ट्राफिक प्रहरी कपिलवस्तुद्वारा ओभरलोड नियन्त्रणमा कडाई, दुई महिनामै ६ लाख बढी राजस्व असुली



सीताराम चौधरी, चन्द्रौटा (कपिलवस्तु) । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले दुई महिनामै ६लाख २५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७४।७५ को साउन र भदौ महिनामा ओभरलोड ट्रक र ट्याक्टर कारबाहीबाट मात्र ट्राफिक प्रहरीले सो राजस्व संकलन गरेको हो । दुई महिनामा १२सय ५० वटा ओभरलोड ट्रक र ट्याक्टर कारवाही हुँदा सो बराबरको राजस्व उठाउन सफल भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार साउन महिनामा ६सय ५१ सवारी कारबाहीबाट ३ लाख २५ हजार ५सय राजस्व संकलन भएको छ । भने भदौ महिनामा ५सय ९९ सवारी कारबाही हुँदा २लाख ९९हजार ५सय रुपैयाँ राजस्व उठेको बताइएको छ ।

ट्राफिक नियमको उलंघन गर्दै अटेर गरी ओभरलोड तथा भवरलोड गरी ओसारपसार गरेका सवारी साधनलाई यतिबेला नियन्त्रणमा लिई कारवाही थालिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । उहाँका अनुसार खोलाजन्य ढुंगा, गिट्टी, बालुवा, औद्योगिक कच्चा पदार्थ क्लिंकर, भुस, पराल जस्ता वस्तु ओभरलोड वा भवरलोडका सवारी कारवाहीमा पर्ने गरेका छन् ।

ओभरलोड वा भवरलोड नियन्त्रणका लागि अहिले ट्राफिक प्रहरीले विशेष चेकजाँच अघि बढाएको छ । त्यस्ता सवारी साधनहरु कसैको एरियाबाट उम्कन नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले आफ्ना मातहत इकाईलाई समेत कडा निर्देशन गरेको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो । “क्षमताभन्दा बढी सामान ढुवानी गर्ने नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेको हातामा राखी भार मिलान गरेपछि पुनः नियमानुसारको जरिवाना गरी छाडिने गरिएको छ ।”

–उहाँले भन्नुभयो ।
सवारी साधनभन्दा धेरै बाहिर र माथिसम्म भारी बनाई ओसारपसार हुँदै आएको पराल तथा भुसका सवारी साधनहरु जिल्ला ट्राफिकले रातको समयमा चलाउन अनुरोध गर्दै आएको छ । सवारी चापका कारण भुस, पराल लोड सवारी दिनमा आवतजावत गर्दा सडकमा अन्य सवारी साधनलाई प्रत्यक्ष असर पर्ने हँुदा रातको समयमा चलाउन अनुरोध गरेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

रातको समयमा सवारी चाप कम हुने र अन्य समस्या समेत कम हुने हँुदा त्यस्ता सामानको ढुवानी गर्दा सकभर रातमै गर्न सम्बन्धित समिति, ब्यवसायी र चालक समेतलाई अनुरोध गरिएको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्