सिरहामा मतगणना जारी, लहानमा एमालेले लियो अग्रता



 

फिरोज सिद्दिकी, सिरहा

तेस्रो चरणको निर्वाचनअन्तर्गत सिरहामा रहेका १७ वटै स्थानीय तहको मतगणना जारी छ। अधिकांश स्थानीय तहमा मतगणना सोमबार मध्यरातबाटै शुरू भएको थियो भने केही स्थानीय तहमा मंगलबार बिहानबाट मतगणना शुरू भएको थियो।

हालसम्म सिरहाका ४ स्थानीय तहको वडाअध्यक्ष निर्वाचित भइसकेका छन्। लहान नगरपालिका–२ मा नेपाली कांग्रेसका वडाध्यक्ष सियाराम यादव, कर्जन्हा गाउँपालिका–१ मा माओवादी केन्द्रका वडाध्यक्ष मोहनबहादुर खत्री, धनगढीमाई नगरपालिका–१ मा एमालेका वडाध्यक्ष सूर्यनारायण महतो र भगवानपुर गाउँपालिका–१ मा संघीय समाजवादी फोरम नेपालका वडाध्यक्ष बद्रीनारायण यादव निर्वाचित भएका हुन्।

लहान नगरपालिकाको मत परिणामअनुसार नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार मुनी साहले अग्रता लिएको छ। निर्वाचन कार्यालय लहानका प्रमुख नारायणबहादुर थापाले दिएको जानकारीअनुसार नेकपा एमालेको प्रमुखमा १ हजार ३३ मतका साथ आगाडि रहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका लगनलाल चौधरी ८ सय ७४ मत ल्याएर पछ्याइरहेका छन्। नेपाली कांग्रेसका अचमितलाल चौधरीले ८ सय ११ र संघीय समाजवादी फोरमका वैधनाथ प्रसाद साह ७ सय ४७ मत प्राप्त गर्नुभएको छ।

त्यसै गरी नगर उप–प्रमुखमा नेपाली कांग्रेसकी पुनम चौधरी जयसवालले १ हजार ९१, नेकपा एमालेको सरियार चौधरीले ८ सय ७०, संघीय समाजवादी फोरम ७ सय ९८ र राप्रपाकी मकिना खातुनले ५ सय ८५ मत प्राप्त गरेकी छिन्।

यता लहान नगरपालिकाको वडा नम्बर ३ मा ८ मतको अन्तरले कांग्रेसका वडाअध्यक्ष रामदयाल यादव विजयी भएपछि निकटम् प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालले पुनःमतगणना गर्नुपर्ने भन्दै विरोध गरेपछि दिनको १२ बजेदेखि नै मतगणना स्थगित भएको छ। सर्वदलीय बैठकपछि पुनः मतगणना सञ्चालन हुने लहान निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायणबहादुर थापाले जानकारी दिनुभयो। उहँँले लहानका वडा नम्बर १, ३, ४, ५, ६ र ८ को मतगणना स्थगित भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्