नेदरल्यान्ड जनसंख्याभन्दा साइकल बढी भएको देश



पुष्करलाल श्रेष्ठ

संसारमा समुद्रमुनि चरा उड्ने देश कुन हो ? स्कुलमा पढ्दा भूगोलका शिक्षकले विद्यार्थीलाई प्रायः सोधिरहने प्रश्न हो यो ? बच्चाको अविकसित दिमागले सोच्दा समुद्रमुनि पनि चरा उड्न सक्छ र ? भन्ने लागिरहन्थ्यो। शिक्षकले राम्रोसँग बुझाएपछि मात्र थाहा पाइयो– नेदरल्यान्ड भन्ने देशको ५० प्रतिशतभन्दा बढी भूमि समुद्री सतहभन्दा पनि तल रहेछ। शायद यही भएर होला, नेदरल्यान्डलाई पानीले नबगाओस् भनी समुद्रको चारैतिर नहरै–नहरले घेरेको। विश्वमै सबैभन्दा बढी सीधा हवाई सम्पर्क भएको सिफोल विमानस्थल समुद्री सतहभन्दा साढे चार मिटर तल छ। यो विमानस्थलबाट संसारमै सबैभन्दा बढी सातामा ४ हजार ६ सय ३३ वटा विमानले संसारभरका शहरमा सीधा उडान भर्ने गर्छन्।

हतारमा भएकाले पहिलो पटक नेदरल्यान्ड पुग्दा राम्रोसँग घुम्न पाएको थिइनँ। त्यसैले यो पटकको युरोप भ्रमणमा नेदरल्यान्डलाई मात्र १८ दिन छुट्याएको थिएँ। भतिजी निकी श्रेष्ठ उतै अध्ययन गरिरहेकी र ज्यादै मिल्ने भाइजस्तै साथी दुर्गा मोक्तान पनि उतै आउने भएकाले सँगै रमाइलोसँग घुम्ने हिसाबले यति धेरै दिन नेदरल्यान्डका लागि छुट्याएको थिएँ। तर विशेष कारणले काठमाडौंबाट मोक्तान भाइ ढिलो पुग्ने खबर आएपछि भतिजीसँग उतैबाट फ्रान्स, बेल्जियम र लक्जेम्बर्ग घुम्न गइयो।

तर पनि भतिजी निकी, उनका मामा आशिष राजभण्डारी, माइजू सृष्टि श्रेष्ठ र निकीको उतै बस्ने साथी म्याक्स इम्तियाजको सहयोग मिलेकाले नेदरल्यान्डमा समेत १० दिन आरामले घुम्ने अवसर पाइयो। लामो समयदेखि नेदरल्यान्डको सानो सुन्दर शहर लिडेन बसिरहेका पुराना मित्र बालगोपाल श्रेष्ठ र उहाँकी श्रीमती शुभलक्ष्मी श्रेष्ठसँगको भेटले पनि यसपटकको नेदरल्यान्ड यात्रालाई स्मरणीय बनाउन सहयोग पुगेको थियो। नेदरल्यान्ड पुग्नुअघि नै युरोपका १० वटाभन्दा बढी देश घुमिसकेकाले हामी थकित भइसकेका थियौं। त्यसमाथि मेरो घुँडाको पुरानो समस्या बल्झेपछि हिँड्डुल गर्नै अप्ठइरो भइरहेको थियो। तर भतिजी निकीको विशेष स्याहार पाएका कारणले हामीलाई नेदरल्यान्डबाट पनि युरोपका थप चारवटा देश घुमेर फर्कन सम्भव बनायो।

