पाँच पार्टीबीच तीव्र प्रतिस्पर्धा



१ महानगर र ३ उपमहानगरको मतपरिणाम सबैको चासो

नेपाल समाचारपत्र
काठमाडौं
स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको मतदान सकिएसँगै मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ। मतगणना भएका स्थानीय तहमा शुरुआती परिणाम मिश्रितरूपमा आएको छ। जसमा कांग्रेस, एमाले, राजपा नेपाल, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

२ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये वीरगन्ज महानगर, जनकपुरसहित कलैया र जितपुरसिमरा उपमहानगरको नतिजा कसको पक्षमा आउने हो सर्वत्र चासो बढिरहेको छ। खासगरी प्रमुख राजनीतिक दलले निर्वाचन भएका १ महानगर र ३ उपमहानगरलाई आफ्नो प्रतिष्ठासँग जोडेपछि यहाँको परिणाम हेर्न देशभरका जनता आतुर छन्।

२ नम्बर प्रदेशको एकमात्र वीरगन्ज महानगरमा मेयर पदका लागि ३५ जना प्रतिस्पर्धामा रहेका छन्। कांग्र्रेसबाट अजय द्विवेदी, एमालेबाट बसरुदिन अन्सारी, माओवादी केन्द्रबाट रहवर अन्सारी, राजपा नेपालका राजेशमान सिंह, फोरम नेपालका विजय सरावगी, नेपाल लोकतान्त्रिक फोरम नेपालका विमल श्रीवास्तव, राप्रपाका अर्जुनबहादुर सिंह, नयाँ शक्ति नेपालबाट मुनाकुमार साह कानु, नेपाली जनता दलबाट मनोजकुमार रौनियार, मालेबाट लक्ष्मीराज न्यौपाने रहनुभएको छ। २५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा १ लाख ५८ हजार ५ सय १ मतदातामध्ये झन्डै ७६ प्रतिशत मत खसेको थियो। प्रदेश २ को सम्भावित राजधानीका रूपमा चिनिएको जनकपुर उपमहानगरको निर्वाचन कांग्रेस, एमाले र माओवादीका साथै राजपालेसमेत प्रतिष्ठाको विषय बनेको छ।

पूर्वराष्ट्रपति रामवरण यादव, नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि, लीला कोइराला, आनन्द ढुंगाना, रामकृष्ण यादवको प्रभाव रहेको जनकपुर उपमहानगरको निर्वाचनमा कसले बाजी मार्ने हो भन्ने उत्सुकता बढेको छ।

कांग्रेसको किल्ला मानिने जनकपुरमा एमाले कांग्रेस किल्ला तोड्ने दाउमा छ भने राजपा पनि यो स्थानमा आफूलाई मजबुत भएको बताउँदै आएको छ। जनकपुरमा मेयरका लागि १९ जनाले उम्मेदवारी दिए पनि कांग्रेस र राजपाबीच नै प्रतिस्पर्धा हुने धेरैको अनुमान छ।

त्यसैगरी बाराका २ वटा उपमहानगरपालिकामध्ये कलैया उपमहानगपालिकामा मेयर र उपमेयरमा जित्न दलले जातीय समीकरण मिलाएर उम्मेदवारी दिएका छन्।

२७ वटा वडा रहेका कलैया उपमहानगरपालिकामा लगभग ५६ हजार मतदाताले मतदान गरेका छन्। यो उपमहानगरपालिका यादव र मुस्लिम समुदायको बाहुल्य भएकाले त्यही आधारमा मेयरमा टिकट वितरण गरिएको थियो।

कांग्रेसबाट केन्द्रीय सदस्य तथा सांसद राधेचन्द्र यादवका छोरा राजेश यादव तथा एमालेबाट पूर्वउपमेयर तथा बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साह, फोरम नेपालका प्रमोद गुप्ता र राजपा नेपालका जयप्रकाश साहबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

त्यस्तै माओवादी केन्द्रले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउने अन्दोलनमा खटेका मुकेश साहलाई मेयरको टिकट दिएको थियो। बाराका जुम्ल्याहा उपमहानगरपालिकामध्ये जितपुर सिमरामा पनि त्रिपक्षीय भिडन्त हुने देखिएको छ।

यो उपमहानगरपालिकामा मधेसवादी दल प्रतिस्पर्धामा आउनसक्ने अवस्था नरहेको प्रारम्भिक आकलनले देखाएको छ। यो उपमहानगर राजमार्ग आसपास रहेकाले आधाजसो पहाडी समुदायका मतदाता छन्।

जसमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। एमाले र माओवादीले पहाडे समुदायबाट मेयरका उम्मेदवार बनाएका छन् भने कांग्रेसले मधेसी समुदायबाट मेयर बनाएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको पहिलो मेयर बन्नका लागि कांग्रेसका कृष्ण बरत सिंह, एमालेका डा.कृष्ण पौडेल र माओवादी केन्द्रका राजन पौडेल प्रतिस्पर्धामा रहनुभएको छ। त्यस्तै उपमेयरमा कांग्रेसबाट नारायणी रायमाझी, एमालेबाट सरस्वती चौधरी र माओवादीबाट गायत्रीदेवी थरुनी उम्मेदवार रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्