प्रदेश र संघको उम्मेदवार छान्दै कांग्रेस, मध्य असोजसम्म नाम पठाउन निर्देशन



काठमाडौं, (नेस)
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार छनोट गरी असोज १७ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन पार्टीको क्षेत्र तथा जिल्ला तहलाई निर्देशन दिएको छ। कांग्रेसले तोकिएको समयसिमाभित्र तल्लो निकायले उम्मेदवारको नाम सिफारिस नगरे माथिल्लो निकायले नै निर्णय गर्ने जनाएको छ।

आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले दिएको निर्देशनमा उम्मेदवार छनोटको विधिसमेत तय गरिदिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्षतर्फ महिलासहित बढीमा ३ जना र समानुपातिकतर्फ महिलासहित बढीमा ३ जना सिफारिस गर्नुपर्नेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यानमा राखी (दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिम) सिफारिस गर्नुपर्नेछ जनाइएको छ।

उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनका लागि पार्टीको तेह्रौं महाधिवेशनमा गठन भएका पार्टीका गाउँ⁄नगर कार्यसमितिले २०७४ असोज १० गतेभित्र आफ्नो सुझाव र सिफारिस क्षेत्रमा, क्षेत्रले २०७४ असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएको सिफारिसमा आफ्नो रायसहित २०७४ असोज १७ गतेभित्र केन्द्रमा अनिवार्यरूपमा पठाउनुपर्ने केन्द्रीय कार्यसम्पादन समितिले जनाएको छ।

उम्मेदवार सिफारिसका सन्दर्भमा केन्द्रीय कार्य सम्पादन समितिले बनाएको कार्यविधिमा भनिएको छ– ‘जिल्लामा एक संसदीय क्षेत्र रही हाल पनि एकै निर्वाचनक्षेत्र यथावत् कायम भएकोमा जिल्लाले उम्मेदवारको सिफारिस गरी केन्द्रमा पठाउनेछ।’ जिल्लामा एकभन्दा बढी निर्वाचनक्षेत्र रहेको र हाल पनि सोही संख्यामा निर्वाचन क्षेत्र यथावत् कायम रहेको भए क्षेत्रले उम्मेदवारको सिफारिस गरी जिल्लामा पठाउनेछ।

क्षेत्रको सिफारिसमा आफ्नो रायसहित जिल्लाले केन्द्रमा पठाउनेछ। जिल्लामा निर्वाचनक्षेत्र थपघट भई हाल एक संसदीय क्षेत्र कायम हुन आएकोमा जिल्ला सभापतिको अध्यक्षतामा जिल्ला र क्षेत्रको संयुक्त बैठकबाट उम्मेदवारको सिफारिस केन्द्रमा पठाउनुपर्नेछ।

जिल्लामा निर्वाचन क्षेत्र थपघट भई एकभन्दा बढी संसदीय क्षेत्र कायम हुन आएकोमा क्षेत्रले उम्मेदवारको सिफारिस जिल्लामा पठाउनेछ। क्षेत्रको सिफारिसमा आफ्नो रायसहित जिल्लाले केन्द्रमा पठाउनेछ। केन्द्रीय कार्य सम्पादन समितिले सम्बन्धित निकायले पार्टीभित्रबाट उम्मेदवारको नाम सिफारिस गर्दा निरन्तर क्रियाशील सदस्यता कायम रहेका, पाटीभित्र र आम जनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेका मध्येबाट गर्नुपर्ने निर्देशन पनि दिएको छ।

कांग्रेसले तय गरेको उम्मेद्वार छनौटको कार्यविधिमा हाल कायम हुन आएको निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको पार्टीका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि⁄महासमिति सदस्य, दोस्रो संविधान सभा निर्वाचनमा सो क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदको निर्वाचन भएको भए सो पदको निर्वाचनका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य सहभागी बैठकले नाम सिफारिस गर्ने भनिएको छ।

एक निर्वाचन क्षेत्रमा भएको सन्दर्भमा जिल्ला सभापति, हाल कायम हुन आएको जिल्लामा आफ्नो क्रियाशील सदस्यता रहेको पार्टीका केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधान सभाका प्रत्यक्षतर्फका उम्मेदवार, जिल्ला सभापति पदको निर्वाचन भएको भए सो पदको निर्वाचनको निकटतम प्रतिस्पर्धी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य सो जिल्लाको बैठकको निर्णय प्रक्रियामा सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्