यो लेखमा भने नेदरल्यान्डको मात्र चर्चा गर्न खोजेको छुँ। नेदरल्यान्डलाई साइकलको देश भनेर पनि चिनिन्छ। सुन्दा पनि आश्चर्य लाग्छ, नेदरल्यान्डमा झन्डै १ करोड ८० लाख साइकल गुड्ने गर्छन्। जब कि यहाँको जनसंख्या १ करोड ७१ लाखभन्दा बढी छैन। यसरी हेर्दा नेदरल्यान्डलाई जनसंख्याभन्दा बढी साइकल भएको देश भन्न सकिन्छ। साइकलका लागि मात्र यो देशमा ३५ हजार किलोमिटर बाटो छुट्याइएको छ। दुईवटा साइकल नभएका त कुनै घर नै हुँदा रहेनछन् यहाँ। सवारीका अन्य साधनहरूलाई भन्दा साइकललाई पहिलो प्राथमिकतामा राखिएकाले होला सार्वजनिक यातायातको सुविधा भएर पनि यहाँका ५७ प्रतिशत नागरिक साइकलमै सवार हुन रुचाउँछन्। साइकलका लागि छुट्टै लेन, छुट्टै ट्राफिक लाइट, साइकल चालकले अनिवार्य हेलमेट लगाउनुपर्ने, हरेक साइकलमा अनिवार्य बत्ती गरिएको रहेछ। कम ध्वनि प्रदूषण, स्वस्थ वातावरण, राम्रो व्यायाम र ठूलो दुर्घटना नहुने भएकाले सुरक्षित यात्राका लागि अधिकांश डचहरूले साइकललाई नै पहिलो प्राथमिकता दिने गरेको पाइयो। नेपालमा जस्तो मोटरसाइकल र गाडीको कोलाहल नहुने भएकाले दैनिक लाखौं साइकल गुडे पनि नेदरल्यान्डका शहरहरू शान्त देखिन्छन्। यहाँका शहरहरूमा बिछ्याइएका साइकलहरूको लेन देख्ने जो–कोहीले पनि नेदरल्यान्डलाई साइकल मैत्री देश भनेर दाबी गर्न सक्छन्।

पार्किङका लागि ४ महिनाअगावै दरखास्त हाल्नुपर्ने र आफ्नो गाडी पार्किङ गर्ने ठाउँ निश्चित भएको कागजी प्रमाण दिएपछि मात्र गाडी खरिद गर्न सकिने रहेछ यहाँ। तर साइकलका लागि भने यहाँ हजारौं ठाउँ पार्किङका लागि छुट्याइएको छ। नेदरल्यान्डको राजधानी एम्सटर्डमको सेन्ट्रल स्टेसनमा मात्र ८ हजार २ सयवटा साइकल पार्क गर्ने सुविधा छ। एम्सटर्डम संसारकै सबैभन्दा राम्रो साइकलमैत्री शहरको लगातार पुरस्कार जितिरहने शहर पनि हो। नेदरल्यान्ड सरकारले राजधानी एम्सटर्डमका लागि मात्र ३८ हजारवटा साइकल पार्किङ स्थलका लागि ९० मिलियन युरो खर्च गरिसकेको छ भन्दा जो–कोहीलाई पत्याउन गाह्रै पर्छ।

साइकल यात्रीका लागि लामो र छोटो दूरीको लेन पहिचान गर्न सजिलो होस् भनी लेनको रंग नै अलग किसिमले पोतिएको छ। जस्तो– सेतो भुइँमा रातो रंगले पोतिएको छ भने त्यो लेन छोटो दूरीको हो भनी बुभ्mनुपर्दछ। राजधानी एम्सटर्डमका बासिन्दाले मात्र एक दिनमा च्ढने साइकल यात्रा जोड्दा दिनमा २० लाख किलोमिटर साइकल गुड्ने गर्छ भन्ने सुन्दा अचम्मै लाग्छ। नेदरल्यान्डमा गुड्ने प्रायः साइकलहरू तीन गेयरका हुन्छन्। अलि असजिलो बाटोमा माउन्टेन बाइक गुडेको देखिन्छ भने धेरै कुदाउन मिल्ने बाटोका लागि पातलो टायरवाला साइकलहरू प्रयोग गर्न मन पराउने रहेछन्। एम्सटर्डमको क्यानलबाट मात्र वर्षमा १२ देखि १५ सयवटा फालिएका साइकलहरू निकालिने गरिँदोरहेछ।

