तेक्वान्दो खेलाडी पराजित



खेलपछि नीमा गुरुङ र वीरबहादुर महरा । तस्वीरः नेस

 

फिरोज राजोपाध्याय
अस्गाबात, तुर्कमेनिस्तान

अस्गाबातमा जारी पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा नेपाली खेलाडीका लागि तेस्रो दिन पनि सुखद रहेन।

मंगलबार आशा गरिएको नेपाली तेक्वान्दोको महिलातर्फ नीमा गुरुङ र पुरुषतर्फ वीरबहादुर महरा पहिलो चरणबाटै पराजित भएका छन्। तेक्वान्दो डान्स स्पोर्ट एरेनामा भएको महिला ५३ केजीतर्फ नीमा इरानकी नाहिद कियानिचानडेहसँग नराम्रोसँग हारिन्। नीमा तीन चरणमै निरिह साबित भइन्। उनी २२–२ को फराकिलो अंकको अन्तर हुँदै अन्तिम १६ बाटै बाहिरिइन्।

२१ वर्षीया नीमाले सेन्सर प्याडमा नेपालमा खेल्न नपाएकाले यहाँ (अस्गाबात) हारेको नेपाल समाचारपत्रलाई प्रतिक्रिया दिइन्। नीमाले भनिन्– ‘म सम्हालिन सकिनँ। मुख्य कारण नेपालमा सेन्सर प्याडमा हामीले अभ्यास गरेका थिएनौं। यहाँ अलिकति अभ्यास गरे। तर यसको कुनै अर्थ रहेन।’

वीरबहादुरले भने पुरुष ६३ केजीमा उत्कृष्ट पुनरागमन गरेका थिए। उनले पहिलो चरणको दुई मिनेट त्यतिकै बिना अंक जोडेर गुमाए। उनी ताजिकिस्तानका डाब्लाटमुरोड कारिमोभसँग पहिलो चरणमा ८–० को अंकमा पछि परेका थिए। तर दोस्रो चरणमा भने वीरले विपक्षी खेलाडीलाई कडा चुनौती दिएका थिए। उनले ६–१ ले जित्दै ९–६ को अंकमा खुम्च्याए। तर तेस्रो तथा अन्तिम चरणमा ६–६ अंकको बराबरी खेलेपछि उनी १५–१२ को झिनो अन्तरले पराजित भएका हुन्।

२२ वर्षीय वीरबहादुरले पनि त्यही समस्यालाई दोहोर्याए। उनले भने– ‘हाम्रो सेन्सर प्याडमा खेल्ने बानी छैन। नेपालमा यो उपलब्ध छैन। बाहिर सेन्सर प्याडमै खेल्नुपर्ने हुन्छ। मैले आफ्नो क्षमता देखाए तर ब्याड लक भयो। सायद पहिलो चरणमा धेरै अंक गुमाउनु हारको कारण बन्यो।’

बास्केटबलमा पनि सकेन नेपाल ३ गुणा ३ बास्केटबलमा पनि पराजित भयो। समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेलमा अग्रता लिएर पनि उज्बेकिस्तानसँग १८–१६ अंकले खेल गुमाएको थियो। त्यस्तै दोस्रो खेलमा किर्गिस्तानले नेपाललाई १९–१५ अंकको अन्तरले हराएको थियो। यससँगै नेपालको अस्गाबातमा तीन खेलमा चुनौती समाप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्