लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह



 

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलले उद्योगमन्त्री सुनीलबहादुर थापासँग भेटवार्ता गरेको छ। महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार उद्योग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री थापाको कार्यकालमा निजी क्षेत्रले उद्योग क्षेत्रमा महत्त्वपूर्ण कामको अपेक्षा गरेको बताएको हो।

भेटमा अध्यक्ष राणाले औद्योगिक व्यवसायिक ऐन तथा नियमावली, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन, भू–उपयोग नीति जस्ता महत्वपूर्ण नियमावली, ऐन कानुन यस अवधिमा आउन सके औद्योगिक क्षेत्र निर्वाध रूपमा अगाडि बढ्ने तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बन्न जाने सुझाव मन्त्रीसमक्ष राख्नुभएको थियो। उहाँ अघिल्लो वर्ष अर्थतन्त्रका केही सूचक राम्रा देखिएकाले ती कार्यले स्थायित्व पाउने विश्वास व्यक्त गर्नुभयो।

औद्योगिक व्यावसायिक वातावरण बनाउने कार्यमा नवनियुक्त मन्त्रीको कार्यकालमा उल्लेख्य कार्य हुने विश्वास निजी क्षेत्रले लिएको उहाँको भनाइ थियो। भेटघाटमा अध्यक्ष राणाले निजी क्षेत्रले उठान गरेका विषयलाई ‘फाष्ट ट्रयाक’ बाट सम्बोधन गर्न आग्रह मन्त्रीसमक्ष गर्नुभयो।

भेटमा महासंघका कार्यकारिणी समितिका सदस्य तथा महासंघका महासचिव सुरेशमान श्रेष्ठ समेत सहभागी रहनु भएको थियो। मन्त्री थापाले भेटवार्तामा महासंघले दिएका सुझावलाई महत्त्वपूर्ण रूपमा लिँदै औद्योगिक व्यावसायिक वातावरणका लागि उद्योग मन्त्रालयका तर्फबाट तत्काल गरिनुपर्ने पहललाई लिखित रूपमा उपलव्ध गराउन महासंघलाई अनुरोध गर्नुभयो।

काम गर्ने समय निकै कम भएकाले आफ्नो कार्यकालमा मुलुकभित्र औद्योगिक व्यावसायिक वातावरण निर्माण, लगानीको वातावरण, नीतिगत सुधार सहित उद्योगीले भोग्नु परेका समस्या सम्बोधन गर्न आफू दत्तचित्त रहेको उहाँ महासंघलाई विश्वास दिलाउनुभयो।

प्रतिक्रिया दिनुहोस्