तपाईंलाई यो कुरा सुन्दा अचम्म लाग्छ होला, यो देशमा वर्षको ३ लाखवटा साइकल चोरी हुने गर्दछ। चोरबाट आफ्नो साइकल चोरी हुन नदिन साइकल पार्क गर्दा सिक्रीले बाँधेर राखे पनि चोरका अगाडि केही नलाग्ने रहेछ। पाँच ग्रामसम्म खुल्लंखुला गाँजा बोकेर हिँड्न पाइने यो देशमा धेरैजसो चोर गँजडीहरू नै हुने रहेछन्। कतिपय अवस्थामा आफ्नै चोरिएको साइकल पनि चोरहरूबाट २०–३० युरो तिरेर किन्नुपर्ने हँुदो रहेछ।

छोटो दूरीको साइकल प्रयोग गर्ने मामिलामा विश्वकै पहिलो नम्बरमा आउने नेदरल्यान्डमा प्रधानमन्त्रीदेखि मन्त्रीहरूसमेत आरामले साइकलमा हिँडिरहेका देखिन्छन्। यो स्तम्भकार नेदरल्यान्डमै भएको बेलामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेदरल्यान्ड भ्रमणमा आउनुभएको थियो। त्यस बेला प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले उपहारस्वरूप दिएको साइकल चढेको तस्वीर नेदरल्यान्डका धेरै अखबारहरूले प्रमुख स्थान दिएर प्रकाशित गरेका थिए। प्रधानमन्त्री मोदीले आपूmलाई उपहारस्वरूप प्राप्त भएको साइकलपछि भारतमै लिएर जानुभयो। सुरक्षाका दृष्टिले मोदीले यो साइकल भारतमा चलाउँछन् कि चलाउँदैनन्, त्यो पछिको कुरा हो। तर मोदी यो साइकल उपहार पाएपछि भने निकै खुसी देखिनुभएको थियो। डचहरूमा देखिएको साइकल मोहले सन् २०२५ पछि नेदरल्यान्ड सरकारले पेट्रोल र डिजेलले चल्ने सवारीसाधनलाई पूर्णरूपमा निषेध गर्ने योजना बनाउन शुरु गरिसकेको छ। तसर्थ सम्भवतः सन् २०२५ पछि नेदरल्यान्ड पुग्ने जो–कोहीले बिजुलीले मात्र चल्ने गाडीहरू देखे भने आश्चर्य नमान्दा हुन्छ।

विश्वमा सबैभन्दा बढी युवा पर्यटकहरू आउने नेदरल्यान्डको अर्को आकर्षण यहाँको स्वच्छन्दता हो। कानुनले नै ५ ग्रामसम्म गाँजा बोक्ने अनुमति पाएको यहाँका जुनसुकै कफी पसलहरूमा बसेर खुलेआम गाँजा खान पाइन्छ। यो देख्दा यस स्तम्भकारलाई पनि आफ्नो बाल्यकालको सम्झना गरायो– काठमाडौंको झोछें तथा ठमेलमा ठूला–ठूला साइनबोर्डमा ‘यहाँ शुद्ध गाँजा पाइन्छ’ भनी लेखिएका थुप्रै गाँजा पसलहरू हुन्थे। नेदरल्यान्डमा युवाहरूलाई आकर्षित गर्ने अर्को कारण यहाँको रेडलाइट डिस्ट्रिक्ट पनि हो। एम्सटर्डमको मुख्य ठाउँमा अवस्थित रेडलाइट एरियामा साँझदेखि ओइरिने पर्यटकहरूका कारण खुट्टा टेक्ने ठाउँ हुँदैन।
समुद्री बन्दरगाहबाट आउने पर्यटकहरूका लागि मनोरञ्जन गराउन यस्तो वेश्यालय यहाँ १३–१४औं शताब्दीदेखि नै खुलेको देखिन्छ। डे वालन अर्थात् डच भाषाबाट पर्खाल वा पैसा तिरेर यौनसम्पर्क गर्ने भनी बुझिने यो स्थानका कैयौं घरका भ्mयाल र पसलमा यौनकर्मी महिलाहरू अनेकौं शृङ्गार गरेर अर्धनग्न अवस्थामा ग्राहकको प्रतीक्षामा बसेका दृश्य हामीलाई अनौठो लाग्ने गर्छ। १८ वर्ष लागेपछि सरकारले नै यस कामका लागि लाइसेन्स दिने भए पनि यस्ता वेश्यालयहरूमा डच महिलाभन्दा पूर्वी युरोप र दक्षिण अमेरिकाबाट आएका महिलाको बोलवाला रहेको देखिन्छ। प्रायः वेश्याहरू पढाइ–लेखाइ कम भएका र ३० वर्षमुनिका नै देखिन्छन्। यस वेश्यालयमा कन्डम लगाउनु अनिवार्य छ। तपाईंले जतिसुकै पैसा तिरे पनि प्रायः यहाँका वेश्याहरू ओठमा चुम्बन गर्न मन पराउँदैनन्। भन्छन्– ‘ओठमा भावनात्मक सम्बन्ध भएका जोडीले मात्र चुम्बन गर्ने हो।’

