छुट भएका भूकम्पपीडितको लगत संकलन जारी



नुवाकोट, ३ असोज (रासस)  भूकम्पका कारण आवास गुमाएका तर लाभग्राही सूचीमा समावेश नभएका भूकम्पपीडितको पुनःसर्वेक्षण तथा पुनःजाँच गर्न अहिले लगत संकलक टोली व्यस्त रहेको छ ।

प्रभावित क्षेत्रको घरघरमा नै संकलन टोली परिचालन भइरहेकाले छुट भएका भूकम्पपीडितलाई नाम दर्ता गराउन पुनःनिर्माण प्राधिकरण नुवाकोट कार्यालयले आग्रह गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटले लाभग्राही सूचीमा समावेश नभएका छुट पीडितलाई आफ्नो घरको लगत संकलन गराउन लगत संकलन टोलीसँग सम्पर्क राख्न निमित्त बेदप्रसाद गौडेलले आग्रह गर्नुभयो ।

पुनःसर्वेक्षण र पुनःजाँचका लागि वडाध्यक्ष संयोजक रहेको वडास्तरीय गुनासो व्यवस्थापन समितिको नेतृत्वमा अन्तिम पटकका लागि घरघरमा नै पुगेर लगत संकलन भइरहेकाले घरबाहिर भएकालाई आफ्नो क्षति पुगेको घरको प्राविधिक टोलीमार्फत जाँच गराउन छुट पीडितलाई आह्वान गरेको छ ।

भूकम्पले आवास क्षति भएको र नयाँ घर बनाउन रु तीन लाख अनुदान पाउने लाभग्राही सूचीमा नाम नभएकाको गुनासो सम्बोधनका लागि पुनःजाँच र पुनःसर्वेक्षणका लागि पुनःनिर्माण प्राधिकरणको केन्द्रबाट यहाँका बाह्रवटा स्थानीयतहमा १६ जना इञ्जिनियर परिचालन भएका छन् । इञ्जिनियरलाई सामाजिक परिचालकले सहयोग पु¥याउँदै आएका छन् ।

संकलन टोलीले भूकम्पका कारण आवास गुमाएका तर आवास निर्माणका लागि लाभग्राही सूचीमा नाम नभएको भनी छुट गुनासो दर्ता गराएका देखि गुनासो नै नगरेका छुट पीडितको लगत संकलन दशैँपर्व अघि नै पूरा गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्