाको आणविक कार्यक्रमका लागि आवश्यक इन्धन र आर्थिक स्रोत कटौती गर्नु रहेको छ। पहिले नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उत्तर आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको खण्डमा कडा सैनिक कारबाहीसमेत हुन सक्ने चेतावनी दिइसकेका छन्।
यसैबीच रसिया र चीनल कोरियाली प्रायद्विपको पूर्वी भागमा संयुक्त नौसैनिक अभ्यास शुरु गरेका छन्। तर सो अभ्यासको यस क्षेत्रको वर्तमान तनवसँग सरकोर छ वा छैन भन्ने स्पष्ट हुन सकेको छैन।
उत्तर कोरियाको पछिल्लो छेप्यास्त्रको परीक्षणको कारण निकै आाक्रोशित हुन पुगेको अमेरिकाले अब उत्तर कोरियाको विवादास्पद आणविक कार्यक्रम नियन्त्रण गर्ने जिम्मेवारी रसिया र चीनको रहेको जनाएको थियो।

तर त्यसको प्रत्युत्तरमा चिनले प्योङयाङको समस्यामा सम्बन्धित सबै पक्षले जिम्मा लिनुपर्ने तथा नाकाबन्दीभन्दा कूटनीतिक वार्ताको पहल गरी यसको शान्तिपूर्ण समाधान खोजिनुपर्ने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्