अघिल्लो नेदरल्यान्ड भ्रमणमा यो वेश्यालयको अध्ययन गर्ने सिलसिलामा केही यौनकर्मी महिलासँग अनौपचारिक कुरा गरेको थिएँ। सजिलै पैसा कमाउन सकिने, २० वर्षको उमेरदेखि नै सजिलैसँग महिनामै हजारौं युरो कमाउन सकिने हुँदा महँगो अध्ययनका लागि अन्यत्र दुःख गरेर काम गरिरहनु नपर्ने, कोठा भाडाबाहेक अरु कुनै लगानी गर्नुनपर्ने, कुनै डिग्री नचाहिने, कुनै अनुभवको जरुरत नपर्ने, सरकारकै निगरानी हुने भएकाले सुरक्षित यौनसम्पर्क गर्न पाइने, केही भइहाले एम्सटर्डम हेल्थ सर्भिस नामको संस्थाबाट निःशुल्क उपचार गर्न पाइने, कसैको अधीनमा बस्नु नपर्ने, आफ्नो कामका लागि आपैंm बोस बन्न सकिने आदि रमाइलो कुरा ती वेश्याहरूबाट सुन्न पाइएको थियो।

सन् २००९ मा एकजना यौनकर्मीको हत्या भएपछि भने अहिले यो ठाउँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। कुनै ग्राहकले यौनकर्मीमाथि अनावश्यक दुःख दिने प्रयास गरे ग्राहकले थाहा नै नपाउने गरी यौनकर्मीले अलार्म थिचेर तत्कालै प्रहरी बोलाउन सक्ने व्यवस्था गरिएको छ। यो ठाउँमा विदेशबाट वार्षिक २ लाख पर्यटक यौनआनन्द लिन आउने गर्छन्। तथ्यांक हेर्दा यहाँ सबैभन्दा बढी बेलायती पर्यटकहरू रमाइलो गर्न आउँदा रहेछन्। २० वर्षभन्दा मुनिका पुरुषहरू त्यति देखिँदैनन्। वेश्याहरू बस्ने झ्याल–ढोकामा रातो पर्दा लगाएर रातो बत्ती बालिएको छ भने उनीहरू काममा व्यस्त रहेछन् भन्ने बुभ्mनुपर्ने हुन्छ।
सन् १९८८ देखि कानुनी मान्यता पाएको यस वेश्यालयमा धन्दा गर्ने यौनकर्मीहरूसँग नेदरल्यान्ड सरकारले सन् २००० देखि कर लिन थालेको छ। १५ मिनेटका लागि ५० युरोसम्म खर्च हुने यस वेश्यालयमा बस्ने यौनकर्मीसँग तपाईंले उनीहरूको ढोका ढकढक्याएपछि ढोका खुल्नेबित्तिकै मोलमोलाइ गर्नुपर्ने हुन्छ। तपाईं कति समयसम्म आपूmले मन पराएका यौनकर्मीसँग समय व्यतीत गर्न चाहनुहुन्छ, उनीसँग के–कसरी चल्न चाहनुहुन्छ भन्ने कुरा पहिले नै प्रस्ट पारिदिनुभएन भने पछि तपाईंलाई त्यही कुराले अप्ठ्यारो पार्न सक्छ। यहाँ बस्ने यौनकर्मीहरूका अनुसार उनीहरूले यस कामका लागि कोठा भाडामा लिएबापत घरबेटीलाई दिउँसो भए दैनिक ८५ युरो र रातिका लागि भए ११५ युरो बुझाउनुपर्छ। दिउँसो खासै चहलपहल नदेखिने यो ठाउँ बेलुकी ११ बजे सबैभन्दा बढी व्यस्त रहेको देखिन्छ।

यो ठाउँमा पुगेर बेहोसीमा तपाईंले उत्तेजित हुने पहिरनमा भ्mयालमा उभिइरहेकी यौनकर्मी महिलाको फोटो खिच्न थाल्नुभयो भने तपाईंको नाकमा बाउन्सरको मुक्का बर्सिन सक्छ। होइन भने तपाईंको क्यामरा वा मोबाइल नै उनीहरूले जफत गर्न सक्छन्। यो कुरामा भने विशेष ख्याल राख्नैपर्छ। यसबाहेक यो ठाउँमा पैसा तिरेर खुलेआम पोर्न फिल्म पनि हेर्ने व्यवस्था छ। अघिल्लोचोटि यहाँ पुग्दा २ युरो तिरेर यो स्तम्भकारले प्रत्यक्ष यौन क्रियाकलाप गरिरहेको दृश्य हेर्ने ठाउँ देखेको थियो भने यसपटक यस्तो क्रियाकलाप गर्ने ठाउँहरू हटाइएको पाइयो। त्यसो त धेरै ठाउँबाट यस्तो खुल्लंखुल्ला यौन क्रियाकलापको विरोध हुन थालेकाले केही वर्षपछि यस्ता वेश्यालयहरू बन्द गर्ने सरकारको निर्णयका कारण यहाँका प्रायः वेश्यालयको झ्याल–ढोकाको सिसाबाहिर ‘हाम्रो रोजीरोटी खोस्न पाइँदैन’ भनी सांकेतिक विरोधका पर्चाहरू टाँसिएको देखियो। धेरैलाई थाहा भएकै कुरा हो, नेदरल्यान्ड मात्र यस्तो देश हो जहाँ कानुनीरूपमै केटाले केटासँगै र केटीले केटीसँगै विवाह गरी आरामले वैवाहिक जीवन बिताउन सक्छन्। सन् २००१ मा यो कानुनी व्यवस्था ल्याउने नेदरल्यान्ड संसारकै पहिलो देश हो।

यो ठाउँमा यौनसम्बन्धी म्युजियम, यौन खेलौनाहरू पाइने पसलहरू, यौनसँग सम्बन्धित चलचित्रहरू हेर्ने सिनेमा हलदेखि गाँजा तान्न पाइने कफी पसलहरू यत्रतत्र पाउन सकिन्छ। साँझको समयमा धेरै भीड हुने भएकाले यहाँ बगलीमाराहरूबाट बच्न आपूm निकै सचेत भएर हिँड्नुपर्ने हुन्छ। पैदल हिँड्दा गाँजा बेच्ने मानिसबाट पनि तपाईं सावधान हुनै पर्छ। यो सबै कुरा पढेपछि नेदरल्यान्ड पुग्नेबित्तिकै रमाइलो गर्न सबैभन्दा पहिला तपाईं यो ठाउँमा पुगेर भुल्नुभयो भनेचाहिँ तपाईं सुन्दर र विकसित नेदरल्यान्डलाई राम्ररी बुभ्mन चुक्नुहुनेछ।

युरोपका देशहरूमा सबैभन्दा बढी राम्ररी अंग्रेजी भाषा बोल्न जान्ने डचहरू भएकाले यहाँ अंग्रेजी बोल्ने जो–कोही पर्यटकले आरामसँग नेदरल्यान्ड घुम्न सक्छन्। यहाँका ८५ प्रतिशत जनता राम्ररी अंग्रेजी भाषा बोल्छन्। डचहरू संसारकै सबैभन्दा अग्ला हुन्छन् भन्ने कुरा खोई कतिलाई थाहा छ कुन्नि ⁄ मात्र ५ फिट २ इन्च उचाइको यस स्तम्भकार १ मिटर ८२ सेन्टिमिटर अग्ला डचहरूका कुममा पनि नपुग्ने रहेछ। संसारकै सबैभन्दा स्वस्थ खानपान हुने भएकाले पनि यहाँका मानिस यति अग्ला भएका हुन् कि ⁄विश्वप्रसिद्ध विद्युतीय सामान फिलिप्स, हेनकेन बियर र अमेरिकापछि सबैभन्दा बढी कृषिजन्य पदार्थहरूको उत्पादन तथा निर्यात गर्ने देशका रूपमा नेदरल्यान्डलाई चिनिन्छ। यहाँका मानिस दिनको सरदर ३ कप कफी पिउँदा रहेछन्।

नर्वे, स्वीडेन र डेनमार्कपछि संसारमा सबैभन्दा बढी यही देशका मानिस कफी पिउने गर्छन्। ४१ हजार ५ सय ४३ वर्गकिलोमिटर क्षेत्रफल रहेको नेदरल्यान्डमा ४ हजार किलोमिटरभन्दा बढी क्यानल, नदी र तालहरू छन्। भोलेन्डम, रोटरडम, डेनहेग र लिडेन एम्सटर्डमपछि घुम्नलायक नेदरल्यान्डका शहरहरू हुन्। अपराधीहरूको अन्तर्राष्ट्रिय अदालत रहेको डेनहेगमा नेपालबाट ल्याइएको ढुंगालाई पनि राम्ररी सजाएर राखिएको छ। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट भएकै कारणले होला धेरैचोटि बम आक्रमण झेलिसकेका बेलायत, फ्रान्स र जर्मनीका विमानस्थलभन्दा नेदरल्यान्डका विमानस्थलहरूमा धेरै कडाइ हुने गरेको देखियो।

सन् १८१५ देखि नै संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भए पनि रिपोर्टस विदाउद बोडर्सका अनुसार नेदरल्यान्ड प्रेस स्वतन्त्रता भएको संसारकै दोस्रो मुलुक हो। जनघनत्वका हिसाबले बंगलादेश, दक्षिण कोरिया र ताइवानपछि सबैभन्दा बढी जनसंख्या भएको नेदरल्यान्डमा साइकलका कारण न प्रदूषण देखिन्छ, न काठमाडौंमा जस्तो कोलाहल। नेपाललाई पनि नेदरल्यान्डजस्तै गाडी र मोटरसाइकलभन्दा साइकलमैत्री देश बनाउन सके यो मुलुक पनि नेदरल्यान्डजस्तै प्रदूषणरहित स्वच्छ र शान्त बन्न सक्थ्यो। तर, भ्रष्टैभ्रष्ट नेता र स्वार्थी समाज भएको देशमा यस्तो कुराको अहिल्यै परिकल्पना गर्न सकिँदैन।

 

कम ध्वनि प्रदूषण, स्वस्थ वातावरण, राम्रो व्यायाम र ठूलो दुर्घटना नहुने भएकाले सुरक्षित यात्राका लागि अधिकांश डचहरूले साइकललाई नै पहिलो प्राथमिकता दिने गरेको पाइयो। नेपालमा जस्तो मोटरसाइकल र गाडीको कोलाहल नहुने भएकाले दैनिक लाखौं साइकल गुडे पनि नेदरल्यान्डका शहरहरू शान्त देखिन्छन्। यहाँका शहरहरूमा बिछ्याइएका साइकलहरूको लेन देख्ने जो–कोहीले पनि नेदरल्यान्डलाई साइकलमैत्री देश भनेर दाबी गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्